काठमाडौं । नेपालीको महान चाड दसैं तथा तिहार नजिकिएपनि यस वर्ष १ खर्ब ३० अर्ब ५० करोड रुपैयाँको पनि वस्तु आयात भएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको पहिलो महिनामा २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँको आयात भएको थियो । चाडपर्व नजिकिएपनि दुई महिनाको कुल आयात जम्मा २ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँमात्रै पुगेको हो ।
गत आव २०७९/०८० को भदौ महिनामा मात्र १ खर्ब ४२ अर्ब रुपैयाँको आयात भएको थियो । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ५.०६ प्रतिशत कम हो । सो आवको पहिलो दुई महिनामा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको असर वस्तु आयातमा प्रत्यक्ष देखिएको छ । नेपालमा असोज र कात्तिक महिनामा पर्ने मुख्य चाडबाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी हुने सबैभन्दा धेरै वस्तु आयात भदौमा हुने गरेको र वर्षभरि हुने व्यापारको ४० प्रतिशत व्यापार यहि महिनामा हुने गर्दथ्यो । तर, यस आवमा भने चाडबाड लक्षित आयात उत्साहजनक देखिएन ।
चालु आवको साउन र भदौमा मात्र २६ अर्ब ४४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ७.७९ प्रतिशत कम हो । अघिल्लो आवमा २८ अर्ब ६८ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।
वस्तु आयात र निर्यात दुवैमा आएको कमीका कारण यस आवको पहिलो दुई महिनामा व्यापार घाटा र कुल वैदेशिक व्यापार समेत खुम्चिएको छ । सोही कारण यो दुई महिनामा २ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । जुन घाटा गत आवकोभन्दा ५.३२ प्रतिशतले कम हो । यस आवको पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ देखिएको छ । यो अघिल्लो आवको यसै महिनाको तुलनामा ४.७४ प्रतिशत कम हो ।
अघिल्लो आव दुई महिनामा २ खर्ब ४४ अर्ब ९१ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो । कुल व्यापारको आधार दुई महिनामा २ खर्ब ८६ अर्ब ६१ करोड पुगेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ५.३२ प्रतिशतले घटेको हो ।
अघिल्लो आवको पहिलो दुई महिनामा कुल वैदेशिक व्यापारको आकार ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँ रहेको थियो । यस वर्ष पहिलो दुई महिनामा वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७६ र निर्यातको हिस्सा ९.२४ प्रतिशत रहेको देखिन्छ ।