‘चालु आवको पहिलो ५ महिनाः सुधारिए ७ सूचकांक, अझै अप्ठ्यारोमा छ परिस्थिति’

गत आर्थिक वर्षको पहिलो ५ महिना सम्मको आर्थिक सूचकांकहरू भन्दा यस वर्षको पहिलो ५ महिनामा केहि सूचकांकहरूमा राम्रो सुधार देखिएको छ । यद्यपि न्यून राजस्व संकलन, बढ्दो मूल्य वृद्धि, सुस्ताएको घरजग्गा कारोबार, बढ्दो ब्याजदरका कारण अझै पनि अर्थतन्त्रमा अप्ठ्यारो रहेको छ । अटोमोबाईल क्षेत्र ठप्प छ ।

१. चालु आर्थिक वर्षको पहिलो ५ महिनामा निक्षेप वृद्धिदरमा सुधार हुँदै २.२ % पुगेको छ । बैकिङको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०. % बाट सुधार भएर ८६.५% भन्दा तल झरेको छ । यसको अर्थ बजारमा हाराहारी १८० अर्ब कर्जा योग्य लगानी रहेको छ ।

२. यस वर्ष विप्रेषण आप्रवाह २३% ले बढेको छ । गत वर्ष ६.८% ले घटेको ५ पाँच महिनासम्ममा ४८०.५ अर्ब विप्रेषण नेपाल भित्रिसकेको छ ।

३. कुल वस्तु व्यापार घाटा १८.८% ले घटेको छ । गत वर्ष ५४.७% ले व्यापार घाटा बढेको थियो । यस वर्ष शाधेनान्तर स्थिति ४५.८७ अर्बले बचतमा छ । गत वर्ष यो अवधिमा १९५.०१ अर्बले घाटामा थियो ।

४. विदेशी मुद्रा संचिति पर्याप्तता ६.५ महिना भन्दा तल आईसकेकोमा सुधार भएको छ । हाल विदेशी विनिमय संचिति ९.८२ अमेरिकी डलर बराबर छ । यसले ८.७ महिनाको वस्तु तथा सेवा को आयात धान्न सक्दछ । यो पर्याप्तता संकुचन भएको आयातको औषत लिएर गणना गरिएको हो । संचिति रकम गत वर्ष भन्दा बढेको छैन ।

५.बैंकको औषत निक्षेप लागत घट्ने क्रम सुरु भएको छ । यसले गर्दा पुराना कर्जाहरूमा वैशाख २०८० सालदेखि अनि नयाँ कर्जाहरूमा तत्काल केहि ब्याजदर कमी हुने देखिन्छ ।

६.तरलता स्थिति सहजतासँगै अन्तर बैंकको ब्याजदर घटेर ६% तल आएको छ । ब्याजदर घट्ने क्रम शुरु भैसकेको छ । यसले उद्यमीलाई सहजता प्रदान गर्नेछ ।

७.चुनाव पछि सरकार गठनसँगै सेयर बजारमा विस्तारै सुधार आउन लागेको देखिन्छ । लगानी सम्बन्धी सरकारको प्रष्ट धारणा र नियामकीय व्यवस्थामा आउन सक्ने प्रष्टताले विश्वास थपेको छ ।

विचार पुर्याउन पर्ने तथ्य र तथ्यांकहरूः
१. राजस्व संकलन र खर्चको स्थिति ५७६ अर्ब खर्च हुँदा राजस्व संकलनमात्र ४०५ अर्ब भएको छ । कुल राजस्व संकलन ४५९अर्बमात्र भएको छ । पुँजीगत खर्च जम्मा १४ % भएको छ । राजस्व संकलन भन्दा चालु खर्च नै ५० अर्बले बढि भैसकेको छ । राजस्व संकलन गत वर्षको अनुपातमा न्यून आयातमा गरिएको कडाइ तथा रोकसँगै व्यापार व्यवसाय मा छाएको मन्दिले गर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष करमा ठूलो ह्रास आउने अवस्था छ ।

२.बजारमा घट्दो माग, बढ्दो मुद्रास्फिति र बढ्दो ब्याजदरले गर्दा उद्यमी व्यवसायीहरू पलायन हुने अवस्था छ । बजारमा मुद्रास्फिति ७ % नाघेको छ । उद्योग धन्दा २०% देखि ८०% सम्म बिक्रि रकममा ह्रास आएको छ भने बैंकले दिने कर्जाको औषत ब्याजदर नै १२ % नाघेको छ । नयाँ कर्जाहरु १३ %–१५ % को हाराहारीमा प्राप्त हुने अवस्था छ ।

यसले गर्दा कर्जाको मागमा कमी हुन गई केहि तरलता अभावमा सहजता भएको छ तर व्यवसायीहरूको आर्थिक स्थिति बिग्रेर बन्द हुने अवस्थामा पुगेका छन् । बैंकमा खराब कर्जा बढ्दो छ, बैकहरूलाई कर्जाको सांवा तथा ब्याज समयमा असुल्न हम्मे हम्मे परेको छ । गत वर्षसम्म २४ हजार नपुगेको कालोसूचीमा दर्ता हुने ऋणीको संख्या ३६ हजार नाघिसकेको छ ।

३. घरजग्गा कारोबार ठप्प जस्तै हुँदा पुँजी बजार सम्बन्धी नीतिगत सोच अस्पष्ट हुँदा यो क्षेत्रमा लगानी सम्बन्धित भई पुँजी पलायन भएको छ । जसले गर्दा निक्षेप वृदिदर अपेक्षित नरहेको अनुमान छ । दैनिक कारोबार २२ अर्ब नाघेको हुँदा बजार संकुचन हुँदै १ अर्ब भन्दा तल रहेको छ । पुँजी बजारमा लगानीकर्ताले खर्बौ रुपैयाँ नोक्सानी व्यहोर्नुपर्यो । अब केही आशाका किरणहरू देखिदैछन् र बजार बढ्दो इण्डेक्सँगै कारोवार रकम बढ्दो छ ।

४.पर्यटन क्षेत्रमा सम्भावना पर्याप्त छ । तर, यसबाट व्यवसायी राज्य दुबैले फाइदा लान सकेको अवस्था छैन । कतिपय होटल व्यवसायीहरू पलायन हुनुपर्ने अवस्थामा छ ।

अटोमोवाईल व्यवसायीहरू साह्रै अप्ठ्यारोमा छन् यस्तै अन्य व्यवसायीहरूको अवस्था छ ।
विश्व अर्थतन्त्र मा केहि सुधार, पेट्रोलियम पदार्थ को मुल्यमा ह्रास, नयाँ सरकारको अर्थतन्त्र प्रतिको चिन्ता को आभास जस्ता कुराहरूले केहि आशावादी बनाउदै लगेको देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स