अर्थतन्त्र सुधारका लागि उच्च स्तरीय संयन्त्र बनाउने प्रधानमन्त्रीको योजना रोकेर उद्योग वाणिज्य सम्वाद परिषद् ब्युताउने तयारीमा सरकार

काठमाडौं । सरकारले उद्योग वाणिज्य प्रवर्द्धन सम्वाद परिषदलाई ब्युताउँने भएको छ । अर्थतन्त्र सुधारका लागि उच्च स्तरीय संयन्त्र बनाउने प्रधानमन्त्रीको योजना रोकेर उद्योग वाणिज्य सम्वाद परिषद् ब्युताउने तयारीमा सरकार लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त परिषद्लाई ब्युताएर अर्थतन्त्र सुधार गर्ने तथा देशमा उद्यमशीलताको विकास रणनीति अपनाउन लागेका हुन् ।

हाल निष्क्रिय जस्तै रहेको उक्त परिषद्मा प्रधानमन्त्री स्वयम अध्यक्ष रहने भएपनि सो परिषदले अर्थतन्त्रबारे छलफल र समन्वयको काम गर्ने अधिकार मात्रै राख्दछ । प्रधानमन्त्रीले अघि सारेको वैधानिक प्राप्त उच्च स्तरीय योजनाले जस्तो यो परिषद्ले काम गर्न सक्दैन ।

अर्थमन्त्रीदेखि राष्ट्र बैंकसम्मको जोड बल र असन्तुष्टीमा प्रधानमन्त्री अर्थतन्त्र सुधारका लागि बनाउन लागिएको उच्च स्तरीय संयन्त्र बनाउने योजना रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र सुधार गर्न निजी क्षेत्र र विज्ञ सहितको उच्च स्तरीय संयन्त्र बनाउने घोषणा गरेका थिए । असोज २५ गते प्रधानमन्त्रीले गरेको उक्त घोषणा अर्थमन्त्रीसहित राष्ट्र बैंकको समेत समर्थनमा रोकिएको हो ।

प्रधानमन्त्रीले सो योजना घोषणा गरेपछि असन्तुष्ट बनेको अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो भूमिकालाई खुम्च्याउन लागेको भन्दै उक्त संयन्त्रको वारेमा असन्तुष्टी पोखेका थिए । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि प्रधानमन्त्रीलाई त्यस्तो संयन्त्रमा राष्ट्र बैंकलाई सहभागी नबनाउन भनेको थिए ।

प्रधानमन्त्रीले भने हरेक जसो सार्वजनिक फोरमहरुमा त्यस्तो संयन्त्र बनाउने घोषणा गर्दै आएका थिए । प्रधानमन्त्री प्रचण्ड मंगलबारको ‘गोलमेच सम्मेलन’मा भने एकाएक उक्त उच्च स्तरीय संयन्त्रको वारेमा कुरा नै नगरी यस अघि नै अस्थित्वमा रहेको तर सक्रिय नभएको उद्योग बाणिज्य प्रवर्द्धन सम्वाद परिषदलाई ब्युताउँने प्रतिवद्धता गरे ।

असोज २५ गतेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा अर्थमन्त्रीको फोनबारे प्रधानमन्त्री प्रचण्डले भनेका थिए –‘त्यो कुरा भएको एक घण्टापछि अर्थमन्त्रीज्यूका फोन आयो मलाई, यस्तो–यस्तो कुरा सुनेँ, के हो ? भन्नुभयो ।’,

प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्रीसँगको संवाद उदृत गर्दै भने –भएको त केहि पनि छैन, हामीले सल्लाह गर्दै आएका छौं । एक वर्षदेखि अर्थतन्त्र सुधारका लागि प्रयास गर्दै आएका छौं, निजी क्षेत्रबाट सुझाव आएको हो, त्यो सुझावलाई हामीले सकारात्मक रुपले लिन्छौं, आजै निर्णय गर्ने कुरा पनि होइन, तपाई नआइ अर्थमन्त्री, अर्थसचिव नभई राम्रोसँग सल्लाह नगरी केहि निर्णय त हुँदैन, तर हामी जुन समस्याको समाधानका लागि सबै मिलेर एउटा यस्तो संयन्त्र आवश्यक छ, जसको सुझावका बलमा समस्याको समाधान गर्न सकौं भनेर मैले उहाँलाई भने ।’

अर्थमन्त्रीलाई यस्तो जवाफ दिएका प्रधानमन्त्री प्रचण्ड हिजोको बैठकमा भने एकाएक यूर्टन भएर परिषद ब्युताउनेमा पुगेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स