पहिलो सत्कार दिवसमा हानका अध्यक्ष विनायक शाहले भने–‘एक पर्यटकबाट ९ जनालाई रोजगारी मिल्छ’

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले एक जना पर्यटकले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ९ जनालाई रोजगारी सिर्जना गर्ने बताएका छन् । एक पर्यटकले ९ वटा प्रत्यक्ष अप्रत्यक्ष रोजगारी सृजना गर्न सक्ने उनले बताए । ‘डब्ल्यूटीओको तथ्यांकअनुसार यस क्षेत्रले करिब दश लाख कामदार कर्मचारीले फूल टाइम, पार्ट टाइम र सिजनल रोजगारी पाएका छन् ।’ होटल संघ नेपालले आयोजना गरेको पहिलो सत्कार दिवस २०२४ को उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको ८ प्रतिशत योगदान गरेको भन्दै उनले नेपालमा ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने उनले बताए ।

‘२०२३ को तथ्यांकले दश लाख भन्दा बढी पर्यटक भित्रिएका छन्’, उनले भने ‘सडकबाट आउने भारतीय पर्यटक र फस्टाउँदै गएको आन्तरिक पर्यटकको संख्या समेत जोड्ने हो भने विदेशी तथा स्वदेशी पर्यटकहरुको संख्या करिब १७ लाख पुग्ने अनुमान छ । यसरी तथ्यांक हेर्दा हाम्रो क्यारिङ क्यापासीटी अर्थात् आपूर्तिको आधा जसो मात्र डिमाण्ड रहेको देखिन्छ ।’

हान अध्यक्ष शाहले सत्कार दिवसको अवसरमा राखेको मन्तव्य

धेरैभरि सञ्जाल रहेको ५ हजारभन्दा बढी ठूला साना होटलहरुको राष्ट्रियस्तरको छाता संगठन ५८ वर्षअघि आजैको दिनमा विधिवत दर्ता भएको होटल संघ नेपालको स्थापना दिवस मनाउने क्रममा आयोजित यस अवसरमा सर्वप्रथम हाम्रा अग्रज संस्थापक अध्यक्ष र पूर्व अध्यक्षज्यूको सवल नेतृत्व, संगठन सुदृढिकरण र यस क्षेत्रको विकासमा उहाँहरुको योगदानलाई स¥हाहना गर्दै होटल संघ नेपाललाई आजको सवल स्थितिमा पुर्याउन योगदान पुराउने सबैमा नम्र नमन गर्दछु । साथै नेपाल राष्ट्र र नेपाली जनतामा होटल क्षेत्रले पुर्याएको योगदान, विकासका सम्भावना र चुनौतीको प्रस्तुति सामयिक हुने मैले ठोकेको छु ।

नेपालमा पहिलो होटल २००७ सालमा खुले पश्चात आजको दिनसम्म ठूला साना गरी १० हजार भन्दा बढी होटल, रिसोर्ट, पर्यटकीय स्तरीय लज गेष्टहाउस सञ्चालनमा रहेको एकिन तथ्यांक नभए तापनि अनुमानित तथ्यांक छ । एक पर्यटकले ९ वटा प्रत्यक्ष अप्रत्यक्ष रोजगारी सृजना गर्न सक्ने डब्ल्यूटीओको तथ्यांकअनुसार यस क्षेत्रले झन्डै दश लाख कामदार कर्मचारीले फूल टाइम, पार्ट टाइम र सिजनल रोजगारी पाएका छन् । आजको बजार मूल्यमा राष्ट्रि होटल क्षेत्रमा भएको लगानी राष्ट्रिय वार्षिक बजेटको हाराहारी रहेको र विश्व बैंकको तथ्यांकले कुल गार्हस्थ्य उत्पादनमा झन्डै ८ प्रतिशत यस क्षेत्रको योगदान रहेको उल्लेखनीय छ ।

विदेशी मुद्राको प्रमुख स्रोत यस क्षेत्रले अन्य आर्थिक क्षेत्र जस्तै कृषि, उत्पादन उद्योग, यातायात, बैंकिङ, बीमा, हस्तकला आदि क्षेत्रको विकास र विस्तारमा प्रत्यक्ष योगदान पुर्याउँदछ । प्रस्तुत पृष्ठभूमिको आधारमा देशको टूरिष्ट क्यारिङ क्यापासीटी झन्डै ३५ लाखको हाराहारीमा रहेको अनुमान छ । २०२३ को तथ्यांकले दश लाख भन्दा बढी पर्यटक भित्रिएको जनाएको छ भने सडकबाट आउने भारतीय पर्यटक र फस्टाउँदै गएको आन्तरिक पर्यटकको संख्या समेत जोड्ने हो भने विदेशी तथा स्वदेशी पर्यटकहरुको संख्या करिब १७ लाख पुग्ने अनुमान छ । यसरी तथ्यांक हेर्दा हाम्रो क्यारिङ क्यापासीटी अर्थात् आपूर्तिको आधा जसो मात्र डिमाण्ड रहेको देखिन्छ ।

यस अवस्थामा कतिपय होटल व्यवसाय ब्रेक इभन प्वाइन्टभन्दा कम हुँदा सञ्चालन घाटा रहेको देखिन्छ । यस स्थितिमा बैंक वित्तीय संस्थालाई बुझाउने पर्ने साँवा व्याज नियमित रुपमा बुझाउन नसक्दा कतिपय होटेलहरु खासगरी भैरहवा र लुम्बिनीका होटलहरु कालोसूचीमा राखी लिलामीमा आएको अवस्था छ । यसस्थिति पक्कै पनि नाजुक छ र समस्या समाधानका लागि हालको मौजुदा स्थितिको सुक्ष्म समीक्षा र सोही अनुरुप राष्ट्रिय नीति र कार्ययोजना आवश्यक छ ।

विद्यमान ऐन नियम नीति कार्यक्रममा व्यापक सुधार हुनु अपरिहार्य छ । पर्यटन ऐन २०३५ लाई समय सापेक्ष बनाउन थालिएको प्रक्रिया चाँडै टुंगिने अपेक्षा छ भने सरकारले घोषणा गरेको २०२३–२०३२ को पर्यटन दशकको पहिलो वर्ष व्यतित भइसक्दा पनि कार्यान्वयन पक्ष मौन रहनु उदेक लाग्दो छ ।

होटलहरू उद्योगमा दर्ता भए तापनि सरकारी ऐन नीति नियमले सेवा व्यवसायको रुपमा मात्र वर्गिकरण गरेको कारण कर, पूर्वाधार, ऊर्जा, भन्सार लगायतका सहज व्यवहार प्राप्त गर्न नसकेकोले होटलहरुलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको दर्जा प्रदान गरी औद्योगिक व्यवसाय ऐन नियमावली २०७६ मा संशोधन थप हुन यस अवसरमा जोडदार माग गर्दछु ।

हालको स्थितिमा बढ्दै गएको युरिष्ट क्यारिङ क्यापासिटी अर्थात् आपूर्ति अनुरुपको माग बढाउनु हामी सबैको सामु रहेको चुनौती हो । यसका लागि कनेक्टिभीटी बढाउन तयार भई अन्तर्राष्ट्रिय उडानको प्रतिक्षामा रहेका भैरहवा र पोखराका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरु प्राथमिकताका साथ गृहकार्य प्रारम्भ गरी निश्चित समयसीमा भित्र कमसे कम भारत र चीन जोड्ने चार्टर्ड तथा सेड्युल फ्लाइट सुरु हुनु पर्दछ । २०२३ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० लाख पर्यटक भित्रिएको उत्साहजनक तथ्यांक, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनबाट पर्यटक आगमन संख्या दोब्बर बढाउन सकिने देखिन्छ ।

चार लेनमा विस्तार भइरहेका पोखरा, चितवन, लुम्बिनी लगायतका सडक निर्माण निर्धारित समयभन्दा निकै पछाडि रहेका कारण पर्यटन गतिविधि प्रभावित छ । यी राजमार्गहरु निश्चित समयसीमा भित्र पूरा गर्न सरकारी प्रतिबद्धता र अठोट आवश्यक छ । ईयूले नेपाली हवाई जहाजहरु कालो सूचीमा राखेका कारण हाम्रो प्रमुख गन्तव्यमा युरोपियन युनियनका नागरिकहरुले हवाई यात्रा नगर्ने तर काठमाडौं–पोखरा बीचको २०० किमी सडक पूरा ग र्न १०–१२ घण्टा लाग्ने स्थितिले पर्यटक गतिविधि धेरै हदसम्म घटेको छ ।

मौजुदा स्थितिमा छिटो अपेक्षित सुधार नआउने हो भने जनयुद्धताका बन्द भएका त्यस बेलाका नाम चलेका ब्लुस्टार, शेर्पा, नारायणी लगायतका होटल जस्तै विद्यमान पुराना होटलहरु विस्थापित हुने खतरा बढ्दै गएको छ ।

छोटो समयमा आर्थिक समृद्धि ल्याउन सक्ने पर्यटन क्षेत्र देश विकासको क्रममा प्राथमिकता जाहेर भए पनि यस तर्फ राष्ट्रिय अठोट र प्रणसहितको राष्ट्रिय कार्यनीतिका साथ अगाडि बढेमा केन्द्र, प्रदेश र स्थानीय निकायसम्म जनताले अनुभूत गर्न सक्ने आर्थिक विकास पु¥याउन सहजै सकिन्छ । आज पर्यटन आगमन लगायतका आर्थिक सूचांकहरु सकारात्मक देखिए पनि जनताले, व्यवसायीले सो अनुरुपको सकारात्मक अवस्था अनुभूत गर्न नसकेको यथार्थ हामी सामु छ ।

कोभिडबाट थपिएको पर्यटन क्षेत्रले छोटो समयमा जुन रिकभरी हासिल भयो त्यो निकै उत्साहजनक छ । हो यो सत्साहलाई बढाउँदै जाँदा हामी दक्षिण एसियाको पर्यटन हब बन्न सक्छौं, पूर्वाधार विकास र व्यवस्थापन गर्दै जाँदा द्रुत गतिमा आर्थिक विकास गरेका छिमेकी भारत र चीनबीचको हाम्रो देशमा ५० लाख पर्यटक भित्राउन सहज छ । यही पृष्ठभूमिमा हामी निजी क्षेत्रलाई सरकारले साथमा लिएर हाम्रो विजनेश कन्फिडेन्स बढाउँदै लगेर सरकारले घोषणा गरेको साल २०२५ विशेष पर्यटन वर्ष प्रभावकारी ढंगमा आयोजना हुनको लागि आज यस अवसरमा आह्वान गर्दछु ।

अन्तमा समारोहको शोभा बढाइ हामी सबै होटल व्यवसायीहरुको हौसला बढाइ दिनु भएकोमा सम्माननीय राष्ट्रपतिज्यू, माननीय मन्त्रीज्यू, श्रीमान सचिवज्यू तथा समस्त अतिथिहरुलाई सादर धन्यवाद ज्ञापन गर्दै यस सत्कार दिवस मनाउन आयोजित नेपाली रैथाने परिकारको रात्रिभोजमा सरिक भई दिनुहुन सबैमा निमन्त्रणा गर्दछु । अब यस कार्यक्रमको समापन भएको घोषणा गर्दछु ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स