अर्थतन्त्र आतिनुपर्ने अवस्थामा छैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको बताएका छन् ।

अर्थ मन्त्रालयमा आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफलमा उनले अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे सजग रहेर सुधारको दिशामा अघि बढ्नुपर्ने खाँचो औंल्याए । उनले भने, ‘अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ । खर्च कम गरेर उत्पादनशील क्षेत्रमा लगाउने र जनतामा देखिएको नैराश्यलाई कम गर्न केही सुधारका काम गर्नु अपरिहार्य छ ।’

अर्थमन्त्री डा. महतले अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको उल्लेख गरे । उनले भने, ‘अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्च ‘मस्ट प्रोडक्टिभ’ क्षेत्रमा गर्ने योजना छ ।’ उनले आयात प्रतिबन्ध हुँदा विदेशबाट विभिन्न च्यानलबाट अवैधरूपमा मोबाइल फोन भित्रिँदा ३० देखि ३५ अर्ब राजस्व गुमेको उल्लेख गरे ।

पूर्वाधार, घरजग्गा कारोबारमा आएको मन्दी र बैंकको ब्याजदर बढेकाले व्यापारमा समस्या आएको उनको भनाइ थियो । विगतमा लक्ष्य बराबर राजस्व उठ्ने गरेको भए पनि यो वर्ष बजारमा माग नबढ्दा आयात बढ्न नसकेपछि लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको उनको भनाइ थियो ।

अर्थ सचिव तोयम रायाले बजारमा हल्ला भए जस्तो अर्थतन्त्र नकारात्मक दिशामा नरहेको बताए । उनले लक्ष्यअनुसार राजस्व संकलन हुने देखिएको र विप्रेषण पनि सन्तोषजनक अवस्थामा रहेको उल्लेख गरे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स