‘बनवरीलाल मित्तल एक प्रेरणा पुरुष’ स्मृतिग्रन्थ सार्वजनिक

काठमाडौं । वरिष्ठ उद्योगपति एवम् समाजसेवी बनवरीलाल मित्तलको स्मृतिग्रन्थ ‘बनवरीलाल मित्तल एक प्रेरणा पुरुष’ सार्वजनिक भएको छ । श्री एयरलाइन्सका संस्थापक अध्यक्षसमेत रहेका मित्तलको जीवनीमा आधारित स्मृतिग्रन्थको आज एक कार्यक्रमकाबीच मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकार्पण गरे ।

मित्तलको स्मृतिमा बनवरीलाल स्मृतिग्रन्थ प्रकाशन समितिले प्रकाशनमा ल्याएको उक्त ग्रन्थमा ख्यातिप्राप्त विभिन्न व्यक्तित्वहरुको एक सय ४७ वटा लेख समेटिएको छ । ती लेखमा राजनीतिज्ञदेखि उद्योगपति, विभिन्न पेसा र व्यवसायमा आबद्ध विशिष्ट व्यक्तिले मित्तलको व्यक्तित्व र जीवनसँग जोडिएका विषय स्मृतिग्रन्थमा समावेश गरिएको छ ।
साहु हनुमानप्रसादका छोरा बनवरीलाल मित्तलको विसं १९९२ चैत १० गते जन्मेका हुन् ।

उनको विसं २०७२ मंसिर ९ गते निधन भएको थियो । उद्यमशीलताका बुहविधाबाट मित्तलको व्यावसायिक जीवन प्रारम्भ भएको थियो । उनले निर्माण व्यवसाय, पूर्वाधार विकास, व्यवसायका अतिरिक्त पश्मिना, गलैँचा, तयारी पोसाक, चिया खेतीको उद्यमतालाई विदेश निर्यात गरेका थिए । ६४ वर्षको उमेमा र श्री एयरलाइन्सको स्थापना गरी हवाई सेवा उद्योगमा पनि मित्तलले उल्लेखनीय योगदान गरेका छन् ।

सो अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा बनवरीलाल मित्तलको उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै उनको जीवन र तत्कालीन परिवेशलाई संग्रहित ग्रन्थ उपयोगी हुने बताए ।

उनले मित्तलजस्तो बहुआयामिक व्यक्तित्वका बारेमा समेटिएको ग्रन्थले समाजलाई नयाँ आयाम दिने विश्वास व्यक्त गरे । नेपालको इतिहासको कुनै कालखण्डमा पारिवारिक विरासत कायम गरेको मित्तल परिवारले उद्यमशीलताको प्रवद्र्धन, सामाजिक कार्य र धार्मिक चेतना अभिवृद्धिमासमेत महत्त्वपूर्ण योगदान रहेको उनले स्मरण गरे ।

संस्कारयुक्त शिक्षा नै समाज रुपान्तरणको आधार हो भन्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले मित्तल परिवारको कुशल अभिभावकीय, शिक्षा र संस्कार समाजका लागि प्रेरणादायी भएको उल्लेख गरे । ‘बनवरीलाल मित्तलमा प्रष्ट विचार, उपयुक्त दृष्टिकोण र अध्यात्मिक चरित्र थियो जसले समयको महत्व बुझ्ने र जीवनलाई सधैँ सक्रिय बनाइराख्नुभयो उहाँबाट समाजले धेरै कुरा अनुशरण गर्नसक्नुपर्छ,’ उनले भने ।

उनले देशमा पलायन भइरहेको युवाशक्तिलाई रोक्न र स्वरोजगारी बनाउन अशल, सुसंस्कारयुक्त शिक्षा र चेतना आजको अपरिहार्य भएको बताए । स्मृतिग्रन्थको समीक्षा गर्दै डा. गोविन्द टण्डनले मित्तलको जीवनीसँग जोडिएका तत्कालीन परिवेशका जीवन्त तस्विर स्मृतिग्रन्थमा भेटिने भन्दै यो कालजयी कृतिको रुपमा आएको विश्वास व्यक्त गरे । एक अशल अभिभाव भएर कसरी घरपरिवार मात्रै हैन देश समाजलाई योगदान दिनसक्छ भन्ने सन्देश ग्रन्थले लिएको उनले उल्लेख गरे ।

अर्का समीक्षक प्राध्यापक शिवगोपाल रिजालले मित्तल बहुआयामिक व्यक्तित्व भएको र उनले आर्थिक, सामाजिक र सांस्कृति क्षेत्रमा अनुललिनय योगदान गरेको उल्लेख गरे ।

उद्यमी एवं साहित्यकार वसन्त चौधरीले बनवरीलाल मित्तलको नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको बताए । बनवरीलाल स्मृतिग्रन्थ प्रकाशन समितिका संयोजक एमडी अग्रवालले उद्यमी, परोपकारी, समाजसेवी, पर्यटन अभियान्ता, धार्मिक तथा सांस्कृतिक समाज सुधारका रुपमा परिचित मित्तलको नेपालको आर्थिक, धार्मिक र सामाजिक क्षेत्रमा प्रभावशाली भूमिका रहेको उल्लेख गरे ।

श्री एयरलाइन्सका कार्यकारी अध्यक्ष सुधीर मित्तलले बनवरीलाल मित्तल कुशल अभिभावक, सफल उद्यमी, सामाजिक र धार्मिक व्यक्तित्व रहेको र उनको प्रेरणाबाट उद्योग व्यवसायलाई निरन्तर अघि बढाइएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स