काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले अहिलेको आर्थिक संकट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गरेका छन् ।
समस्या समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकतामा सहकार्य गर्न उनले आग्रह गरे ।
नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगरलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारबीच दिगो विकासका लक्ष्य प्राप्ति र अतिकम विकसित मुलुकबाट स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि मिलेर काम गर्ने विषयमा छलफल भएको महासंघले जनाएको छ ।
साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनवटै तहका सरकारसँगको सहकार्यलगायतका विषयमा सहकार्य गर्नेबारे पनि छलफल भएको थियो ।
अध्यक्ष ढकालले महासंघको मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना भएकाले दिगो विकासका लक्ष्य पूरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताए ।
आवासीय संयोजक हाना सिंगरले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्वका साथ लिएको बताए । उनले दिगो विकासका लक्ष्य र स्तरोन्नतिका विषयमा विशेष चासोको राखेका थिए । दिगो विकासका लक्ष्य हासिलमा स्तरोन्नतिबाट पर्ने प्रभाव न्यूनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने उनको भनाइ छ ।
स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्र संघले सहकार्य गर्न सक्ने उनले बताए । औपचारिक भेटमा संयुक्त राष्ट्रसङ्घ नेपाल कार्यालय र महासंघ सचिवालयका अधिकारीहरुको उपस्थिति थियो ।