काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आवको बजेट बनाउने जिम्मा कसलाई देलान् ? अहिले बजारमा मुख्य चर्चाको विषय बनेको छ । नजिकिदै आएको अन्तर्राष्ट्रिय लगानी सम्मेलन र आगामी आर्थिक वर्षको बजेट बनाउने तयारी गर्दै गर्दा प्रधानमन्त्री दाहालले आफ्नै पार्टीबाट अर्थमन्त्री बनाउने तयारीमा लागेका हुन् ।
प्रधानमन्त्रीले आफ्नै पार्टीबाट अर्थमन्त्री बनाउन पाए भने माओवादी नेता वर्षमान पुनलाई अर्थमन्त्री बनाउने बलियो सम्भावना देखिएको छ । उच्च स्रोतका अनुसार दर्जन मन्त्री फेर्ने तयारीमा रहेका प्रधानमन्त्री दाहालले कांग्रेसबाटै अर्थमन्त्री बनाउनु पर्ने अवस्था आएमा आगामी बजेटसम्म हालकै अर्थमन्त्री डा.प्रकाशशरण महतलाई नै अर्थमन्त्रीको जिम्मेवारी दिइ राख्ने बुझिएको छ । यदि उनको विकल्पमा मन्त्री बनाउन चाहेमा कांग्रेस नेता डा. नारायण खड्का र उदयसमशेर राणा समेत अर्थमन्त्रीको बलियो दावेदार रहेको उच्च स्रोतले जानकारी दिएको छ ।
यद्यपि कांग्रेस सभापति शेरबहादुर देउवा अर्थमन्त्री परिवर्तन गर्ने पक्षमा अहिलेसम्म उभिएका छैनन् । प्रधानमन्त्रीको अडानले अर्थमन्त्री परिवर्तन हुने अवस्था बलियो बन्यो भने खड्का र राणामध्येबाट एक जना अर्थमन्त्री बनाउने तयारी कांग्रेसले गरेको छ ।
वर्षमान पुनलाई पार्टीको महासचिव बनाउने सहमती भयो भने माओवादीले अर्थमन्त्री पाएको अवस्थामा जनार्दन शर्मा अर्थमन्त्री बन्ने सम्भावना देखिएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको निर्वाचन र कांग्रेसको महासमिति बैठकभन्दा अगाडि मन्त्रिपरिषद् पुनर्गठन नहुने अडान लिएका कारण प्रधानमन्त्री दाहालले मन्त्री परिषद पुर्नरगठन गर्न पाएका थिएनन् । अहिले यो कार्य सम्पन्न भएको छ । प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालय आफ्नो दललाई राखेर गृह मन्त्रालय कांग्रेसलाई दिने तयारी गरेको स्रोतले बताएको छ ।
राष्ट्रिय सभाको निर्वाचन गत माघ १२ गते भएको थियो भने कांग्रेस महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म सम्पन्न भइसकेको छ । पछिल्लो समय प्रतिनिधि सभामा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका विषयमा निरन्तर प्रश्न उठिरहेको छ । कतिपय सांसदले उनीहरूको राजीनामानै माग गरिसकेका छन् ।
संसदमा प्रतिपक्षी दलले निरन्तर प्रश्न उठाएपछि सभामुखले सरकारलाई सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन् । प्रधानमन्त्री दाहालले संसदमा जवाफ दिनुभन्दा अघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् ।
हाल २५ सदस्यीय मन्त्रिमण्डलमा माओवादीबाट प्रधानमन्त्रीसहित ६ जना, नेपाली कांग्रेसबाट ९ जना, एकीकृत समाजवादीबाट ३ जना, जनता समाजवादी पार्टीबाट ३ जना, जनमत पार्टीबाट १, नागरिक उन्मुक्ति पार्टीबाट १, नेपाल समाजवादी पार्टीबाट १ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना मन्त्री रहेका छन् ।
माओवादीले प्रधानमन्त्रीसहित, गृह, उर्जा जलस्रोत तथा सिचाईं, सञ्चार तथा सूचना प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लिएको छ । माओवादीबाट १ जना राज्य मन्त्री छन् ।
जनता समाजवादी पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि र वन तथा वातावरण मन्त्रालय लिएको छ । समाजवादीबाट एक जना राज्य मन्त्री छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जनमत पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा नेपाल समाजवादी पार्टीले खानेपानी मन्त्रालय लिएको छ ।
अहिलेकै सत्ता गठबन्धनले निरन्तरता पाए पनि केही मन्त्रालय हेरफेर गर्ने सत्तारुढ दलको तयारी छ । नयाँ मन्त्रिपरिषदमा अर्थमन्त्रीका रुपमा वर्षमान पुन (अनन्त) आउने छन् । पुन अर्थमन्त्री बन्न जोडबलले लागि परेका छन् । पुनलाई जनार्दन शर्माको समेत साथ रहेकोले बताइएपनि शर्मा आफै पनि यो दौडमा लागेका छन् ।
त्यस्तै, हाल माओवादीले सम्हाल्दै आएको गृह मन्त्रालय नेपाली कांग्रेसले पाउनेछ । गृह मन्त्रालयमा रमेश लेखक जाने सम्भवना बलियो रहेको छ । सञ्चार मन्त्री रेखा शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, सहरी विकास मन्त्री सिता गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किराँतीलाई मन्त्रीबाट हटाउने तयारीमा प्रधानमन्त्री रहेका छन् । यी सबैमन्त्री एक न एक विवादमा तानिएका कारण पनि प्रधानमन्त्री दाहालले नयाँ मन्त्री मण्डल गठन हुँदा नयाँ अनुहारलाई ल्याउने बुझिएको हो ।