काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया अघि बढेको छ । सरकारले अध्यक्ष छनोटको लागि आवेदन लिइसकेको छ । अब ‘सर्ट लिस्टिङ’ गरेर अन्तरवार्ता लिने तयारी गरिरहको छ ।
‘सर्ट लिस्टिङ’ गर्ने जिम्मेवारी अर्थ सचिव कृष्णहरि पुष्करले पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थ सचिव पुष्करलाई उक्त जिम्मेवारी सुम्पिएका छन् । धितोपत्र बोर्डको अध्यक्षमा अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ चयन मा चासो नराख्न भन्दै प्रधानमन्त्री प्रचण्डले पुष्करलाई जिम्मेवारी प्रदान गरेका हुन् ।
अब आएका आवेदनबाट‘सर्ट लिस्टिङ’ गरेर अन्तरवार्ता लिने र तीन जनाको नाम मन्त्रीपरिषद्मा पुर्याउने प्रक्रिया सुरु हुनेछ । बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक भने योजना आयोजका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ रहेका छन् । सदस्यमा अर्थ सचिव पुष्कर सँगै प्राध्यापक उदय निरौला रहेका छन् ।
समितिले सिफारिस गरेको तीन जनाको नामावली अर्थमन्त्रीले मन्त्रीपरिषदमा पेश गर्ने र मन्त्रीपरिषद्को बैठकले १ जनालाई नियुक्त गर्नेछ । अर्थ सचिव पुष्करलाई प्रधानमन्त्रीले अप्रत्यक्ष जिम्मेवारी नै दिए पछि अर्थमन्त्री पुनले मंगलबार अर्थ सचिवलाई छनोटको प्रक्रिया छिट्टै अघि बढाउन निर्देशन समेत दिएका हुन् ।
अर्थमन्त्री आफैले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा चासो देखाएर लागेका भए आवेदकमध्यका बलिया दावेदार नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाईँ र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर कार्कीको सम्भावना बढी थियो ।
तर, पछिल्लो सूचना अनुसार प्रमबाटै धितोपत्र बोर्डको अध्यक्ष टुंगाउने जिम्मा अर्थ सचिवलाई दिन निर्देशन आएपछि दुई बलिया दावेदारलाई पछि पार्दै बोर्डका बहालवाला कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी सुम्पने तयारी भएको बुझिएको छ ।
बोर्ड अध्यक्षमा नियुक्ति लिनको लागि कार्यकारी निर्देशक श्रेष्ठ शक्ति केन्द्र धाइरहेका छन् । उनी सार्वजनिक संस्थान नियुक्तिमा सधै पकड राख्दै आउने चालु ग्याङभित्रका विश्वास पात्र हुन् । उनलाई प्रमदेखि माथिसम्मको आर्शिवाद छ ।
आफू अर्थ सचिवमा रहिरहन लागिपरेका अर्थ सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्रीलाई रिझाएर आफू पनि अर्थ सचिवमा टिकिराख्ने योजना बनाएका छन् । अर्थ सचिवले चाहेको जस्तै प्रमले गरे भने पुष्करको अर्थ मन्त्रालयमा बस्ने समयावधि अझै लम्बिने देखिएको छ । धितोबार्ड अध्यक्ष टुंगाउने जिम्मेवारी पाएका पुष्करले बजेट निर्माणको जिम्मा समेत पाउने सम्भावना बढेको छ ।
त्यसैले अर्थ सचिवले गर्ने सर्टलिष्टिङ ‘मोष्ट इम्पोट्यान्ट’ पात्र बनेका छन् । श्रेष्ठ धितोपत्र बोर्डको अध्यक्ष बने भने हिमालयन स्टक एक्सचेन्जले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स पाउने छ । नेपाल धितोपत्रको बोर्डको अध्यक्ष नियुक्तिमा १९ जनाले आवेदन दिएका छन् । आवेदकमध्यबाट सेबोन अध्यक्ष छनोट समितिले ५ जनाको सर्ट लिष्टिङ गर्नेछ ।
आवेदन दिनेहरुमा को को छन् ?
बोर्डको अध्यक्षमा चिरन्जीवी चापागाईं, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा नवराज अधिकारी, डा गोपाल प्रसाद भट्ट, निरज गिरी, डा केशव प्रसाद श्रेष्ठ, कृष्ण बहादुर अधिकारी, डा। रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रविन पन्दाक, सूर्य प्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलीया, डा। बीमल कुमार तिवारी, राम कृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्ण बहादुर कार्कीको आवेदन परेको छ ।