बलेवा । बजेट अभावले धवलागिरि अस्पतालमा निर्माण शुरु भएको शिशु सघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखि चार सातासम्मका बालबालिकाका लागि स्थापना गर्न थालिएको शिशु सघन उपचारकक्ष (एनआइसीयू) निर्माणले बजेट अभावका कारण गति लिन नसकेको हो ।
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा उक्त कक्ष निर्माणका लागि रु ६० लाख उपलब्ध गराएको थियो । रु तीन करोडको आश्वासन पाएको अस्पतालले उक्त कक्ष निर्माणको काम थालेको थियो । विनियोजित बजेटले एनआइसीयूका लागि आवश्यक उपकरणलगायतका व्यवस्थापन अपुग भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले बताए ।
हामी अत्यावश्यक परेमा अहिलेसम्म निर्माण भएको संरचनाबाट उपचार गरिरहेका छौँ, तर आवश्यक सबै पूर्वाधार र उपकरण तयार गर्न बजेटको अभाव छ, पोखरेलले भने, छिमेकी जिल्लाका अस्पतालले रु तीन करोड पाउँदा धवलागिरिले रु ६० लाखमात्रै पाएको विषयमा खोजी भइरहेको छ ।
कुनै समय सिफारिस केन्द्रका रूपमा परिचित धवलागिरि अस्पतालले बागलुङमा दुई वर्षयता संरचना र जनशक्तिको प्रयोग गरेर सेवा दिने अस्पतालका रूपमा विकास गरिरहेको छ । एक वर्षअघि यस अस्पतालमा तीन शय्याको सघन उपचारकक्ष स्थापना भएको थियो ।
अस्पतालमा तत्काल एनआइसीयू स्थापना भए नवजात शिशुको सुरक्षित उपचार हुने भएकाले काठमाडौँ तथा पोखरा धाइरहनुपर्ने बाध्यता अन्त्य हुने अस्पताल विकास समितिका अध्यक्ष केवी रानाले बताए । हामी काम गर्न तयार छौँ र गरिरहेका छौँ, सरकार आश्वासन दिन्छ बजेट दिँदैन, रानाले भने, धवलागिरि अस्पतालमा सबै क्षेत्रको सहयोग र समर्थन भए अस्पताल सक्षम अस्पतालका रूपमा विकास हुन्छ ।
एनआइसीयू बनेमा चार सातासम्मका बालबालिकाको सुरक्षित उपचार हुने अस्पतालका बालरोग विशेषज्ञ प्रकाश थापाले बताए। अस्पतालले आपत्कालीन प्रयोगका लागि भेन्टिलेटर राखेर उक्त कक्ष सञ्चालनमा भने ल्याएको छ । बाढीपहिराका कारण सडक अवरुद्ध भएर काठमाडौं, पोखरा पुग्न नसक्दा बिनाउपकरण पनि चिकित्सक र स्वास्थ्यकर्मीले एनआइसीयू कक्ष सञ्चालन गरेर उपचार गरेका थिए । आपत्कालीन सञ्चालनका लागि समेत जनशक्तिको अभाव छ । सिकिस्त भएका, ज्वरो बढी आएका, दूध चुस्न नसक्ने, श्वास फेर्न गाह्रो भएका नवजात शिशुलाई एनआइसीयूमा नै राखेर उपचार गर्नुपर्ने डा. पोखरेलले बताए ।