अमेरिकी डलर हालसम्मकै महँगो, १ अमेरिकी डलरको लागि १३३.७० नेपाली रुपैयाँ खर्चनु पर्ने

काठमाडौं । अमेरिकी डलर हालसम्मकै महँगो भएको छ । आज आइतबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ७० पैसा पुगेको छ । अघिल्लो रेकर्डभन्दा आज डलरको भाउ २ पैसा बढेको हो। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ७० पैसा खर्च गर्नुपर्ने भएको छ । गत बुधबार १३३ रुपैयाँ ६८ पैसा पुगेर नयाँ रेकर्ड बनाएको डलरको भाउ, आज सोभन्दा माथि हो ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर हुन्छ ।

डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्समा सकारात्मक प्रभाव पर्छ । डलरको भाउ बढेको समयमा विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउने गरेको पाइन्छ । निर्यातबाट फाइदा हुने भएपनि नेपालले आयातको तुलनामा त्यति ठूलो निर्यात गर्न सकेको छैन ।

सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातवापतको भुक्तानीमा पर्ने देखिएको छ । आयात बढ्दो गतिमा रहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको छ । रुपैयाँ कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ ।

विदेशबाट लिएको ऋणको साँवाब्याज भुक्तानीका लागि पनि धेरै बढी रकम तिर्नुपर्छ । विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायत जानेहरूको लागत महँगो पर्छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स