सुन पनि पुँजीगत लाभकरको दायरामा आउनु पर्छ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनमा पनि पुँजीगत लाभकर लगाउनु पर्ने बताएका छन् । सुनमा गरिएको लगानीबाट पनि अन्य कमोढिटीमा जस्तै अतिरिक्त मूल्य प्राप्त हुने गरेकोले यसमा पनि पुँजीगत लाभकर लाग्नु पर्ने धारणा उनले राखेको हुन् ।

सामान्यतया कुनै पनि वस्तु वा सम्पत्तिको मूल्य बढेर बिक्री गर्दा प्राप्त हुने अतिरिक्त मूल्य पुँजीगत आम्दानी हो । सेयरलगायत घरजग्गा तथा अन्य सम्पत्तिको बिक्रीबाट हुने अतिरिक्त मूल्यमा पुँजीगत लाभकर लाग्ने र सुनमा यो कर नलाग्ने किन ? उनले प्रतिप्रश्न गरे ।

‘यदि सुन बिक्री गर्दा आफूले तिरेको मूल्यभन्दा अतिरिक्त मूल्य आउँछ भने बिक्री गर्दाको अवस्थामा पुँजीगत लाभकर लगाउनु पर्छ,’ उनले भने ‘घरमै रहँदा यो लाग्दैन तर बिक्री गर्दाको अवस्थमा भने कर लगाउनु सरकारको राजस्वमा समेत टेवा पुग्ने उनको भनाइ छ ।

सुनलाई तरल सम्पत्तिको रुपमा विश्वभरीनै मान्यता दिइएको छ । सुन यस्तो सम्पत्ति हो जसको मूल्य कहिले घट्दैन केही समय तलमाथि भएपनि फेरि उकालो लाग्छ । सुनमा लगानी गर्ने लगानीकर्ताले जहिले पनि फाइदा नै लिइरहेका हुन्छन् । ५० हजार प्रतितोलामा किनेको सुन ९० हजारमा बिक्री गर्दा पनि यसमा कर लाग्दैन ।

क्रेताले सो सुन खरिद गर्दाको मूल्य र अहिले बिक्री गर्दाको मूल्य करिब डब्बल भएको अवस्था छ । यसबाट खरिदकर्तालाई अतिरिक्त आम्दानी पनि भएको छ । सो कारण यसरी भएको अतिरिक्त आम्दानीमा कर लगाउनु पर्ने सुनचाँदी महासंले सरकारलाई सुझाव पनि दिएको छ ।

हुकुमी शासनमा सुन बजार

महासंघले वर्षौदेखि सुन बजार हुकुमी शासनमा चलेको नेपाल सुनचाँदी व्यावसायीहरूले बताएका छन् । अहिलेसम्म सुनको कारोबार गर्ने कुनै कानुन नबनेको भन्दै सुन बजार हुकुमी शासनबाट सञ्चालन हुँदै आएको उनीहरूले बताएका हुन् ।

‘सुन व्यवसायसम्बन्धी कानुनै छैन,’ उनले भने ‘सुन कारोबार सम्बन्धी अहिलेसम्म कुनै ऐन नबन्दा हामीले गरेको व्यावसाय वैधानिक हो कि अवैधानिक त्यो छुट्याउन गाह्रो भएको छ ।’ सरकारले यो व्यवसाय सञ्चालन सम्बन्धि ऐन बनाएर व्यवसायलाई सदाको लागि व्यवस्थित गर्नुपर्ने उनले बताए । सरकारले यो व्यवसाय सञ्चालनलाई पनि नोटिसमा राखेर यसलाई व्यवस्थित गर्र्नेतर्फ लाग्नु पर्ने उनले बताए ।

यसैबीच महासंघले केन्द्र सरकारमात्रै होइन प्रदेश सरकारलाई समेत सुन कारोबार गर्ने सम्बन्धी कानुन नभएको र पुँजीगत लाभकरका विषयमा समेत अवगत गराएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स