५ वर्षमा कर्जा र निक्षेप दुबै बढेर दोब्बर हुँदा जीडीपी ५६ प्रतिशतले बढ्यो

कर्जा विस्तारमा ३ वर्ष राम्रो, २ वर्ष ठिकै हुँदा पछिल्लो आव झूर

काठमाडौं । ५ वर्षमा बैंक तथा वित्तीय संस्थामा जम्मा भएको निक्षेप र उनीहरूले प्रवाह गरेका कर्जा बढेर दोब्बर भएको छ । २०७५ असारअन्त्यसम्म २८ खर्ब ३७ अर्ब रहेको बैंक तथा वित्तीय संस्थाको निक्षेप २०८० असार अन्त्यमा आइपुग्दा बढेर ५७ खबै ४० अर्ब पुगेको छ भने २०७५ असार अन्त्यसम्म २४ खर्ब २३ अर्ब रहेकोे कर्जा प्रवाह २०८० असार अन्त्यमा आइपुग्दा ४८ खर्ब ७९ अर्ब पुगेको छ ।

सोही अवधिमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३५.३० प्रतिशतले बढेर ५३ खर्ब ५१ अर्ब पुगेको छ । २०७५ असारअन्त्यसम्म नेपालको जीडीपी ३४ खर्ब ५५ अर्ब रुपैयाँ थियो । कर्जा र निक्षेप बढेर दोब्बर भएपनि सोही अनुपातमा देशको जीडीपी बढ्न सकेको छैन । अहिले हेर्ने हो जीडीपीको साइजभन्दा निक्षेपको साइज ठूलो भइसकेको छ भने कर्जाको साइज केबल ५ खर्ब रुपैयाँले मात्रै कम छ । ५ वर्षको अवधिमा नेपालको जीडीपी भने जम्मा ५५.७४ प्रतिशतले वृद्धि भएको छ ।

कर्जा विस्तारमा ३ वर्ष राम्रो, २ वर्ष ठिकै हुँदा पछिल्लो आव झूर
विगत ६ वर्षको कर्जा लगानीलाई हर्ने हो भने गत आर्थिक वर्ष सबैभन्दा निराश वर्षको रुपमा स्थापित भएको छ । गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतको लक्ष्य राखेपनि बैक तथा वित्तीय संस्थाले जम्मा ३.५० प्रतिशतमात्रै कर्जा विस्तार गर्न सफल भएका छन् । आवको सुरुमा केहि सहज भएपनि पहिलो त्रैमास सकिएलगत्तै वित्तीय बजारमा तरलता अभाव भयो । सो कारण बैंकहरूले ब्याज दर बढाए ।

नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले तरलतामा संकुचन आएका कारण गत आवमा लक्ष्य अनुसारको कर्जा प्रवाह हुन नसकेको बताए । यस आवमा पनि राष्ट्र बैंकले निजी क्षेत्रतर्फको कर्जा विस्तार ११.५ प्रतिशत लक्ष्य तोकेको छ,’ उनले भने ‘सोही कर्जा विस्तार गर्न सकियो भने पनि राम्रो मान्नु पर्छ ।’ पहिला लागनी योग्य पुँजी कम हुँदा कर्जा दिन सकिएन पछि महँगो भयो भनेर कर्जा गएन, तर कोभिड अगाडिको भन्दा कर्जा महँगो भएको होइन । कर्जाको ब्याज थोरैमात्र बढेको हो । कोभिडको बेला कर्जा प्रवाह नहुँदा ब्याज सस्तो थियो । त्यसको रेसियो बढी देखिएपनि १३/१४ प्रतिशतको ब्याजलाई महँगो मान्न नहुने अध्यक्ष केसीले बताएका छन ् ।

बढेको ब्याजदरमा कर्जा लिन उद्यमी व्यवसायी तयार भएनन् । त्यसो त बैकर्सहरूले पनि पुरानो कर्जा नउठेपछि नयाँ कर्जा विस्तार गर्न त्यति चासो देखाएनन् । सानो तिनो कर्जा गएपनि ठूलो भोलुममा कर्जा नजाँदा पहिल्लो महिनामा कर्जा नगन्यमात्रमा विस्तार भयो । अहिले बैंकमा लागनी योग्य रकम थुप्रिएर बसेको छ । तर, कर्जा विस्तार सोचे जसरी हुन सकेको छैन । गत आर्थिक वर्षमा १ खर्ब ६५ अर्ब रुपैयाँमात्रै कर्जा विस्तार भएको छ ।

५ वर्षमा बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा प्रवाहको तथ्यांकलाई हेर्दा गत आवकोभन्दा २०७८/०७९ लाई राम्रो मान्नुपर्ने भएपनि राष्ट्र बैंकले लिएको लक्ष्यभन्दा एक तिहाईले कम कर्जा प्रवाह भएको छ । सो आवमा राष्ट्र बैंकले निजी क्षेत्रतर्फको कर्जा विस्तार १९ प्रतिशत लक्ष्य राखेपनि सो आवमा जम्मा १२.९१ प्रतिशतमात्रै कर्जा प्रवाह भएको छ । सो आवमा ५ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा विस्तार भएको थियो ।

समीक्षा अवधिमा सबैभन्दा बढी कर्जा प्रवाह आर्थिक वर्ष २०७७/०७८ मा भएको छ । सो आवमा कर्जा प्रवाह २७.५५ प्रतिशतले बढेको थियो । जबकि नेपाल राष्ट्र बैंकले उक्त आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा विस्तार २० प्रतिशतमा सीमिति गर्ने लक्ष्य तय गरिएको थियो । सो आवमात्रै ९ खर्ब २ अर्ब कर्जा प्रवाह भएको छ ।

आव २०७६/०७७ पनि कर्जा प्रवाहको लागि त्यति नराम्रो भएन । उक्त वर्ष प्रवाह भएको कर्जा राम्रो नै मान्नु पर्ने हुन्छ । उक्त आवमा १२.३१ प्रतिशतले कर्जा विस्तार भएको छ । यो भनेको सो आवभरि ३ खर्ब ५९ अर्ब कर्जा भएको भन्ने हो । राष्ट्र बैंकले भने सो आवमा २१ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको थियो ।

त्यसपछिका वर्ष भने कर्जा प्रवाहको लागि राम्रो नै मान्नु पर्छ । आव २०७५/०७६ र २०७४/०७४ मा राष्ट्र बैंकले २०÷२० प्रतिशतको कर्जा विस्तार लक्ष्य राखेको थियो । बैंक तथा वित्तीय संस्थाले पनि आव २०७५/०७६ मा २०.२६ र त्यसको अघिल्लो आवमा २३.१८ प्रतिशतले कर्जा विस्तार गरेका छन् । सो आवमा भएको कर्जा विस्तार भने ४ खर्ब ९१ अर्ब र ४ खर्ब ५६ अर्ब कर्जा विस्तार भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स