प्रधानमन्त्रीसँग कुनै विवाद छैन, संसद्‍ले पारित गरेको बजेट अर्थ मन्त्रालयले घटाउन सक्दैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आफूले प्रधानमन्त्रीसँग छलफल गरेर नै बजेटको अनुमानित खर्चको आकार घटाइएको बताए । मन्त्री महतले संसद्‍ले पारित गरेको बजेट अर्थ मन्त्रालयले घटाउन नसक्ने बताए छन् ।

माघ २९ गते अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुन सक्ने अनुमान गर्दै अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेपछि बजेटको आकार घटाएको भन्दै आलोचना भएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री महतले अर्थ मन्त्रालयले बजेटको आकार नघटाएको बताए ।

सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेको थियो । अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्रालयले १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुन सक्ने संशोधित लक्ष्य सार्वजनिक गरेको थियो ।

अर्थमन्त्री डा महतले भने, ‘म चाहन्छु हामीले अनुमान गरेभन्दा बढी खर्च होस् । हामीले अनुमान गरेभन्दा बढी राजस्व संकलन होस् ।’ बजेट कटौति गर्ने अर्थ मन्त्रालयको कुनै सोच छैन । माघ मसान्तसम्म भएको आम्दानी र खर्चका आधार संशोधित लक्ष्य सार्वजनिक गरिएको हो ।’

‘बजेटको विषयमा सिस्टम भित्र घनिभूत छलफल हुन्छ । प्रधानमन्त्रीसँग, अर्थमन्त्रालयभित्र स्वच्छ वृहत् छलफल हुन्छ । प्रधानमन्त्री आफ्नो विचार राख्नुहुन्छ र हामीले पनि आफ्नो भनाइहरू राख्छौँ । यसै बजेटको सिलिङ वा आकार घटाउने भन्ने हुँदैन’ अर्थमन्त्रीले महतले भने, ‘अहिले बजेट खर्चको अनुमान घटाउँदा प्रधानमन्त्रीसँग वृहत् छलफल भएको छ । विषयलाई अतिरञ्जित गरिदिनु भएन ।’

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऎनको व्यवस्थाअनुसार अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको मन्त्री महतले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स