नेपालको कुल गार्हस्थ्य उत्पादनमा वैदेशिक सहायताको हिस्सा ४ प्रतिशतमात्रै, वैदेशिक सहायता घट्नुमा नीति नियम वाधकः अध्ययन प्रतिवेदन

काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादनमा वैदेशिक सहायताको साढे ४ प्रतिशत मात्र हिस्सा रहेको एक प्रतिवेदनले देखाएको छ । एक्सनएड नेपालले नेपालमा वैदेशिक सहायताको प्रभावकारिता विषयमा तयार पारेको एक अध्ययन प्रतिवेदनले वैदेशिक सहायता र नेपालको आर्थिक विकासबीच कुनै सम्बन्ध नरहेको निष्कर्ष निकालेको हो ।

अनुसन्धानकर्ता वरिष्ठ अर्थशास्त्री डा.डिल्ली राज खनालले उक्त अध्ययन प्रतिवेदनमा वैदेशिक सहायत निसानमा तिर लागेको नेपालको आवश्यकताभन्दा टाढा रहेको उल्लेख गरेका छन् । वैदेशिक सहायता र देशको नीति नियमबीच कुनै सम्बन्ध नरहेको पनि उनले बताए ।

प्रतिवेदनअनुसार वैदेशिक सहायता शिक्षा र स्वास्थ्यमा आवश्यक रहेको बेलामा सबै सहायता भने ऊर्जा क्षेत्रमा रहेको कारण पनि कुनै नतिजा नदेखिएको उनको भनाइ छ ।

यसका साथै दिगो विकासका लक्ष्य हासिल गर्न हाम्रो नीती नियमका कारण वैदेशिक सहायता घट्दो क्रममा रहेको छ र वैदेशिक सहायतामा सरकारको हस्तक्षेप घट्दा प्रत्यक्ष एजेन्सी मार्फत खर्च गरिने परिपाटी बढ्दो रहेको उनले लेखेको प्रतिवेदन पुस्तकको निष्कर्ष छ । प्रतिवेदनको टिप्पणी गर्दै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक सहायतालाई एक पक्षबाट मात्र मूल्यांकन गर्नु भन्दा सह सम्बन्धको हिसाबमा मूल्यांकन गर्दा प्रस्ट हुने भनाइ राखे ।

‘विदेशी सहायतालाई सापेक्षतामा हेर्नुपर्छ, निरपेक्षतामा होइन’, उनले भने अगाडी भने ‘सबैचीज सधैं नराम्रो पनि हुँदैन र सबैचीज सधैं राम्रो पनि हुँदैन । पहिला त वैदेशिक सहायताले के गर्यो के गरेन भनेर हेर्नुपर्छ । हामीले मास्टर प्लान बनाउँदादेखि औलो रोग उन्मूलन गर्दा र ठूला पूर्वाधारमा विदेशी सहायता लिँदै आएका छौं । तामाकोशीबाहेक कुनै पनि ठूला जलविद्युत् आयोजना होस् वा शिक्षा स्वास्थमा सबैमा विदेशी सहायता लिएर नै यो उपलब्धि हासिल गरेका हौं ।’

नेपालको हरेक ठूलो परियोजनामा वैदेशिक सहायताको केही न केही हिस्सा रहेको बताउँदै कुनै वैदेशिक सहायता राम्रो र कुनै नराम्रो हुनु स्वभाविक रहेको डा. खतिवडाले बताए । डा. खतिवडाले भने ऋण लिनुपर्छ । त्यसको सदुपयोग गर्नुपर्छ ।

ऋण तिर्ने क्षमताको विकास गर्नुपर्छ । र, ऋण तिर्नुपर्छ । भारतमा जीडीपीको ८३ प्रतिशत, श्रीलंकमा ११३ प्रतिशत, अमेरिकामा १२३ प्रतिशत ऋण छ । हाम्रो त जम्मा जीडीपीको ४३ प्रतिशत मात्रै ऋण छ । तर, हाम्रोमा राजस्व पनि नउठाउ भन्ने, विकास खर्च पनि धेरै गर भन्ने अनि ऋण पनि नउठाउन भन्ने ? कुनचाहिँ अर्थशास्त्रीले आएर यो देशको विकास गर्दो रहेछ त्यो हेर्न बाँकी नै छ ?

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको बताए । उनले यस्तो देशमा वैदेशिक सहायता दिने देशहरूले वित्तीय पारदर्शितामा बाँध्नुपर्छ भन्ने विषयको पक्षधर रहेको बताए ।

उनले वैदेशिक सहायता निकायहरूले वित्त शर्त, वित्त अनुशासन र पारदर्शितामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने बताए ।‘यहाँ हरेक नियुक्ति बेचबिखन हुन्छ । नीतिगत सेटिङको हिसाबले नियमावली चैतमा १२ औँ संशोधन गर्नुहुन्छ । कागज मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको कुरै नगरौँ । सबैतिर भ्रष्टाचार, पार्टीहरूको आर्थिक बाटो कमसल पूर्वाधारबाट हुन्छ’, उनले भने ‘ठेकेदार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा (नियमनकारी निकाय नै कब्जा गर्ने), संवैधानिक निकाय कब्जा गरेर नीतिगत रूपमा नै चरम भ्रष्टाचारको युगमा गएका छौँ ।

यसको अन्त्य हामी गर्छौँ । पूर्वाधारमा पनि यस्तो भइरहेको छ । तीन वटैमा बाहिरबाट पैसा दिनेहरूले पारदर्शी गर नभन्ने हो भने कति छाडा होला ? निरपेक्ष रूपमा अरू केही जान्दैनन् हामी नै हौँ जानकार ७० को दशकमा आए होलान् ।

सन् १९५०, ६० र ७० का उदाहरण हेर्ने हो भने वैदेशिक सहायताले केहि काम भएको देखिन्छ । पूर्वपश्चिम राजमार्गलगायत केहि काम भएका छन् । विभिन्न दाताहरुले काम गरेको देखिन्छ । केहि पनि भएन, सब ध्वस्त बनाए, नेपाल बिग्रेकै वैदेशिक सहायताले भन्ने भनाइ गलत हो ।

सन् १९७४, १९७५ मा पञ्चायतकालमा कुल गार्हस्थ्य उत्पादनमा २.५ प्रतिशत वैदेशिक सहायताको योगदानले कति बनायो कति विगार्यो, यसलाई हेर्नु पर्छ । त्यसैले अंकको महत्त्व त्यसमा छ । पञ्चायतको अन्ततिर वैदेशिक सहायताको योगदान कुल गार्हस्थ्य उत्पादनमा ८ प्रतिशत पुगको रहेछ । आज ५ प्रतिशत रहेको छ ।

देशको विकासमा सानो हिस्सा ओगटेको वैदेशिक सहायतामा भन्दा देश विकासमा कर र प्रत्यक्ष वैदेशिक लगानीको प्रभावकारीबारे चर्चा गर्नु पर्ने आजको मुख्य आवश्यकता रहेको उनको वाग्लेले आफ्नो धारणा राखे । ‘देश वैदेशिक सहायतामा होइन, विदेशबाट पठाएको विप्रेषण आप्रवाहबाट जोग्गिरहेको छ’, डा. वाग्लेले बताए ।

कार्यक्रममा टिप्पणी प्रस्तुत गर्दै, पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले देशमा भुईँ फुट्टा वर्ग हाबिहुँदा कुनै पनि योजना सफल हुनु नपर्ने परिपाटि विकास भइरहेको बताए । एयरपोर्ट बनाउन माहिर तर चलाउन सधैँ असफल भएको कथा सुनाउँदै शिक्षा र स्वास्थ्यमा वैदेशिक सहायताको हस्तक्षेप नहुँदासम्म यसको प्रभावकारिता महसुस नहुने धारण व्यक्त गरे ।

त्यस्तै कार्यक्रमको मुख्य अतिथि सभामुख देवराज घिमिरेले, वैदेशिक सहयोगहरूको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा सहायताको बारेमा जानकारी पुग्नुपर्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स