को हुन् अर्थमन्त्री बनेका डा.प्रकाशशरण महत ?

काठमाडौं । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा पार्टी र मुलुकलाई आवश्यक परेको लचिलो, सहनशील, कर्मठ, शिक्षित, दक्ष, जोश र जाँगरले भरपुर तथा अनुभवी नेताका रुपमा परिचित हुनुहुन्छ नवनियुक्त अर्थमन्त्री, नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभाका सदस्य डा.प्रकाश शरण महत ।

कक्षा ७ मा अध्ययनरत रहदा नै नेपाल विद्यार्थी संघको आदर्शबाट प्रेरित भएर राजनीतिमा लागेका डा.महतको जीवन संघर्ष र चुनौतिले भरिपूर्ण देखिन्छ । २०३६ सालको विद्यार्थी आन्दोलन र २०३७ सालको जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गरेका डा. महतले २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका खेलेका थिए । त्यसबेला उनी नेपाल विद्यार्थी संघको महासचिव थिए ।

नेपाली कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ सालको जनआन्दोलनमा डा.महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए । पार्टीले दिएका जिम्मेवारीहरू कुशलतापूर्वक पूरा गर्ने सरल, सिधा, इमान्दार र अनुशासित कार्यकर्ता भएकोले पार्टीले उनलाई थप जिम्मेवारीहरू प्रदान गर्दै गयो । २०५५/५६ देखि नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका डा.महत २०५९ देखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका छन् । ।

उनले २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ को मंसिरमा सम्पन्न प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको संयोजकको भूमिका सफलतापूर्वक सम्पन्न गरेका थिए ।

संसदभित्रको जिम्मेवारी

२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा व्यवस्थापिकाको यात्रा आरम्भ गरेका डा. महतले पहिलो संविधानसभा २०६४ देखि २०६९ र दोस्रो संविधानसभा २०७० देखि २०७४ सम्म विधायकको रुपमा देश र नेपाली नागरिकको सेवा पनि गरेका थिए । दोस्रो संविधान सभाले नै २००७ सालको जनक्रान्तिको आह्वान गर्दा नेपाली कांग्रेसका संस्थापक महामानव वी.पी. कोइरालाले अगाडि सारेका नेपाली जनताले आफू शासित हुने विधान आफ्नै जनप्रतिनिधिबाट बनाउने प्रस्तावनालाई मूर्त रुप दिने सफलता पायो । जननिर्वाचित जनताका प्रतिनिधिहरुबाट संविधान निर्माण गराएर नेपालको राजनीतिक इतिहासलाई नयाँ मोड दिने कार्यमा उनले महत्वपूर्ण योगदान दिएका थिए ।

व्यवस्थापिका संसदका एक क्रियाशील विधायकको रुपमा संसदका राज्य व्यवस्था समिति र संसदीय विशेष सुनुवाई समितिमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

राजकीय जिम्मेवारी

पार्टीको एक सच्चा, इमान्दार, अनुशासित, कर्मठ कार्यकर्ता भएको नाताले उनको योग्यता, क्षमता, दक्षता, कर्मप्रतिको समर्पण हेरेर पार्टीले राज्य सञ्चालनका विभिन्न क्षेत्रमा विभिन्न अवसर पनि दिएको छ ।

नेपालमा माओवादी बिद्रोह उत्कर्षमा रहेको बेलामा सरकारले २०५६ सालमा गठन गरेको माओवादी समस्या समाधान समितिको सदस्य सचिवको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरेका डा. महतलाई प्रधानमन्त्रीले २०५८ देखि २०५९ सम्म सल्लाहकार नियुक्त गरी आफ्नो योग्यता र क्षमता अनुरुप देश र जनताको भलाईमा काम गर्न सघाउने अवसर दिएका थिए ।

उनलाई सरकारले २०५८ चैत्रदेखि २०५९ असोजसम्म राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त पनि गरेको थियो । उनलाई २०६१ जेठदेखि २०६१ माघ १९ सम्म परराष्ट्र मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पनि प्राप्त भयो ।

२०६३ देखि २०६४ सम्म माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गठित राष्ट्रिय शान्ति समितिका सदस्य रहेर काम गरेपछि उनलाई २०६४ साउनदेखि २०६५ जेठसम्म विभिन्न विद्रोही समूहसंग वार्ता गर्न गठित सरकारी वार्ता समितिको सदस्यको जिम्मेवारी पनि सुम्पिएको थियो ।

२०६६ देखि २०६७ सम्म (सन २००९ देखि २०११ सम्म) उनी ऊर्जा मन्त्री रहेका थिए । ऊर्जा क्षेत्रको जिम्मेवारी पाएको बेलामा नै अहिले राष्ट्रिय गौरवको रुपमा रहेको माथिल्लो तामाकोशी आयोजना स्वदेशी पूँजीबाट निर्माण गर्ने निर्णय भएको थियो । भूकम्प, नाकाबन्दी, बाढी पहिरो र अन्य अवरोधका कारण ढिलो भएपनि अहिले आयोजनाको निर्माण सम्पन्न भएको छ । यसले नेपाली नीति निर्माता, प्राविधिक, लगानीकर्ता संस्था र सर्वसाधारण लगानीकर्ताको पनि आत्मविश्वास बढाएको छ । यसले मुलुकको आर्थिक विकासमा ठूलो सघाउ पुर्याउने निश्चित छ ।

सोही अवधिमा नै नेपाल र भारतको बीचमा अन्तरदेशीय प्रशारण लाईन निर्माण गर्ने निर्णय भएको थियो । ढल्केवार–मुजफ्पुर ४०० के.भी. प्रशारण लाइनको निर्माणले नेपालको लोडसेडिङ्ख अन्त्य गरी सबै नेपालीलाई उज्यालोतिर लम्किन प्रेरित गरको यथार्थ यहाँ स्मरणीय हुन आउछ ।

नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार बनेको बेला २०७३ देखि २०७४ सम्म डा. महतले परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पुन पाएका थिए । यो समय नेपालको तराईमा भएको आन्दोलनले भारतले नेपालमा नाकाबन्दी गरेर नेपाल–भारत सम्बन्ध निकै तल्लो स्तरमा पुगेको अवस्था थियो । पूर्ववर्ती सरकारको पालामा सम्बन्ध सुधार हुन नसकेकोले भारतसंगको सम्बन्ध सौहार्द बनाएर नेपाली जनजीवन सहज बनाउनु पर्ने आवश्यकतालाई मनन गर्दै डा. महतले तीन पटक भारतको भ्रमण गरेका थिए। सम्बन्ध सामान्यीकरण भयो । बिग्रिएको सम्बन्ध सुधारियो । नाकाबन्दी खुलेर आपूर्ति व्यवस्था सुचारु भयो । भारतका विदेशमन्त्री सुषमा स्वराजले नेपालको भ्रमण गरेकी थिईन । नेपालमा भारतीय सहयोगमा सञ्चालित परियोजनाहरु सुचारु भए ।

यही समयमा नेपालले गण्डक संझौता अन्तरगत पाउनुपर्ने सुविधा नपाएको बिषय उठाएर त्यो दिन भारतलाई प्रतिबद्ध बनाउने काम भयो । भारतसंगको दक्षिणी सीमामा हुने बाढी र डुबानको संयुक्त निरीक्षण गरी समाधान खोज्ने सहमति भयो । महाकाली सिंचाईको डीपीआर टुंग्याउने काम भयो । हरेक दुई बर्षमा संयुक्त संयन्त्रको बैठक बस्ने सहमति कायम भयो ।

यही कार्यकालमा चीनसंगको सम्बन्धलाई पनि सन्तुलित राख्ने काम भयो । चीन सरकारले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसियटिभ(बीआरआई)लाई नेपालको हित अनुकूल हुनेगरी कार्यान्वयनमा ल्याउने संझौतामा हस्ताक्षर सम्पन्न भयो ।

भारतसंगको सुसम्बन्ध राख्नै पर्ने आवश्यकता भएकोले सह–महामन्त्री भएको बेलामा पनि डा. महतकै अग्रसरतामा नेपाल र भारतका पार्टीहरुबीच सौहार्द सम्बन्ध विकसित गर्न भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख बिजय चौथाइवालेलाई नेपालमा आमन्त्रण गरी नेपालका सबै दलहरुसंगको सम्बन्ध नवीकरण गराउने मौका जुराइएको कुरा यहा स्मरणीय छ ।

सुयोग्य नेता

डा. महत शिक्षा, दीक्षा र योग्यताका हिसाबले पनि अब्बल नेतामा पर्छन । उनले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएच डी उपाधि हासिल गरेका छन् । उनले सोही राज्यको उर्बाना च्याम्पेनमा रहेको इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र ( पोलिसि इकोनोमिक्स)मा स्नातकोत्तर गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चहरुमा नीतिगत तथा अनुसन्धान पत्रहरु प्रस्तुत गरेका डा.महतका आर्थिक विकास,शान्ति प्रकृया, परराष्ट्र सम्बन्धमा विभिन्न लेखहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस गरेका डा. महतले “नेपाली कांग्रेस एण्ड नेशन बिल्डिड.” नामक पुस्तक पनि लेखेका छन् ।

प्रकाश शरण महत ,पीएच. डी.
१०५ ओरालो मार्ग,काठमाडों महानगरपालिका –३, बाँसबारी
काठमाडौं, नेपाल ।
वैयक्तिक विवरण

जन्म मिति: १९ कार्तिक २०१६
जन्म स्थान: कविलास, पञ्चकन्या गाउँपालिका–२,नुवाकोट
नागरिकता: नेपाली
वैबाहिक स्थिति: विवाहित र दुई सन्तान
शिक्षाः
– पीएच डी,अर्थशास्त्र,साउथर्न इलिनोइस युनिभर्सिटी,कार्बनडेल, इलिनोइस,संयुक्त राज्य अमेरिका
– स्नातकोत्तर अर्थशास्त्र, इलिनोइस विश्वविद्यालय,अर्बाना क्याम्पेन,इलिनोइस,संयुक्त राज्य अमेरिका(यस    उपाधिको लागि फुलब्राइट छात्रवृत्ति प्रदान गरिएको थियो)
– स्नातकोत्तर अर्थशास्त्र,त्रिभुवन विश्वविद्यालय
राजनीतिक र व्यवसायिक जीवनको पृष्ठभूमि
– २०७९ पौष ३ मा प्रतिनिधि सभा सदस्य निर्वाचित
– २०७८ देखि हालसम्म प्रवक्ता, नेपाली कांग्रेस
– २०७२ देखि २०७८ सम्म सहमहामन्त्री, नेपाली कांग्रेस
– २०७३ देखि २०७४ सम्म परराष्ट्र मन्त्री
– २०७० देखि २०७४ सम्म दोस्रो संविधान सभा तथा व्यवस्थापिका संसदको सदस्य
– २०७० देखि २०७२ सम्म संविधान मस्यौदा समितिका सदस्य,संविधान सभा
– २०७० देखि २०७२ सम्म सदस्य, जलस्रोत तथा कृषि समिति, व्यवस्थापिका संसद
– २०६६ देखि चैत्र २०६७ सम्म ऊर्जा मन्त्री
– २०६४ देखि २०६९ सम्म सदस्य, पहिलो संविधान सभा तथा व्यवस्थापिका संसद
– २०६५ देखि २०६९ सम्म सदस्य, राज्य व्यवस्था समिति, व्यवस्थापिका संसद
– २०६५ देखि २०६९ सम्म ,सदस्य, सरकारको स्वरुप तथा निर्वाचन पद्धतिसम्बन्धी संवैधानिक समिति, संविधानसभा, नेपाल
– २०६४ देखि हालसम्म, नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिका सदस्य
– २०५९ देखि २०६४ सम्म केन्द्रीय सदस्य नेपाली कांग्रेस (प्रजातान्त्रिक)
– २०६३ देखि २०६४फागुन, सदस्य, अन्तरिम व्यवस्थापिका संसद, नेपाल
– २०६४ बैशाखदेखि २०६४ फागुनसम्म (२००७ मई–२००८) आर्थिक समिति सदस्य, अन्तरिम व्यवस्थापिका संसद
– २०६४ जेठदेखि २०६४ फागुनसम्म(२००७ जुन–२००८), सदस्य, राज्य पुनर्संरचना विशेष संसदीय          समिति
– २०६४ जेठदेखि २०६४ फागुनसम्म (२००७ जुन–२००८), सदस्य, शान्ति तथा पुनर्निर्माण मन्त्रालयका      लागि आठ राजनीतिक दलका परामर्श समिति
– २०६४ साउनदेखि २०६४ जेठसम्म(२००७ अगष्ट–जुन २००८), सदस्य, आन्दोलनरत विभिन्न समूहसंग      वार्ता गर्ने सरकारी समिति
– २०६३ देखि चैत्र २०६४ सम्म(२००६–अप्रिल २००७), सदस्य, शान्ति संझौता तथा अन्तरिम                  संविधानलाई अन्तिम रुप दिने आठ दलीय शीर्ष नेतृत्व बैठक
– २०६३ देखि २०६४ जेठसम्म(२००६–जुन २००७), सदस्य,राष्ट्रिय शान्ति समिति,शान्ति वार्ता र शान्ति      संझौतामा सहजीकरण गरी वार्ता र संझौताको तयारी गर्न नेपाल सरकारद्धारा गठित समिति
– २०६१ जेठदेखि २०६१ माघ १९ सम्म, परराष्ट्र राज्यमन्त्री ¬(प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको        मन्त्रिपरिषद्)
– २०५८ चैत्रदेखि असोज २०५९ सम्म, सदस्य, राष्ट्रिय योजना आयोग
– २०५८ असोजदेखि २०५९ बैशाखसम्म,सल्लाहकार, प्रधानमन्त्री शेरबहादुर देउवा
– २०५६ सदस्य सचिव, माओवादी समस्या समाधान उच्चस्तरीय समिति(शेरबहादुर देउवाको अध्यक्षतामा     नेपाल सरकारद्धारा गठित)
– २०४० देखि २०४४ सम्म महामन्त्री नेपाल विद्यार्थी संघ,नेपाली कांग्रेसको विद्यार्थी फाँटको भातृ संगठन
– विद्यार्थीकालमा सक्रिय रुपमा राजनीतिमा लागेदेखि नै प्रजातन्त्र पुनःस्थापनाका लागि भएका प्रायः सबै    आन्दोलनमा सहभागिता र नेतृत्वदायी भूमिका निर्वाह
– लोकतान्त्रिक आन्दोलनका क्रममा अनेकौ पटक जेल
व्यवसायिक कार्यहरु
– आर्थिक, विकास, शान्ति र राजनीतिक मामिलासम्बन्धी विषयमा नीतिपत्र, लेख, अनुसन्धान पत्र र           प्रतिवेदनहरुको व्यापक लेखन
– शान्ति, विकास र राजनीतिक मामिलासम्बन्धी अनेकौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा तथा सम्मेलनमा        सहभागिता र व्यापक भ्रमण पनि
पुस्तकका लेखक
त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा नेपाली कांग्रेसको पहिलो जननिर्वाचित सरकारले लिएको आर्थिक नीतिमा थेसिस लेखेका डा. महतले “नेपाली कांग्रेस एण्ड नेशन बिल्डिड.” नामक पुस्तक पनि लेखेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स