काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विद्युतीय सवारी साधनका कारण ३५ अर्ब भन्सार महसुल गुमेको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले लक्ष्यअनुसार राजस्व नउठेको बताएका हुन् । सरकारले निर्धारण गरेको राजस्व नउठ्दा दृष्ट्रिकोणबाट सरकारले अझै धेरै दवावमा परेकोे बताएका हुन् ।
‘अर्थमन्त्री महतले राजस्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको हो,’ उनले भने ‘राजस्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको हो ।’ अर्थमन्त्री डा. महतले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने पनि बताए । उनले आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताए ।
विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजस्व कम उठेको हो । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४÷३५ अर्ब कम भन्सार राजस्व उठेको दाबी गरे ।
‘अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छौँ’, उनले भने राजस्व केही वृद्धि भएको छ, हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन ।’ त्यो नहुनुको कारण एउटा त राजस्व संरचनामा परिवर्तन आइरहेको छ ।
डिजिटल युगमा संसारै अगाडि बढेको छ, हामी पछि पछ्याउँदै छौँ । यो डिजिटलाइजेशनको सँगसँगै अब ट्रान्जेक्शन व्यवसाय गर्ने शैली परिवर्तन भइसकेको छ । हामीले पनि आफ्नो शैलीलाई, तौरतरिकालाई त्यही अनुसार नढाल्ने हो भने हामी यो सबैखाले डिजिटलबेस व्यवसाय छ, त्यसलाई क्याप्चर गर्न सक्दैनौँ । त्यसबाट प्राप्त हुने जुन राजस्व छ, त्यो राजस्व हामी लिन सक्दैनौँ ।’
भन्सार प्रशासनले चनाखो भएर काम गर्नुपर्नेमा पनि जोड दिए । ‘भन्सार कार्यालयले पनि आफूलाई एकदमै अपडेट गरेर लैजानुपर्नेछ । अहिले भन्सारको कुरा गर्दा हिजो हामी गाडी आयात जुन नेपालमा हुन्छ, त्यो इन्धनमा आधारित थियो । पेट्रोल र डिजेलमा आधारित थियो । अहिले इभीको आयात इन्धनमा आधारित गाडीहरुको भन्दा डबल नै भएको छ । यो पछिल्लो समयमा र हामीले ईभीलाई प्रमोट गर्ने हिसावले जुन अत्यन्त न्यून, इन्धनबेस भेकलको तुलनामा न्यून भन्सार दर राखेका छौँ ।’
विद्युतिय सवारी साधनका कारण ३४/३५ अर्ब कम भन्सार राजस्व उठेको जानकारी पनि गराए । ‘ईभीकै कारण अहिले ३४/३५ अर्ब कम भन्सार उठेको छ, त्यसले गर्दा जुन हामी परम्परागत हिसावबाट जुन रावस्व वृद्धिको आँकलन गरिरहेका थियौँ, र यही ईभी एडप्टेशनको पनि जुन प्रक्षेपण गरेका थियौँ । त्यो भन्दा ज्यादा आम नागरिकहरु त्यतातिर उन्मुख छन् । हाम्रो राजस्वको लक्ष्य प्राप्त गर्न थप कठिनाइ आएको छ’, डा. महतले भने ।
अर्थमन्त्री डा. महतले वस्तु तथा सेवाको उत्पादन र मागको प्रकृतिमा बदलाब आएकाले पुरानो शैलीमा कर उठाउन मुस्किलन हुने बताए । ‘कुन कुन नयाँ व्यवसाय खडा भैरहेका छन्, कुन कुन व्यवसाय धारासायी भैरहेका छन् भन्सार र कर प्रशासनले हेर्नुपर्छ ।’
हिजो यति तिरेको थियो आज किन तिरेन भनेर हुँदैन् । व्यवसायका शैलीमा परिवर्तन आएका छन् । हिजो यो वस्तुको मूल्य यति थियो, आज किन यति भयो भन्ने पनि हुन्न । हिजो तैँले यति तिरेको थिइस, यति किन तिरिनस भन्न पनि मिल्दैन्’, डा. महतले भने ।