काठमाडौं । नेपाललाई मात्रै होइन पछिल्ला वर्षमा विश्वलाई नै ऋणको भारले थिचेको छ । अर्थतन्त्रमा ऋण भारका विषयमा गम्भिर छलफल हुन थालेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको यसै साता वासिङटनमा भएको ‘स्प्रिङ मिटिङ’ मा विश्वभर बढ्दो ऋण संकट गहिरिदै गएको विश्लेषण गरिएको छ ।
उक्त बैठकमा विशेष गरेर पोष्ट कोभिडपछि ऋणको बढ्दो भार र त्यसको पुनर्संरचनाको विषय प्रमुख एजेन्डा बनेको छ । यस विषयलाई जसरी उठान गर्नुपर्ने त्यो नभएको बताइएको छ ।
विश्वभरका टेक्नोक्रयाटहरू यतिबेला बौद्धिक ट्रयापमा परेको र उनीहरुले विश्व अर्थतन्त्रमा देखिएको यो ऋण भारको गम्भीर संकटका बारेमा नबोलेको आरोप स्प्रिङ मिटिङले लगाएको छ ।
आफ्नो अर्द्धवार्षिक वित्तीय मोनिटरमा अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२८ सम्म वैदेशिक ऋण र जीडीपीको अनुपात करिब शत प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण ऐतिहासिक रुपमै उच्च हो। यो अवस्था आउनुमा विश्वका ठूला पुँजीवादी राष्ट्रहरू चीन र अमेरिका जस्ता ऋणदाता मुलुकहरुलाई प्रमुख कारकका रूपमा बुझेको छ ।
अमेरिका र चीनले विश्वका गरिब तथा विकासोन्मुख देशहरूलाई दिइरहेको ऋणबाट विश्वका धेरै देशहरु प्रभावित भइरहेको बताइएको छ । ऋणको पुनर्संरचना गरेर न्यून आय भएका देशहरुलाई राहत दिनुपर्ने कुरा उठिरहेको छ । गत साता वासिङटनको स्प्रिङ मिटिङमा यसबारे विश्वले कुन बाटो लिनुपर्ला भन्ने विषयमा घनिभूत छलफल भएको छ ।
कोषको केन्द्रीय कार्यालय वासिङटनमा चीन, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकले यस बारेमा छलफल जारी नै राख्ने सम्झौता गरेपछि यसले आगामी बाटो तय गर्ने उल्लेख गरिएको छ ।
आईएमएफको अर्धवार्षिक वित्तीय सूचकांक हेर्दा विकसित देशका केन्द्रीय बैंकहरुले लिएको नीतिका कारण गरिब देशहरूले मुद्रास्फीतिको मूल्य कसरी चुकाइरहेका छन् भन्ने प्रष्ट हुन्छ ।
अमेरिकी फेड रिर्जभले तीव्र रूपमा बढाइरहेको ब्याजदरको मारमा परेर सेनेगल, गुयना बिसाउ, माली र चाडजस्ता देशहरुको ऋणको भार अत्यधिक बढेको देखिन्छ । महामारीको समयमा ऋण भुक्तानी स्थगित गरिनु सबैका लागि प्रिय निर्णय भए पनि अब ऋण भुक्तानी स्थगनको सम्भावना छैन भने त्यो ऋणले विश्व अर्थतन्त्रलाई नै थिचेको छ ।
अर्थशास्त्रीहरुले यहि ऋणको भार र त्यसको भुक्तानीको कारणले गर्दा अबको दशक ‘लस्ट डिकेड’का रुपमा रहने चेतावनी अर्थशास्त्रीहरूले दिएका छन् ।
गेभकल रिसर्चका अर्थशास्त्रीले हालै रिसर्च गरेको गेभकल नामक एक प्रतिवेदनमा सन् १९८० को दशकमा ल्याटिन अमेरिकाको ऋण संकटका बारेमा स्मरण गराएको छ । फेडले ब्याजदरमा उच्च वृद्धि गरेको ८ वर्षपछि त्यहाँ उक्त संकट आइलागेको थियो । हाल फेडले उसैगरी बढाइरहेको ब्याजदरका कारण भविष्यमा आउनसक्ने संकटतर्फ उक्त प्रतिवेदनले सूचित गरेको छ ।
अहिले विश्वभर भएको मूल्य वृद्धिका कारण भान्सा महँगिदै गएको छ । बैंकहरूको ब्याजदरमा भएको उच्च वृद्धिका कारण विश्वभर नै भान्सा महँगिएको हो ।
अमेरिकाको केन्द्रीय बैंक फेडले २ प्रतिशतभित्र सीमित राख्ने भने पनि मुद्रास्फीति लक्ष्यभन्दा दोब्बर बढेर उपभोक्तालाई मार परिरहेको देखिन्छ। गत महिनाकै तथ्यांकमा अमेरिकाको उपभोक्ता मूल्य सूचकांक ०.१ प्रतिशतले बढेको देखिएको छ ।
ऋणदाता देश भनेर चिनिने अमेरिकामै पनि त्यहाँका साना व्यवसायीहरु बढ्दो ब्यादरका कारण ऋण र त्यसले उत्पन्न गरेको ब्याजदर समस्यासँग जुधिरहेका छन् । नेसनल फेडरेसन अफ इन्डिपेन्डेन्ट बिजनेस एनएफआइबीका प्रमुख अर्थशास्त्री बिल डंकेलबर्गले भने–‘भविष्यमा आइपर्ने केही प्रमुख अनिश्चितताहरु देखिएका छन्, जसले बैंकिङ संकट अझ बढी गहिरिन सक्ने उनले संकेत गरेका छन् ।