काठमाडौं । माई नगरपालिका, इलामका लेखा अधिकृत रविनचन्द्र ढकाल २ वर्षमा ७ करोडभन्दा बढी सरकारी रकम हिनामिना ठहरसहित विशेष अदालतले बिगो जरिवाना सहित साढे २० वर्ष कैद सजाय तोकेको छ । २०६८/११/ १६ फागुन २०६८ मा सहायक लेखापालबाट सरकारी सेवा सुरु गरेका ढकालले माई नगरपालिकामा ३ करोड २४ लाख र कटारी नगरपालिका, उदयपुरमा ४ करोड रकम भष्ट्राचार गरेका हुन् ।
ढकालले गरेको आर्थिक अनियमितताको विषयलाई लिएर लेखा अधिकृत ढकालको नाममा विशेष अदालतमा तीन वटा मुद्दा परेको थियो । सो मुद्दाको विषयमा हिजो बुधबार अदालतले दुई वटा मुद्दाको बिगो जरिवानासहित ९/९ वर्ष कैद दण्ड सजाय तोकेको हो भने अर्को मुद्दामा बिगोसहित साढे २ वर्ष जेल सजाय तोकेको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले हाम्रोअर्थलाई जानकारी दिए ।
‘लेखा अधिकृत ढकालका नाममा ३ वटा मुद्दा परेका थिए,’ उनले भने ‘हिजो बुधबार दण्ड जरिवाना सहित सबै गरेर साढे २० वर्ष जेल सजाय तोकिएको हो ।’
भष्ट्रचारी ढकालले कटारी नगरपालिकाको रकम निकासाका लागि प्रमुख प्रशासकीय अधिकृतको पत्र लुकाई आफैले किर्ते हस्ताक्षर गरेको कागजात पेश गर्थे । कोष तथा लेखा नियन्त्रण कार्यालय(कोलेनिका)बाट कटारी नगरपालिकाको नाममा निकासा भएको रकम समेत आफ्ना खातामा पुर्याएको प्रमाण फेला परेको छ ।
नगरपालिकाको हिसाब झण्डै एक करोड रुपैयाँ तलमाथि भएको पाएपछि कटारीका निवर्तमान प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत लुईंटेलले खोजबिन गरे । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) बाट ६३ करोड ५८ लाख रुपैयाँ निकासा भएपपनि नगरपालिकाको खातामा ६२ करोड ५२ लाख मात्र जम्मा भएको पाइएको छ । बाँकी अन्य रकम भने लेखा अधिकृत ढकालले आफू र आफन्तको खातामा पठाएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि कटारी नगरपालिकामा रहँदामात्रै ३ करोड ९८ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गर्यो ।
१ भदौ २०७४ मा उनले ११ करोड ७३ रुपैयाँ माई नगरपालिकाको खातामा सार्ने क्रममा ४९ लाख ८९ रुपैयाँ आफ्नो व्यक्तिगत खातामा सारेको भेटिएको थियो । फेरी अर्कोपटक ४५ लाख ९० हजार आफ्नो खातामा ताने । तेस्रोपटक ८९ लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको खुल्यो । कतिसम्म भने लेखा अधिकृत रविनचन्द्रले सरुवा भएर गएका अरु कर्मचारीका नाममा समेत तलब भुक्तानी देखाएर आफैंले रकम कुम्ल्याए ।
रविनचन्द्रले जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा समेत त्यसैगरी आर्थिक हिनाबिना गरेका थिए । उनले २०७३ दुर्गम हिमाली जिल्लाहरुमा सबै कर्मचारीको बैंक खाता नहुने भन्दै सालमा १४ लाख ८९ हजार रुपैयाँ हिनामिना गरेको खुल्योे ।
रविनचन्द्रले २०७४ मंसिरमा विवाह गरेका थिए । । भष्ट्रचार गरेको रकम थपिदै गएपछि ढकालले बिहेअघि नै रविनचन्द्रले रिनासँग संयुक्त रुपमा एउटा जग्गा किनेका थिए । रिनाको नाममा अर्को टुक्रा पनि किनेर राखेका थिए । ललितपुरको झरुवारासीमा उनीहरुले ११ आना जग्गा किने ।
सिन्धुलीमा १७ लाख रुपैयाँमा आमाको नाममा १४ कट्ठा जग्गा किने । माई नगरपालिकामा रहेका एक साथीकी पत्नीलाई ३० लाख रुपैयाँ सापटी दिए । आमा र सासुको नाममा पनि ८५/८५ लाख रुपैयाँ जम्मा गरिदिए । ६० लाख खर्चेर काकीको नाममा ललितपुरको झरुवारासीमा ४ आना जग्गा किने ।
छोटो समयमानै आर्थिक अनियमितता गरेर राज्यलाई खोक्रो बनाउने भष्ट्रचारीलाई विशेष अदालतले दण्ड सजाय तोकेको हो ।