काठमाडौं । सरकारको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ आज सार्वजनिक हुने भएको छ । सत्ता गठबन्धनले गठन गरेको १० सदस्यीय कार्यदलले सरकारका नीतिगत प्राथमिकता र साझा संकल्पमा १३ विषयलाई प्रमुखता साथ समेटिएको छ । उक्त दस्तावेजमा आर्थिक शिथिलता अन्त्य र वित्तीय संस्थालाई विसंगती मुक्त बनाउने कुरालाई मुख्य जोड दिइएको छ ।
सार्वजनिक संरचनागत सुधार, छरितो सेवा प्रवाहसँगै सुशासन, काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादनका मुद्दालाई गठबन्धनले साझा संकल्प बनाएको छ । शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, भौतिक पूर्वाधार विकास र अन्तर–निकाय समन्वय, ऊर्जा विकास, सूचना र सञ्चार,भूमि व्यवस्था,वन–वातावरण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन लगायतका विषयले प्राथमिकता पाएका छन् ।
युवा र खेलकुद, पर्यटन, संस्कृति तथा सामाजिक सद्भाव, महिला सहभागिता, सशक्तीकरण र सामाजिक समावेशिता, सङ्क्रमणकालीन न्याय र दिगो शान्ति, राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति लगायतलाई सरकारले प्राथमिकताका क्षेत्र बनाएको छ ।
कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य रहेका थिए ।