राष्ट्रिय गौरवका आयोजनाको प्रगति २३.६१ प्रतिशतमात्रै, कति भयो त खर्च ? 

काठमाडौं । देशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरूले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १५ अर्ब ५० करोड ८ लाख खर्च गरेका छन् । राष्ट्रिय गौरबका आयोजनाहरूमा भएको खर्च विनियोजित बजेटको २३.६१ प्रतिशतमात्रै हो । सरकारले चालु आवमा राष्ट्रिय गौरवका आयोजनाको लागि ६५ अर्ब ६४ करोड १४ लाख बजेट विनियोजन गरिएको थियो ।
राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छन् ।
पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण विधि तयार नहुँदा आयोजना सुरु हुन विलम्ब भएको छ भने बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरणको कार्य जारी छ । अन्य आयोजनाहरू निर्माणको विभिन्न चरणमा रहेका छन् ।
यो अवधिमा पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजना ३७.११ प्रतिशत वित्तीय प्रगति भएको छ । पुर्व(पाँचथर) देखि पश्चिम बैतडी)सम्म कुल  १ हजार ८ सय ७९ किलोमिटर मध्ये पुस मसान्तसम्म ९५२ किलोमीटर अन्य निकायबाट ४६२ किलोमीटर गरी कुल १४१७ कि.मी कालोपत्रे सम्पन्न भएको छ ।
त्यसैगरी यो अवधिमा १३७ पुल मध्ये १०२ वटा पुल सम्पन्न भएको छ । आयोजनाको लागि तीन अर्ब ९५ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको थियो । पुस मसान्तसम्म १ अर्ब ४६ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ ।
हुलाकी राजमार्ग १ हजार ८ सय ५७ किलोमीटर पुर्व (काकरभिट्टा) देखि पश्चिम (कंचनपुर)  अन्तरर्गत २०८०/८१ को लागि ३ अर्ब ४८ करोड ९० लाख रुपैयाँ विनियोजन भएको थियो । जस अनुसार १ अर्ब ५४ करोड ७३ लाख रुपैयाँ खर्च भइसकेको छ । यो अवधिमा विनियोजन भएको मध्ये ४४.३५ प्रतिशत प्रगति भएको छ । हालसम्म आयोजनको एक हजार ६० किलोमीटर सडक कालोपत्रे र १३४ वटा पुल निमार्ण सम्पन्न भइसकेको छ ।
उत्तर दक्षिण राजमार्ग (कर्णाली कालीगण्डकी र कोशी) अन्तरर्गत ३ अर्ब ६० करोड ६९ लाख रुपैयाँ विनियोजन भएको थियो । जसमध्ये हालसम्म  ३३.८ प्रतिशत प्रगति भएको छ । यो अवधिमा विनयोजन भएको कुल खर्च मध्ये १ अर्ब २१ करोड ९० लाख रुपैयाँ खर्च भएको हो ।
उत्तर दक्षिण लोकमार्ग (कोशी करिडोर) भारतको सिमाना जोगवानीदेखि विराटनगर, इटहरी, धनकुटा, खाँदबारी हुँदै नेपालको उत्तरी सिमाना किमाथांकसम्म १ सय ६२ किलोमीटरको आयोजनामा १६ प्रतिशत वित्तीय प्रगति भएको छ । यो अवधिमा कालोपत्रे नभएको ११ वटा पुल निर्माण सम्पन्न भएको छ भने ३० किलोमीटर ग्राभिल सम्पन्न भएको छ ।
त्यसैगरी यो अवधिमा नेपाली सेना तर्फ खाँदवारी किमाथांक च्याम्ताङंग घोङप्पा खण्डा) सडक संखुवासभा/कोशी १०.५१ किलोमीटर आयोजना ६९.४६ प्रतिशत, कालिगण्डकी कोरिडोर (गैडाकोट – राम्दी – मालढुंगा) सडक योजनाको ६३ प्रतिशत, कालिगण्डकी कोरिडोर (बेनी जोमसोम कोरला सडक योजनाको यो अवधिमा ७५ प्रतिशत र उत्तर दक्षिण (कर्णाली कोरिडोर) हिल्सा सिमिकोट सडक योजना, हुम्लाको ११ प्रतिशत वित्तीय प्रगति भएको छ ।
त्यस्तै खुलाल सलिसल्ला सडक योजना, कोल्टी, बाजुराको हालसम्म १५ प्रतिशत, नेपाली सेनातर्फ लालिबगर– दुल्लीकुत्रा खण्ड र घाटपारीचौर–बद्रीगाँउ–भुङकाखोला खण्डको ५१.४७ प्रतिशत वित्तीय प्रगति भएको छ ।
रेल मेट्रो रेल तथा मनोरेल विकास आयोजनाको ३४.९८ प्रतिशत वित्तीय प्रगति भएको छ । यस आयोजनाको लागि सरकारबाट १ अर्ब ३ करोड तीन लाख रुपैयाँ विनियोजन भएकोमा हाल ३६ करोड ३ लाख रुपैयाँ खर्च भएको छ ।
समीक्षा अवधिमा काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको १९.३७ प्रतिशत प्रगति भएको छ । यस आयोजनाको लागि २२ अर्ब ५० करोड ३८ लाख रुपैयाँ विनियोजना भएको थियो । विनियोजन भएको मध्ये ४ अर्ब ३५ करोड ९९ लाख रुपैयाँ खर्च भएको देखिएको छ ।
त्यस्तै यो अवधिमा पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थलको भने निर्माण कार्यमा प्रगति भएको छैन् । गत आवको सोहि अवधिमा यस योजनाको एक सय प्रतिशत प्रगति भएको थियो ।  आयोजनाका लागि सरकारबाट ३ अर्ब रुपैयाँ विनियोजन भएको थियो । यता निजगढ अन्तर्राट्रिय विमानस्थल, बारामा पनि मोडालिटी तय हुन बाँकी नै छ । यस आयोजनाको लागि ३५ करोड रुपैयाँ विनियोजन भएकोमा हल यस योजनाको लागि खर्च भएको छैन् ।
पशुपति क्षेत्र विकास कोषको पुस मसान्तसम्म ८०.०५ प्रतिशत वित्तीय प्रगति भएको छ । यस योजनाको लागि सरकारबाट २१ करोड रुपैयाँ विनियोजन भएको थियो । विनियोजन भएको मध्ये पशुपति विकास कोषमा १६ करोड ८१ लाख रुपैयाँ खर्च भइसकेको देखिन्छ ।
त्यस्तै सरकारबाट लूम्बिनी विकास कोषको लागि ४५ करोड रुपैयाँ विनियोजन भएकोमा २२ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । यो भनेको विकास कोषको ५० प्रतिशत वित्तीय प्रगति भएको हो । बूढीगण्डकी जलविद्युत आयोजनाको हालसम्म कुनैपनि प्रगति भएको देखिदैन । यस आयोजनाको लागि सरकारबाट एक अर्ब रुपैयाँको बजेट विनियोजन भएको थियो ।
पश्चिम सेती जलविद्युत आयोजना हालसम्म पनि मोडालिटी एकिन भएको छैन् । बबई सिँचाई आयोजनाको ३६ हेक्टर सिँचाईको ७२.८३ प्रतिशत वित्तीय प्रगति भएको छ । यस योजनाको लागि ६३ करोड १ लाख रुपैयाँ विनियोजना भएको थियो । जसमध्ये हाल ४५ करोड ८९ लाख रुपैयाँ खर्च भइसकेको देखिन्छ ।
सो सिँचाइ आयोजनाको लागि सरकारले ३३ हजार ५ सय २० हेक्टरमा रहेको महाकारी सिँचाइ आयोजनाको लागि सरकारबाट एक अर्ब १७ करोड १० लाख रुपैयाँ विनियोजन भएको थियो । हालसम्म यस आयोजनामा ७२ करोड २८ लाख रुपैयाँ खर्च भएको छ । यो भनेको ६१.७२ प्रतिशत वित्तीय प्रगति हो । गत आवको यो अवधिमा ९८.५२ प्रतिशत प्रगति भएको थियो ।
त्यसैगरी सिक्टा सिँचाई आयोजनाको २४.८९ प्रतिशत वित्तीय प्रगति भएको देखिन्छ । सिक्टा सिँचाईको लागि ७९ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा १९ करोड ८० लाख रुपैयाँ खर्च भएको हो । ३८ हजार तीन सय हेक्टरमा फैलिएको रानी जमरा कुलरिया सिँचाई आयोजनाको ३४.३५ प्रतिशत वित्तीय प्रगति भएको तथ्यांकमा उल्लेख छ । गत आवको सोहि अवधिमा यस आयोजनाको ६४.३३७ प्रतिशत प्रगति भएको थियो ।
गत आवको यो अवधिको तुलनामा २९.९८७ प्रतिशत नै कम हो । यस योजनाको लागि सरकारबाट दुई अर्ब ६३ करोड ४४ लाख रुपैयाँ खर्च विनियोजन भएको थियो । हालसम्म ९० करोड ४९ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै भेरी–ववई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको २३.५२ प्रतिशत वित्तीय प्रगति भएको छ । यस आयोजनको लागि एक अर्ब ७४ करोड ५ लाख रुपैयाँ विनियोजन भएको थियो । जसमध्ये हालसम्म ४० करोड ९३ लाख रुपैयाँ खर्च भएको हो ।
अर्को मरिन डाईभर्सन बहुउद्देशीय आयोजनाको ७३.६२ प्रतिशत वित्तीय प्रगति भएको छ । यस आयोजनाको लागि सरकारबाट ४ अर्ब १७ करोड १४ लाख रुपैयाँ विनियोजन भएको थियो । हालसम यस आयोजनाको ३ अर्ब ७ करोड ९ लाख रुपैयाँ खर्च भएको छ ।
यता राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको १५.९६ प्रतिशत मात्रै वित्तीय प्रगति भएको देखिन्छ । गत आवको समीक्षा अवधिमा कार्यक्रको यस्तो वित्तीय प्रगति ९१.२२ प्रतिशत भएको थियो । यस कार्यक्रमका लागि सरकारबाट १ अर्ब ५ करोड ९ लाख रुपैयाँ विनियोजन भएको हो । यो अवधिमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको १६ करोड ७७ लाख रुपैयाँ खर्च भएको छ ।
यता मेलाम्ची खानेपानी आयोजनाको ३२.७२ प्रतिशत प्रगति भएको छ ।
गत आवको समीक्षा अवधिमा खानेपाी आयोजनाको वित्तीय प्रगति ९९.५२ प्रतिशत थियो । गत आवको यो अवधिमा मेलाम्ची खानेपानी आयोजनाको वित्तीय प्रगति ६६.८ प्रतिशतले कम देखियो । यस आयोजनाको लागि खर्च ५० करोड ८३ लाख रुपैयाँ विनियोजन भएको थियो । जसमध्ये १६ करोड ६३ लाख रुपैयाँ खर्च भएको छ ।
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एसोसिए–नेपाल)–विद्युत प्रसारण आयोजना र सडक मर्मत आयोजनाको लागि सरकारबाट १० अर्ब ८४ करोड १७ लाख रुपैयाँ विनियोजन भएको थियो । विनियोजन भएको मध्ये ५ करोड ९ लाख रुपैयाँ मात्रै खर्च भएको तथ्यांकमा उल्लेख छ । यो भनेको ०.४७ प्रतिशत वित्तीय प्रगति हो ।
प्राविधिक प्रस्तावहरू मूल्यांकन भइरहेको छ । त्यसैगरी ट्रान्समिसन लाईन र सवस्टेशनको निर्माणकार्यको सुपरिवेक्षण ईन्जिनियरका लागि सम्झौता सम्पन्न भइसकेको छ भने ट्रान्समिसन लाईन निर्माणको ठेक्काका लागि प्राप्त भएका बोलपत्रहरू लागात अनुमान भन्दा निकै बढिरहेकाले सिमित बजेट भित्र रही उक्त ठेक्का अगाडि बढाउन सक्ने अवस्था नरहेको ठेक्का प्रक्रिया रद्द भई पुन ठेक्का आहावनको लागि काम भइरहेको छ ।
सासेक विद्युत प्रशारण तथा वितरण प्रणाली सुढुढीकरण आयोजनाको लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको थियो । जस मध्ये २४ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो भनेको आयोजनाको ०.०७ प्रतिशत वित्तीय प्रगति हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स