डा.रेवतवहादुर कार्कीद्वारा लिखित ‘नेपालको अर्थतन्त्रका आयामहरु’ पुस्तक बजारमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा.रेवतवहादुर कार्कीद्वारा लिखित ‘नेपालको अर्थतन्त्रका आयामहरु’ नामक पुस्तक आज शनिबार एक कार्यक्रमकाबीच विमोचन भएको छ । पूर्व अर्थमन्त्री डा.रामशरण महतले उक्त पुस्तकको विमोचन गरेका हुन् । मुलुकको अर्थतन्त्रको वास्तविक, सार्वजनिक, वित्तीय र वाह्य सबै क्षेत्रलाई समेटेर तयार पारिएको उक्त पुस्तकमा सूचनामूलक सामग्री, व्याख्या, विश्लेषण र सुझावहरू समेटिएका छन् ।

पुस्तक विमोचनको अवसरमा डा.महतले नेपाली अर्थतन्त्रका हरेक पक्ष पुस्तकमा समेटिएकोले अर्थतन्त्रका बारेमा चासो राख्ने सबैका लागि उपयोगी हुने बताए । सो कार्यक्रममा डा.महतले उद्धार आर्थिक नीतिप्रति सर्वदलीय सहमति भै सुशासनको आधारमा व्यवसायिक मर्यादाभित्र रहेर क्षमता वृद्धि गर्न सके मुलुकले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न सक्ने बताए । ‘यसले दिगो आर्थिक विकासलाई सहयोग पुर्याउँछ,’ उनले भने ।

सो कार्यक्रममा वरिष्ठ अर्थशास्त्री प्राडा.विश्वम्भर प्याकुरेलले नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको समालोचनात्मक प्रस्तुति गर्दै भूपरिवेष्ठितपन, क्षेत्रगत उपलब्धिको विवेचना, आर्थिक र शासकीय नीतिमा आएको परिवर्तन र तिनका प्रभावका विविध पक्षको समालोचना हिसावले लेखिएको पुस्तक अर्थतन्त्र मिर्माण लागि उपयोगी हुने बताए । ‘पुस्तकको महत्व यस कारणले पनि बढेको छ,’ उनले भने ‘पुस्तकमा विश्वको वर्तमान चिन्ता र नेपालको अवस्थाको सही चित्रण व्यावसायिकतापूर्ण ढंगबाट व्याख्या गरिएको छ ।’

प्रा.डा.प्याकुरेलले कोभिड–१९ को महामारीको कारण अहिले हामी सामु व्यक्तिको जीवन रक्षा र घाइते अर्थतन्त्रको उपचार तथा पुनरुत्थान प्रमुख समस्याको रूपमा देखापरेको पनि बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगको पूर्व सदस्य तथा अर्थशास्त्री डा.चन्द्रमणि अधिकारीले कितावको वारेमा टिप्पणी गरे ।

के के समेटिका छन् पुस्तकमा डा. कार्कीको शब्दमा

सो अवसरमा डा.कार्कीले विगत ४० वर्षदेखि नेपाल तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा आर्थिक, बैकिंङ/मौद्रिक, पुँजीवजार र वाह्य क्षेत्र/आयामसम्वन्धी काम गर्दाको अनुभवको आधारमा आफूले बुझेको नेपालको अर्थतन्त्र र यसका विभिन्न पक्षहरुको बारेमा विश्लेषण गर्ने जमर्को गरेको बताए ।

पुस्तकमा अर्थतन्त्रका ४ वटा मुख्य पाटो मानिने वास्तविक क्षेत्र, सार्वजनिक/सरकारी वित्त, वित्तीय (मौद्रिक र पूजीवजार)क्षेत्र र बाह्य/वैदेशिक व्यापार तथा भुक्तानी गरी ४ आयामका बारेमा चर्चा गरिएको छ ।

पहिलो खण्ड: नेपालको अर्थतन्त्र

परिचयात्मक खण्ड अन्तर्गत नेपालको अर्थतन्त्र तथा यसका प्रमुख विषयवस्तुहरु र अर्थतन्त्रको झलकसहित नेपालको अर्थतन्त्रका समष्टिगत समस्या र चुनौतीहरुलाई संक्षिप्तरुपमा उल्लेख गरिएको छ ।

पुस्तकको प्रथम खण्डमा अर्थतन्त्रको वास्तविक क्षेत्र/आयामको परिचय, विशेषता, चुनौती, अवस्थाको झलक, राष्ट्रिय लेखा तथा तथ्यांकको विश्वसनियता आदि पक्षका बारेमा विभिन्न पाटोबाट चर्चा गरिएको छ ।

त्यस्तै माग तथा आपूर्ति पक्ष, वास्तविक क्षेत्रको वर्तमान अवस्था, महामारीबाट परेको प्रभाव र यसबाट फुत्किने उपायका साथै सम्पूर्ण नेपालीले चाहेको आफ्नै जीवनकालमा देखिने समृद्धिका लागि आवश्यक पर्ने उपायहरुका बारेमा पनि पुस्तकमा सकारात्मक छलफल र व्यवहारिक उपायहरुको प्रस्ताव गरिएको छ ।

नेपालले आगामी वर्षका विभिन्न चरणमा समृद्धिका निश्चित उपलब्धिहरु हासिल गर्नका लागि दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्नुपर्ने र त्यसका लागि अपनाउनुपर्ने विभिन्न नीतिगत व्यवहारिक उपायहरु र कार्यान्वयनका लागि आवश्यक पर्ने आँट र साहसका बारेमा पनि यस खण्डमा उल्लेख गरिएको छ ।

साथै यस खण्डमा राज्यले आफ्ना अशक्त, वृद्धवृद्धा, एकल महिला, अपाङ्ग, सामाजिकरुपले संवेदनशील नागरिकलाई सामाजिक सुरक्षा छातामा ल्याई लक्षित वर्गलाई नछुटाउने र दोहोरो तेहरो सुविधा पाएकाहरुलाई अलग गर्ने भन्ने विषयहरु समेटिएका छन् ।

दोस्रो खण्ड : नीतिगत सुधार सहितको सरकारी वित्त

यस खण्डमा सरकारले प्रत्यक्षरुपमा नीतिगत हस्तक्षेप गरी सुधार र परिवर्तन ल्याउने सरकारी वित्तका बारेमा चर्चा गरिएको छ । परिचयदेखि हालको वित्त अवस्था, यस क्षेत्रका प्रमुख समस्या, चुनौती, सुधार गर्नुपर्ने पक्ष, विभिन्न पक्षका प्रवृत्तिहरु, परिवर्तन ल्याउने मुख्य बजेट तथा वित्त नीति, बजेटमा प्रस्तावित विभिन्न नीति तथा तिनको उपलब्धि र अन्य पक्षका बारेमा समीक्षात्मक टिप्पणीहरु समेटिएका छन् ।

तेस्रो खण्ड  : वित्तीय आयाम

पुस्तकको तेस्रो खण्डमा अर्थतन्त्रका वित्तीय आयामका बारेमा उल्लेख गरिएको छ । यस खण्डलाई बैकिङ/मौद्रिक आयाम र पूजीवजारका वारेमा केन्द्रित गरिएको छ । बैकिङ/मौद्रिक परिचय, दक्षिण एशियामा नेपालको बैकिङक्षेत्र, बैकिङ/मौद्रिक क्षेत्रका प्रमुख विशेषताहरु, बैकिङ/मौद्रिक आयामका झलक बैकिङ /मौद्रिक आयामका प्रमुख चुनौतीहरु आदिका बारेमा चर्चा गरिएको छ ।

यसैगरी उदारिकृत वित्तीय प्रणालीमा आगामी मौद्रिक नीति कस्तो हुनुपर्ने नियन्त्रणमुखीवाट अझ थप उदारीकरणतर्फ जानुपर्ने आवश्यकता नेपालमा बैकिङ /वित्तीय क्षेत्रको सुधार, उपलव्धि तथा चुनौतीहरु, बैकिङ/वित्तीय क्षेत्रमा प्रभाव पार्ने नेपाल राष्ट्र बैकका पछिल्लो समयका कामकारवाहीहरुको मूल्यांकन समेटिएको छ ।

कोरोनाभाइरस, नेपाली अर्थतन्त्र र लघुवित्त, वित्तीय क्षेत्रका दशा र दिशा, न्यून लगानी र उच्च तरलताबीच संकुचनकारी नीतिका प्रभाव र असरहरुका बारेमा विश्लेषणात्मक ढंगले केलाउने प्रयास गरिएको छ । साथै बैकिङ/वित्तीय क्षेत्रका वर्तमान प्रवृत्ति, समस्या तथा चुनौतीहरु र वित्तीय सुपरिवेक्षण प्राधिकरणको आवश्यकताका बारेमा पनि यस खण्डमा चर्चा गरिएको छ ।

त्यस्तै नेपालको पूँजीबजार निजीक्षेत्रलाई पुँजी संकलन गर्ने र सेयर, ऋणपत्र लगायत अन्य पुँजी बजारका उपकरणहरुलाई चाहेको बखत खरिद विक्री गर्ने प्रभावकारी माध्यमको रुपमा विकास गरिएको छ ।

यस क्षेत्रका समस्या, प्रवृत्ति, वर्तमान अवस्था, यस क्षेत्रमा गर्नुपर्ने सुधारहरु, अर्को निजी क्षेत्रमा स्टकएक्स्चेंज ल्याई बजारको प्लेटफर्मलाई अझ प्रतिस्पर्धी बनाउनु पर्ने, नियमन निकाय र बजारसहभागीहरुको क्षमता विकास गरी वजारलाई अन्तराष्ट्रियकरण लैजाने विषयहरु पनि यस खण्डमा समेटिएका छन् ।

चौथो खण्ड  : बाह्य तथा वैदेशिक व्यापार र भुक्तानी

अर्थतन्त्रको अर्को महत्वपूर्ण पाटो हो, बाह्य तथा वैदेशिक व्यापार र भुक्तानी । पुस्तकको चौथो खण्डमा बाह्य÷वैदेशिक वैदेशिक व्यापार तथा भुक्तानी आयामको परिचय,बाह्य आयामको संरचना र महत्वपूर्ण पक्षहरु समावेश गरिएको छ ।

वैदेशिक व्यापार तथा भुक्तानी क्षेत्रका प्रमुख विशेषताहरु, वैदेशिक व्यापार तथा भुक्तानी क्षेत्र एक झलक, वैदेशिक व्यापार तथा भुक्तानी क्षेत्रका मुख्य चुनौतीहरु, नेपालमा वैदेशिक लगानीः वाधक तत्वहरु र समाधानका उपायहरु, नेपाली अर्थतन्त्रको लयसँगै वाह्य क्षेत्रको स्थितिको पनि समीक्षा विश्लेषण गरिएको छ ।

त्यसैगरी नेपालमा वैदिशक लगानी, वैदेशिक ऋण र वाह्य जगतमा वस्तु तथा सेवा निर्यात वढाउन देशको शाख के्रडिटको अपरिहार्यतावारे पनि व्याख्या गर्दै विण्डफल शोधनान्तर वचतमा लिनुपर्ने सावधानीका बारेमा पनि चर्चा र विश्लेषण गरिएको छ ।

सो पुस्तकलाई हाइडेल प्रेसले प्रकाशित गरेको हो भनेै एम.के. डिष्ट्रिव्युटर्सले बिक्री वितरणको प्रवन्ध गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स