सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने

काठमाडौं । सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने भएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग गरेको छलफल कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् ।

उनले सरकारले आगामी बजेट बनाउँदा साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने विषयमा प्राथमिकता दिने बताए । उनले सरकारले साधारण खर्च घटाउने सम्भावना कम भए पनि खर्च नगरे पनि हुने खालका कार्यक्रमको खर्चलाई कटौती गर्ने उल्लेख गरे ।

अर्थमन्त्री डा.महतले आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाहरुको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने बताए । उनले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको भन्दै पुँजीगत खर्च समयमा खर्च गर्ने प्रणालीको विकास गर्नु आवश्यक रहेको बताए ।

‘सरकारले साधारण खर्चमा अत्यधिक मितव्ययिता अपनाउनुपर्छ भन्ने पक्षमा छौँ । धेरै मागहरु आए पनि धेरै कम गर्न कोशिस गर्छौँ । साधारण खर्च कम गर्ने स्कोप अत्यन्त कम छ । सामाजिक सुरक्षा भत्ता लगायतको खर्च कम गर्न सम्भव कम छ । सरकारले खर्च नगरे पनि फरक नपर्ने क्षेत्रहरुमा मन्त्रालयले प्राथमिकताका साथ हेर्छौँ । अहिले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको छ ।’

उनले भने, ‘पूर्वाधार निर्माणका कार्य समयमा सम्पन्न नहुने, आयोजनाको कष्ट बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्तय गर्ने गरी सरकारले तयारी थालेको छ । सरकारको ध्यान पुँजीगत खर्च निश्चित समयमा खर्च गर्ने,समिति स्रोतलाई धेरै आयोजनामा खर्च नगर्ने रणनीति रहेको बताए ।

उनले भने, ‘पुँजीगत खर्च समयमा खर्च नहुनु, पूर्वाधार निर्माणका कार्य समयमा नहुनु, आयोजनाको कष्ट बढ्दै जाने र आयोजना महँगो हुन जाने परिस्थितिको अन्त्य गर्नको लागि पनि काम गर्न जरुरी छ । सरकारको ध्यान पुँजीगत खर्च निश्चित समयमा खर्च होस् ।’

त्यस्तै अर्थमन्त्री डा. महतले सरकारको राजस्व संकलनको अवस्था राम्रो नभएको बताए । उनले आयात प्रतिबन्ध, कोरोना महामारी, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशको असरले मुलुकको राजस्व संकलन लक्ष्यअनुसार संकलन राम्रो नभएको बताए ।
उनले भने, ‘अहिले सरकारको राजस्वको अवस्था राम्रो छैन । प्रत्येक वर्ष सरकारले जीडीपी तथा अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राख्दै आएका छौं । नजिक नजिकको लक्ष्य प्राप्त पनि गर्दै आएका छौं । चालु आर्थिक वर्षमा त्यो लक्ष्य प्राप्त नहुँदा के भयो भन्ने भएको छ । हेरक वर्ष बढी लक्ष्य राखे पनि करिब लक्ष्य प्राप्त गर्ने अवस्था सधै सहज हुँदैन । यो वर्ष आयात प्रतिबन्ध, कोरोना महामारीको अवस्था, भूकम्प र अन्तर्राष्ट्रिय परिवेशले पनि असर पारेको छ ।’

अर्थमन्त्री डा.महतले प्रत्येक वर्ष सरकारले जीडीपी र अर्थतन्त्रका अन्य सूचकभन्दा राजस्वको लक्ष्य बढी राखे पनि लक्ष्य प्राप्त हुँदै आएकोमा चालू आर्थिक वर्षमा लक्ष्य पूरा नहुने अवस्थामा रहेको बताए । अर्थमन्त्री डा. महतले आन्तरिक रुपमा लगानी वातावरणको समस्या, बैंकको ब्याजदर उच्च भएको कारण अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गरे । उनले मौद्रिक नीतिका उपकरणहरु प्रयोग गरी बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधान गरी लगानीको वातावरण बनाउने पक्षमा राष्ट्र बैंकसँग निरन्तर छलफल भइरहेको बताए ।

उनले भने, ‘हाम्रो अर्थतन्त्रको स्वरुप रहेको छ । विदेशबाट आयात गरिएका बस्तुको धेरै हिंसा छ । त्यसबाट मूल्य निर्धारण हुन्छ । त्यसैले मूल्य वृद्धि नियन्त्रणलाई नै मुख्य विषय वस्तु बनाउँदा मौद्रिक नीतिका उपकरण प्रयोग गरे पनि नहुन सक्छ । किनकि आयात बढी हुने भएकाले बाह्य मूल्यको प्रभाव हुँदैन । अहिलेको अवस्थालाई सरकारले कही मौद्रिक नीतिको उपकरण प्रयोग गरेर सहज बनाउन जरुरी छ । त्यसको लागि मन्त्रालयले राष्ट्र बैंकसँग पनि छलफल गरिरहेका छौँ ।’

उनले बैंकको कर्जाको ब्याजदर कम गर्न सक्ने अवस्था भए बैंकहरुले सहयोग गर्नु आवश्यक रहेको बताए । अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न मिडियाको महत्वपूर्ण भूमिका हुने भएकाले पत्रकारहरुले त्यहीअनुसार समाचार प्रवाह गर्न आवश्यक रहेको बताए ।

त्यस्तै अर्थसचिव तोयम रायले श्रम रोजगारको क्षेत्रमा रहेका सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयमा केन्द्रित रहेको बताए । उनले सरकार अब लामो समयसम्म सामाजिक सुरक्षा भत्ता दिनसक्ने अवस्था नभएको बताए । उनले सामाजिक सुरक्षा कोषमार्फत योगदानमा आधारित सामाजिक सुरक्षा कोष मार्फत पाउने व्यवस्थामा जान आवश्यक रहेको बताए । उनले सरकारले नाकामा हुने राजस्व चुहावट रोक्नको लागि सरकारले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बताए । नेपालमा खुल्ला सिमाना धेरै रहेकाले राजस्व चुहावट भइरहेको स्वीकार गर्दै उनले त्यसलाई नियन्त्रण गर्न सरकारको प्रयास रहेको बताए ।

आजको भेटमा नाफिजको तर्फबाट अध्यक्ष मोदनाथ ढकालले अर्थमन्त्री महतलाई सुझाव समेत दिएका छन्।

पत्रकारको क्षमता वृद्धिमा अर्थ मन्त्रालयले ध्यान दिनुपर्ने अध्यक्ष ढकालको भनाइ छ।

त्यस्तै मिडियाहरु महामारिका कारण मारमा परेको र त्यसमा हेर्न समेत उनले सुझावको क्रममा बताए। अहिलेको अर्थतन्त्र सम्हाल्न र आगामी बजेटमार्फत सुधारको योजनाहरु ल्याउन सुझाव प्रदान गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स