राष्ट्र बैंकले लिएको कडा नीतिका कारण अर्थतन्त्रमा समस्या आएको होः अर्थमन्त्री डा.महत

अर्थतन्त्र चलायमान बनाउन सरकारले सबै औजार प्रयोग गर्छ

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले कडाइ गर्दा अर्थतन्त्रमा समस्या आएको बताएका छन् । राष्ट्र बैंकले लिएको नीतिको कारण बजार संकूचनको अवस्थामा रहेकाले चलायमान बनाउनु पर्ने उनले बताए । ‘अब अर्थतन्त्रमा सुधार गर्नुपर्ने समय आएकाले बैंकको ब्याजदरमा बैंकहरुले पुनःविचार गर्ने र मौद्रिक औजारहरू प्रयोग गरी सेयर बजार अर्थतन्त्रलाई चलायमान बनाउनु पर्छ,’ उनले भने ।

अर्थमन्त्री डा. महतले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकारभित्र भएकाले सहज बनाउन सरकारले अनुरोध गरिरहेको पनि बताए । आफू अर्थमन्त्री भएर आएको एक महिना मात्र भएकाले तत्काल अर्थतन्त्रका सबै समस्या समाधान गर्छु भन्न नसक्ने बताए । सबैको सहयोगमा सकेसम्म अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सम्पूर्ण ध्यान केन्द्रित हुने प्रतिवद्धता उनले जनाए ।

डा.महतले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र र पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । डा.महतले छलफलका क्रममा उठेका विषयमाथि जवाफ दिदै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्न सरकारको प्रयास मात्र पर्याप्त नरहेको बताएका हुन् ।

‘अर्थतन्त्रमा देखिएको समस्या अहिलेको सरकारले वा अघिल्ला सरकारले मात्रै सिर्जना गरेको समस्या होइन । यो परिवेश कसरी विकास भयो र कहाँ–कहाँ सुधारको आवश्यकता छ भनेर हामीले सामूहिकरूपमा समाधानतर्फ जानुपर्छ, अर्थमन्त्री महतले भने । अहिलेको आवश्यकता भनेको अर्थतन्त्रलाई गति दिनका लागि सरकार र बाहिर बसेका सबै दलको साझा दृष्टिकोण बन्न जरुरी छ । त्यसमा हामी सहकार्य गरेर अगाडि बढ्नुपर्दछ ।’

अर्थतन्त्र सुधारका लागि सबै दल मिलेर साझा धारणामार्फत अघि बढ्नेबारे नेतृत्व तहमा छलफल अगाडि बढिरहेको पनि उनले बताए ।

मुलुकको अर्थतन्त्र सम्हाल्नै नसकिने गरी खराब अवस्थामा पुगिनसकेको पनि अर्थमन्त्री महतको दाबी छ । ‘अर्थतन्त्र एकदमै कहालीलाग्दो अवस्थामा होइन । हामी अर्थतन्त्रलाई सुधारतर्फ उन्मुख गराउन सक्छौँ । अहिले देखिएका समस्यालाई हल गर्न सक्छौँ । त्यसका लागि ठोस प्रतिबद्धता हामीसँग छ । अवश्य पनि समस्याका चाङ छन् । सबै समस्यालाई हटाउन केही समय लाग्छ । केही धैर्यको आवश्यकता पर्छ,’ उनले भने ।

विगत २ वर्षदेखि पुँजी बजार घटेको र लगानीकर्ताले खर्बौ बुझाएकोमा चिन्ता व्यक्त गर्दै उनले अर्थतन्त्र चलायमान बनाउन सरकारले थप काम गर्ने बताए ।

‘अर्थतन्त्रमा वाह्य दबाब बढ्दै जाँदा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कडाइ गर्दा बैंकको ब्याजदर वृद्धि, मूल्यवृद्धि,आयात प्रतिबन्द लगाउँदा अर्थतन्त्रमा समस्या आएको हो,’ उनले भने ।

बुधबार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले सरकारको पुँजीगत खर्च कम हुने प्रवृति यो वर्ष पनि कायम रहेकोमा चिन्ता व्यक्त गरे । दुई वटा निर्वाचनमा सरकारको ध्यान केन्द्रित भएको कारण पनि पुँजीगत खर्चमा समस्या भएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स