भ्रष्टाचार आरोपमा छानबिन भइरहेका मुक्ति श्रेष्ठलाई सेबोन अध्यक्ष बनाउन माथिदेखि दबाव

काठमाडौं । भ्रष्टाचार आरोप लागेर अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई अध्यक्ष बनाउन माथिदेखि दवाव परेको छ । अर्थ सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्रीदेखि माथिसम्म सेबोन अध्यक्ष नियुक्तिको जिम्मा आफूले लिने सेटिङ मिलाएपछि उनको रोजाइमा श्रेष्ठ परेका हुन् ।
सार्वजनिक संस्थानहरूको कार्यकारी नियुक्तिमा चलखेल गर्दै आएका माफियाहरूको ग्याङका मुख्य योजनाकारले श्रेष्ठलाई सेबोन अध्यक्ष बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिधै आग्रह गरेपछि प्रमले पनि अध्यक्ष नियुक्ति प्रक्रियामा लाग्न अर्थ सचिवलाई नै जिम्मा दिएका छन् ।

प्रमबाट जिम्मा पाएका अर्थ सचिव सेबोन अध्यक्षको सर्ट लिष्टिङ गर्ने प्रक्रियामा छन् । उनले गर्ने सर्ट लिष्टिङको पहिलो नम्बरमा पर्ने पात्र श्रेष्ठ हुन् । क्षमता र अनुभवले भन्दा पनि शक्ति केन्द्र रिझाएकै भरमा अर्थ सचिव बनेका पुष्कर अर्थ मन्त्रालय मातहतको सेबोनामा आफ्ना प्यानलका श्रेष्ठलाई अध्यक्ष बनाएर स्वार्थ समूहलाई लाभ दिने तयारीमा छन् ।

आफू अर्थ सचिवमा टिकिरहन अमेरिका भ्रमणकै बेला शक्ति केन्द्रसँग साँठगाँठ गरेर कम्तीमा पनि बजेट सार्वजनिक नहुन्जेलसम्म अर्थमै बस्ने चाँजोपाजो मिलाएर नेपाल फर्केका पुष्करलाई नेपाल फर्किने बित्तिकै प्रधानमन्त्री प्रचण्डले सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । अर्थमन्त्रीलाई सेबोन अध्यक्ष नियुक्ति प्रक्रियामा पाखा लगााएर आफ्नो मठ्ठीमा पार्न सफल अर्थ सचिव पुष्कर भारतमा लामो समय बिताएर आएका कर्मचारी हुन् ।

मिनी संसदको रुपमा रहेको सार्वजनिक लेखा समितिले गत पुस १३ गते भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखेको पत्रमा नेपाल धितोपत्र बोर्ड लगायतबाट प्रिमियममा आईपीओ निष्काशनमा संलग्न व्यक्तिलाई कारवाही गर्न निर्देशन दिएको छ ।

समितिले सो कार्य गैर कानुनी र भ्रष्टाचारजन्य कार्य भएको भन्दै संलग्न सबैमाथि कारवाही गर्न निर्देशन दिएको हो । उक्त निर्देशनपछि छानविनको दायरामा परेका कार्यकारी निर्देशक श्रेष्ठले आफूलाई माओवादी निकट रहेको भन्दै केहि व्यापारीलाई आफू सेबोनको अध्यक्ष बन्ने कुरा गर्दै हिडेका थिए । सेबोन अध्यक्ष नियुक्तिका लागि आवेदन माग गर्नु अघिदेखिनै अध्यक्ष बन्ने दौडधुपमा लागेका थिए ।

अर्थ सचिव कृष्णहरि पुष्करले बोर्ड अध्यक्ष सिफारिस समितिसँग मिलेर आएका आवेदनबाट‘सर्ट लिस्टिङ’ गरेर अन्तरवार्ता लिनेछन् । त्यसपछि तीन जनाको नाम मन्त्रीपरिषद्मा पुर्याउने प्रक्रिया सुरु हुनेछ । बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक भने योजना आयोजका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ रहेका छन् । सदस्यमा अर्थ सचिव पुष्करसँगै प्राध्यापक उदय निरौला रहेका छन् ।

समितिले सिफारिस गरेको तीन जनाको नामावली अर्थमन्त्रीले मन्त्रीपरिषदमा पेश गर्ने र मन्त्रीपरिषद्को बैठकले १ जनालाई नियुक्त गर्नेछ । अर्थ सचिव पुष्करलाई प्रधानमन्त्रीले अप्रत्यक्ष जिम्मेवारी नै दिए पछि अर्थमन्त्री पुनले मंगलबार अर्थ सचिवलाई छनोटको प्रक्रिया छिट्टै अघि बढाउन निर्देशन समेत दिएका हुन् ।

अर्थमन्त्री आफैले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा चासो देखाएर लागेका भए आवेदकमध्यका बलिया दावेदार नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाईँ र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर कार्कीको सम्भावना बढी थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स