खर्च र आम्दानीको अन्तर करिब १ खर्ब, दैनिक खर्च गर्न नसक्ने अवस्थामा सरकार

काठमाडौं । आम्दानीभन्दा खर्च बढेका कारण सरकार खर्च गर्नै नसक्ने अवस्थामा पुगेको तथ्यांकले देखाएको छ । सरकारले दैनिक गर्ने आम्दानी र खर्चको तथ्यांक देखिने दैनिक बजेटरी विश्लेषणमा यस्तो अवस्था देखिएको हो ।

महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार सरकारले चालु आर्थिक वर्षको कार्तिक १४ गतेसम्म २ खर्ब ६४ अर्ब ३० करोड राजस्व संकलन गरेको छ भने ३ खर्ब ४९ अर्ब २२ करोड रुपैयाँ खर्च गरेको छ । संकलन भएको राजस्व र खर्चको अवस्थालाई हेर्दा ८४ अर्ब ९२ करोड ४५ लाख रुपैयाँ बढी खर्च भएको छ ।

सरकारले लक्षित राजस्व उठाउने नसक्दा ऋण लिएर खर्च गर्नुपर्ने अवस्थामा पुगेको हो । यस्तो अवस्थामा सरकारले गत आर्थिक वर्षको कुल राजस्व आम्दानीको ५ प्रतिशतभन्दा बढी ओभर ड्राफ लिन नपाउने व्यवस्था भएको नेपाल राष्ट्र बैंकका सह प्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिए ।

सरकारसँग गत वर्षको सेन्टर ट्रेजरीमा २ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ । ‘यो अवस्थामा सरकारले सो रकम खर्च गरेको हुनपर्छ,’ उनले थपे ।

‘सरकारले कुल राजस्वको बढीमा ५ प्रतिशतभन्दा बढी ओभर ड्राफ लिन पाइदैन,’ उनले भने ‘यस्तो अवस्थामा सरकारले खर्च गर्ने स्रोतमा समस्या पर्न सक्छ र यस विषयमा राष्ट्र बैंकले सरकारलाई यसबाट पर्न सक्ने समस्याको वारेमा जानकारी पनि गराउँछ ।’ यदि सरकार खर्च गर्ने नसक्ने अवस्थामा पुगेको हो भने राष्ट्र बैंकले पनि सो विषयमा ध्यान केन्द्रीत गरेर यसको सुधारको लागि पहल गर्नेछ ।

सो व्यवस्थालाई आधार मान्ने हो भने सरकारले यो आर्थिक वर्षमा जम्मा ५३ अर्ब ३९ करोड रुपैयाँमात्र ओभर ड्राफ लिन पाउँछ । सरकार खर्च गर्ने नसक्ने अवस्थामा पुगेपनि असोज महिनासम्म ओभर ड्राफ लिएको छैन । अझै पनि सरकारको खातामा १ खर्ब ९५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । सो खातामा भएको रकम ३३ अर्ब ३५ करोड १० लाख रुपैयाँ स्थानीय सरकारको हो ।

तर, सरकार भने प्रदेश तथा स्थानीय तहको खातामा रहेको स्रोत समेतलाई आफ्नो खर्चको स्रोत मानेर ढुक्कताका साथ खर्च गरिरहेको छ ।

चुनाव नजिकिएसँगै सरकारले एकै दिन २ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ । कार्तिक २९ गतेसम्म ३ खर्ब ४६ अर्ब ८३ करोड ११ लाख रुपैयाँ खर्च गरेको सरकारले आज ३० गते खर्च बढेर ३ खर्ब ४९ अर्ब २२ करोड ९७ लाख पुगेको छ ।

सरकारले यसरी डब्बल खर्च गर्दै जाने र राजस्व संकलन भने सोहि अनुपातमा गर्न नसक्ने हो भने यो वर्ष पनि सरकारलाई आफ्नो खर्च धान्न धौ धौ पर्ने देखिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स