काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिमा मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसारअसोज महिनासम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको हो ।
राष्ट्र बैंकका अनुसार तराई क्षेत्रमा मूल्यवृद्धि चर्को छ । पहिलो त्रैमासिक विवरणअनुसार काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा नौ ४२ प्रतिशत, पहाडमा आठ दशमलव ८४ प्रतिशत र हिमालमा सात दशमलव ०७ प्रतिशत महंगी बढेको छ ।
यो अवधिसम्ममा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति आठ दशमलव ०५ प्रतिशत र गैर–खाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति आठ दशमलव ८५ प्रतिशत रहेको छ । त्यस्तै, रेष्टुराँ तथा होटल क्षेत्रको वार्षिक बिन्दुगत मुद्रास्फीति १५ दशमलव ९१ प्रतिशत, फलफूलको १२ दशमलव ०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १० दशमलव २४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव ४५ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४४ प्रतिशत रहेको छ ।
सेवा समूह अन्तर्गत यातायात क्षेत्रको मुद्रास्फीति २१ दशमलव १५ प्रतिशत, स्वास्थ्य क्षेत्रको १० दशमलव ५४ प्रतिशत, फर्निसिंग तथा घरायसी उपकरणहरुको नौ दशमलव ४५ प्रतिशत र शिक्षाको आठ दशमलव ११ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३ दशमलव ७३ प्रतिशत रहेको छ ।