काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा देशको शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४१ अर्ब २३ करोडले घाटामा रहेको थियो । आयातमा भएको कमीका कारण विदेशी मुद्रा बाहिरिने क्रम रोकिँदा देशको शोधानान्तरस्थिति २३ महिना यताकै राम्रो हुन पुगेको हो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ ।
शोधनान्तर स्थिति बचतमा भएपनि यो अवधिमा चालु खाता २९ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । गत आवको तुलनामा यसवर्ष केहि सुधार भएपनि खाता भने घाटामै रहेको छ ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.१ प्रतिशतले कमी आई ४ अर्ब ४३ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।