महत्वपूर्ण आयोजनामा बजेट विनियोजन नभएको भन्दै लुम्बिनी प्रदेशमा एमाले सांसदले च्याते बजेट पुस्तिका

काठमाडौं । महत्वपूर्ण आयोजनामा बजेट विनियोजन नभएको भन्दै लुम्बिनी प्रदेशमा एमाले सांसद बजेट पुस्तिका च्यातेका छन् । एमाले संसदीय दलका प्रमुख सचेतक तुलसी चौधरीले हिजो मंगलबार बजेट पुस्तिका च्यातेर प्रदेश सभा बैठक बहिस्कार गरेका हुन् ।

राजनीतिक पूर्वाग्रहका आधारमा क्रमागत योजनामा बजेट कटौती गरेको र निर्देशनालय खारेज गरेको भन्दै लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले) ले बजेटमाथिको छलफल बहिस्कार गरेर बाहिरिएका हुन् । मंगलबार आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमाथि छलफलका लागि बोलाइएको बैठक एमालेले बहिस्कार गरेको हो ।

संसदबाट बाहिरिएसँगै एमाले प्रदेश सभा संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी निर्देशनालय खारेजी फिर्ता र क्रमागत योजनामा बजेट नराखेसम्म विरोध जारी रहने बताएका छन् । विगतमा सरकारले सञ्चालन गरेका बहुवर्षीय तथा गौरवका योजनाहरुलाई अलपत्र पार्ने उद्देश्यका साथ अति न्यून बजेट विनियोजन गरेको पनि एमाल संसदहरूको आरोप छ ।

संसदीय दलका नेता लिला गिरीले विज्ञप्ति जारी गर्दै सरकारले महत्वपूर्ण आयोजनामा बजेट विनियोजन नगर्ने तर मुख्यमन्त्री कार्यालयमा तालिम, गोष्ठी शीर्षकमा अनावश्यक बजेट राखेको उल्लेख गरिएको छ ।

‘विगत सरकारले सञ्चालन गरेका बहुवर्षीय तथा गौरवका योजनाहरुलाई अलपत्र पार्ने उद्देश्यका साथ अति न्यून बजेट विनियोजन गर्ने सरकारको गलत प्रवृत्तिको विरोध गर्दछौं’, गिरीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘सरकारको ध्यान विकास निर्माण र जनताका जनजीविकालाई सहज बनाउने सवालमा होइन, जनताको पसिनाद्वारा उठाइएको राजस्वको आफू र आफ्ना कार्यकर्ता पोस्न र बेथिति निम्त्याउनमा उद्दत देखिएको छ’, गिरीले भनेका छन्, ‘तसर्थ सरकारका यस्ता संघीयतालाई कमजोर बनाउने, बेथिति निम्त्याउने, आर्थिक दुरुपयोग गर्ने जस्ता हर्कतप्रति नेकपा एमाले जस्तो जिम्मेवार पार्टी टुलुटुलु हेरेर बस्न सक्दैन।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स