यस्तो आयो मौद्रिक नीतिका लागि संसदहरूबाट सुझाव, कसले के भने ?

अर्थमन्त्री र आफ्नो सम्बन्धमा कुनै समस्या नरहेको दाबी गभर्नर अधिकारीको दावी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी साता ल्याउन लागेको मौद्रिक नीतिका प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर तथा अन्य उच्च पदाधिकारीलाई बोलाएर सुझाव दिएको छ ।

अर्थ समितिको बिहीबारको बैठकमा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक अवस्था सुहाउँदो मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताएका छन् । अहिले कसिलो कि लचिलो मौद्रिक नीति लिने भन्ने विषय महत्त्वपूर्ण नरहेको उनले बताए । ‘मौद्रिक नीति रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने क्षेत्रमा लगानी गर्ने खालको हुनुपर्ने बताए । बैठकमा उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच हार्दिक र जीवन्त सम्बन्ध हुन आवश्यक रहेको पनि बताए ।

अहिले खराब कर्जा र कालोसूचीमा पर्ने क्रम बढेको भन्दै पौडेलले यसमा ध्यान दिन आवश्यक रहेको उनले औल्याए । ‘शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने विषय राम्रो भए पनि यसले श्रम शक्ति रोक्ने हुँदा त्यसमा ध्यान दिनुपर्छ,’ उनले भने ।
सांसद दिपक खडकाले मुलुकलाई राष्ट्र बैंकले आर्थिक दुर्घटनाबाट रोकेको तर्क गरे । ‘कोरोनापछि राष्ट्र बैंकले राहत दियो, अहिले त्यो राहतले थेगेन, त्यही भएर सटर बन्द भए, आत्महत्या भए,’ उनले भने, ‘अब यसलाई कम गर्ने नीति लिन जरुरी छ, विपत्तिका बेला राष्ट्र बैंकले लिने नीति सकारात्मक हुनुपर्छ ।’

सांसद पदम गिरिले घरजग्गामा लगानी गरेका सहकारी अहिले डुबेको भन्दै अब त्यसको असर बैंकमा पर्ने बताए । पूर्णबहादुर तामाङले बैंकले तीन महिनामा ब्याज नतिरे ब्याजलाई सावामा परिणत गरेर ठग्ने गरेको आरोप लगाए । सांसद भगवती चौधरीले सहकारीको समस्या जटिल भएको बताइन् । उनले राष्ट्रिय लघुबित्त नीतिको पनि आवश्यकता औंल्याइन् ।

अर्थ समितिको बैठकमा सांसद विराजभक्त श्रेष्ठले क्रेडिट डिमाण्ड बढाउने नीति लिन आवश्यक रहेको धारणा राखे । मौद्रिक नीति उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुन नसकेको श्रेष्ठले टिप्पणी गरे । ‘तीन खम्बे अर्थ नीतिमा सहकारी पनि पर्छ, त्यसकारण सहकारीलाई राष्ट्र बैंकले नियमन गर्नुपर्छ,’ उनले भने ‘राष्ट्र बैंकले वित्तीय साक्षरतातर्फ पनि ध्यान दिनुपर्छ ।’ घरजग्गामा बढी लगानी गरेका कारण बैंक स्वयम् कर्जा उठाउन नसक्ने अवस्थामा पुगेको उनले औल्याए ।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री र आफ्नो सम्बन्धमा कुनै समस्या नरहेको दाबी गरेका छन् । अर्थ समिति बैठकमा सांसद्हरुले अर्थमन्त्री र गभर्नरको सम्बन्धबारे प्रश्न गरेपछि गभर्नर अधिकारीले आफूहरुको सम्बन्धमा कुनै समस्या नरहेको दाबी गरेका हुन् । सो बैठकमा उनले आफू कर्मचारी भएकाले राजनीतिसँग नजोड्न आग्रह गरे । उनले राजनीतिक आस्थाका आधारमा धारणा बनाउन नहुनेमा जोड दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स