दार्चुला । यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा दार्चुलाबाट निकासी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छुटपूर्जी बनाएर यार्सागुम्बा काठमाडौं निकासी गरेका हुन् ।
अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरका अनुसार कार्यालयले यो यार्सागुम्बा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका अनुसार यो वर्ष आठ क्विन्टल बढी यार्सागुम्बाको निकासी अनुमति दिनेछ ।
यार्सागुम्बा निकासीवापत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो ३० हजार दरले राजस्व उठाउने गरेको छ । अहिलेसम्म कार्यालयले यार्सागुम्बा निकासीवापत ८३ लाख ७० हजार राजस्व संकलन गरेको उनले बताए ।
व्यापारीको यो वर्ष खरिद गरिएको यार्सागुम्बा अझै बिक्री हुन बाँकी छ । गत असारदेखि खरिद गरिएको यार्सागुम्बा व्यापारीले निकासी गरेका छैनन् । ‘यार्सागुम्बा खरिद महँगोमा गरिएको छ तर अहिले मूल्य घटेका कारण पनि यार्सागुम्बा बिक्रीका लागि काठमाडौं लगेका छैनौं’, व्यापारी धनसिंह जागरीले भने, ‘अहिले जिल्लामै स्थानीयवासीबाट संकलनको काम भइरहेको छ ।’
अहिले यार्सागुम्बाको गुणस्तर अनुसार प्रतिकिलो नौ लाखदेखि २० लाख मूल्य पुगेको छ । व्यापारीले यार्सागुम्बा ग्रेडका आधारमा बिक्री गर्ने गर्छन् । यार्सागुम्बाको राम्रो मूल्यको प्रतिक्षामा व्यापारीले यार्सागुम्बा काठमाडौं लगेका छैनन् । व्यापारीले अहिले दार्चुला र भारतको धारचुलालगायत क्षेत्रमा यार्सागुम्बा संकलन गरिरहेका छन् । यार्सागुम्बा खरिदका लागि विभिन्न क्षेत्रबाट व्यापारी सदरमुकाम खलङ्गामा महिनौं दिनदेखि बसेका छन् । भारतबाट व्यापारीले लुकाइछिपाइ नेपाल यार्सागुम्बा भित्र्याउने गर्छन् । नेपालमा मात्रै उत्पादन कम हुने गरेका कारण व्यापारीले भारतबाट नेपाल यार्सागुम्बा भित्र्याउने गरेको व्यापारी बताउँछन् ।
दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतका रुपमा यार्सागुम्बा र जडीबुटी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ ।