नागरिक लगानी कोषको सर्टलिष्टमा पर्न सक्ने सम्भावना बोकेका ३ आवेदक

काठमाडौं । नागरिक लगानी कोषमा कार्यकारी निर्देशक (ईडी) का लागि १० जनाले आवेदन दिएका छन् । सो आवेदकमध्ये कोषका कामु निर्देशक रोशनजंग कार्की, नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी राजेन्द्र पण्डित र तत्कालिन नेपाल खाद्य संस्थानका महाप्रवन्धक तथा राष्ट्रिय बीमा संस्थानका प्रशासक बनेर कार्यकाल पुरा नगरी बाहिरिएका डा.शिवहरी श्रेष्ठ सर्टलिष्टमा पर्ने सम्भावना बढी देखिएको छ ।

सर्टलिष्टमा पर्ने पक्का जस्तै भएका डा.शिवहरी श्रेष्ठ प्रधान न्यायाधीश विश्वम्भर प्रकाश श्रेष्ठका दाजु हुन् । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउपाको ठाडो आदेशमा प्रधान न्यायाधीश बनेका भाइको पहुँच र प्रभावका कारणले पनि उनी सर्टलिष्टमा पर्ने उस्तै परे कार्यकारी निर्देशकको पद नै उनलाई सुम्पने देखिएको छ ।

यसअघि तत्कालीन खाद्य संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी महाप्रबन्धक बनेका डा.श्रेष्ठले तत्कालीन राष्ट्रिय बीमा संस्था (हाल राष्ट्रिय जीवन बीमा कम्पनी) का प्रशासक बने पनि संस्थानमा विवादित बन्दै गएपछि उनलाईबीचमै कार्यसम्पादन बाहिरिन लगाइएको थियो । उनले हाकेको तत्कालीन खाद्य संस्थानले पनि खासै उपलब्धी गर्न सकेको थिएन भने संस्थानको इतिहास त अझ हेरिनसक्नु छ ।

नागरिक लगानी कोष जस्तो ठूलो पुँजी भएको संस्थानमा ईडी बन्ने व्यक्ति अझ बढि कावलियत हुनुपर्ने देखिएको छ । सर्टलिष्टमा पर्ने अर्को सम्भावना भएका व्यक्ति भनेको राष्ट्रिय बैंकका पूर्व कर्मचारी राजेन्द्र पण्डित हुन् । डा.चिरञ्जिवि नेपाल राष्ट्र बैंकका भगर्नर बनेको बेला कम्पनी सचिव बनेको पण्डित नेपाल सरकारका पूर्व सचिव विश्व प्रकाश पण्डितका भाइ हुन् । पण्डितलाई त्यतिनै बेला कांग्रेसी सचिव भनेर चिनिने गरिन्थ्यो । अहिले कांग्रेससहितको गठनबन्धन सरकार भएको र अर्थ मन्त्रालयको मातहतमा नागरिक लगानी कोष भएकोले पनि उनको सम्भावना पनि बढी देखिएको छ । आवेदक राजेन्द्रले राष्ट्र बैंकमा ३० वर्षसम्म काम गरेका छन् । हाल उनी पब्लिक पोलिसीमा विद्यावारिधी गर्दैछन् ।

नागरिक लगानी कोषका लागि अत्यन्तै सम्भावना बोकेका र काबिलियत देखिएका आवेदक कामु निर्देशक रोशनजंग कार्की हुन् । कांग्रेस नेता पूर्व अर्थ तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीका नजिकका नातेदार हुन् । लेखा तथा कर प्रणालीमा एमबीबी र फाइनान्समा ईएमबीए गरेका कार्कीको डेढ दशकभन्दा बढी समय कोषमा काम गरेको कार्य अनुभव छ । कार्कीले वित्त विश्लेषकको रुपमा अधिकृत स्तरबाट कोष प्रवेश गरेका हुन् ।

कोषको कार्यकारी निर्देशक (ईडी) का लागि परेको आवेदकको अहिले बिजनेश परीक्षण हुँदैछ । १० जना आवेदकले पेश गरेको बिजनेश प्लान परिक्षणपछि ५ जना सर्टलिष्टिङ गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । बिजनेश प्लान परिक्षणबाट छनोटमा परेका १० आवेदकमध्ये कोष कार्यकारी निर्देशक (ईडी) छनोट समितिले ५ जनाले बिजनेश प्लानको प्रस्तुती पछि ३ जना आवेदकको सर्टलिष्ट गरेर अर्थमन्त्रीले मन्त्री परिषद्मा पेश गरी नियुक्त गर्ने कानुनी प्रावधान छ ।

कोषले गत कार्तिक २१ गते कार्यकारी निर्देशकको लागि आवेदन माग गरेपछि उनीहरूको दौड धूप सुरु भएको हो । अहिले कोष हाक्नको लागि आवेदकहरूले अर्थ मन्त्रालयदेखि प्रधानमन्त्रीसम्म लविङ गरिरहेका छन् ।

कोष ईडी छनोटको लागि अर्थ मन्त्रालयका सह सचिव भूपाल बरालको संयोजनमा ३ सदस्यीय समिति बनेको छ । कोषको कार्यकारी निर्देशक छनोट समितिले १० जनामध्ये ५ जनाको नाम सर्टलिष्ट गर्नेछ । कार्यकारी निर्देशक छनोट समितिले सर्टलिष्ट गरेका ५ जनामध्ये तीन जना उम्मेदवारको नाम सर्ट लिष्ट भने अर्थ मन्त्रालय गर्नेछ । ती तीन आवेदकको नाम मन्त्रिपरिषदमा पेस गर्नेछ । मन्त्रिपरिषद् बैठकले तीन जनामध्येबाट एक जनालाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ ।

कार्की, पण्डित र श्रेष्ठसहित कोष हाक्नको लागि जीवन प्रकाश सिटौला, पर्वत कुमार कार्की, विश्वमोहन अधिकारी, कमलप्रसाद रेग्मी, रामदेव यादव, लेखनाथ शर्मा पंगेनी र अनिलराज पौडेलरहेका छन् ।

उद्योग विभाग र सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक हुँदै कोशी प्रदेशको अर्थ सचिव भएर पनि काम गरिसकेका जीवन प्रकाश सिटौला पूर्व सहसचिव हुन् । पूर्व बैंकर समेत रहेका आवेदक विश्वमोहन अधिकारी युवा तथा स्वरोजगार कोषका हालका कार्यकारी निर्देशक हुन् । उनीसँग तत्कालीन ओम डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको कार्यअनुभव छ ।

कमलप्रसाद रेग्मी पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको प्रतिस्पर्धामा छन् । अर्थ मन्त्रालय र गृह मन्त्रालयमा समेत काम गरेका रेग्मीले १२ वर्ष नेपाल टेलिभिजनमा पनि काम गरे । रेग्मी नेपाल बीमा प्राधिकरणको कानुन तथा नियमन महाशाखा प्रमुख हुन् ।

आवेदक लेखनाथ शर्मा पंगेनी नेपाल सरकारका सहसचिवबाट अवकाश प्राप्त कर्मचारी हुन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका पंगेनीले राजस्व परामर्श बोर्डको सदस्य भएर पनि काम गरेका छन् । उनले अर्थ मन्त्रालय र मातहतका निकायमा तीन दशक लामो समय काम गरेका छन् । अनिलराज पौडेलले पनि कोषको ईडीका लागि आवेदन दिएका छन् । उनले करिब तीन दशक राष्ट्रिय सहकारी बोर्डमा उप–निर्देशक भएर काम गरेका छन्

किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले पनि आवेदन दिएका छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका कार्की राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । राष्ट्र बैंकमा तीन दशक कामअनुभव सम्हालेका कार्कीले ग्रामीण विकास बैंकको सीईओ भएर पनि काम गरेका छन् । सिंहदरबार वैद्यखानाका पूर्व कार्यकारी निर्देशक रामदेव यादव पनि ईडी बन्ने प्रतिस्पर्धामा छन् ।

नेपालको सार्वजनिक संस्थानमा कार्य दक्षताको आधारमा भन्दा पनि पहुँचको आधारमा कार्यकारी प्रमुख छनोट गर्ने अभ्यास छ । सोही कारण अहिले पनि जसको पहुँच अर्थात पल्ला भारी हुन्छ उसैले कोष कार्यकारी निर्देशकको पद सम्हाल्ने मौका पाउने छन् ।

हुन त अहिले आवेदकहरूको बिजनेश प्लानको परीक्षण भइरहेको छ । बिजनेश प्लान, अनुभव, पहुँच र क्षमताका आधारमा ईडी छनोट गर्ने नीति सरकारको हो । सरकारले कार्य दक्षता र कार्य सम्पादन क्षमतालाई प्राथमिकता राख्दै कोषलाई नयाँ शिराबाट सञ्चालन गर्न सक्ने काबिलियत ईडी आवश्यक देखिएकोले कोषमै डेढ दशकभन्दा बढी समय कार्य सम्पादन गरेका कामु कार्की हरेका हिसावले सही व्यक्ति हुन सक्ने अनुमान लगाउन थालिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स