अबको १ वर्षमा एमसीसी कम्प्याट आयोजना निर्माणको चरणमा जाने

काठमाडौं । एमसीसी कम्प्याटका आयोजना निर्माणको चरणमा जाने भएको छ । निर्माणको काम एक वर्षपछि मात्रै सुरु हुने भएको छ । एमसीए नेपालले आज बिहिबार पत्रकार सम्मेलन गरी २०२३ अगष्टबाट आयोजना निर्माणको काम सुरु हुने जानकारी दिएको हो ।

उक्त रकमबाट विद्युत प्रसारण आयोजना अन्तर्गत ३१५ किमी ४०० केभी प्रसारणलाइन निर्माण हुने एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले बताए । उनकाअनुसार आयोजना अन्तर्गत मुख्य गरी प्रसारणलाईन र सडक निर्माण हुनेछ । ७७ किलोमिटर सडक खण्डको आधुनिक रुपमा मर्मत हुनेछ ।

उक्त आयोजनाका लागि कुल ६३ करोड अमेरिकी डलर खर्च हुनेछ । ५० करोड अमेरिकी डलर एमसीसीले र बाँकी रहेको १३ करोड डलर नेपाल सरकारले खर्च गर्नेछ । ‘सो लागनीमध्ये १२.७८ प्रतिशत आयोजना पूर्व तयारीका लागि खर्च हुनेछ भने ८७.२२ प्रतिशतबाट आयोजना निर्माणको काम हुनेछ,’ उनले भने ‘वातावरण प्रभाव मूल्यांकन (ईआईए) भइसकेको छ । प्रशारण लाइनको अन्य आयोजनमा ईआईए गर्न नपर्ने व्यवस्था छ ।’ उक्त आयोजना निर्माणको समयमा करिब साढे ७ सयले रोजगारी पाउने अनुमान गरिएको छ ।

यसका साथै तीन वटा सब–स्टेशन निर्माण हुनेछ । रातमाटे, दमौली र न्यू बुटवल गरि तीन वटा नयाँ सवस्टेशन निर्माण हुनेछ । दमौली र न्यू बुटवलमा नेपाल विद्युत प्राधिकरण स्वामित्वको जग्गा प्रयोग हुनेछ भने रातमाटेमा करिव ५ सय रोपनी जग्गा अधिग्रहण गरिनेछ । यो प्रसारणलाईनबाट ३००० मेगावाट विद्युत प्रसारण गर्न सक्छ ।

यो प्रसारणलाइन लप्सिफेदीबाट हेटोडाको रातमाटे हुँदै बुटवलबाट भारतीय सीमासम्म जोडिनेछ । प्रसारणलाइन ५ खण्डमा विभाजन गरिएको छ । लप्सीफेदी– रातमाटे पहिलो खण्ड ५९ किलोमिटर रहेको छ । सो खण्डमा १६३ वटा टावर निर्माण हुनेछ । दोस्रो रातमाटे–नयाँ हेटौडा ५८ किमी रहेको छ ।

यसमा १४२ वटा टावर निर्माण हुनेछ । रातमाटे–नयाँ दमौली ९० किमीको खण्डमा २४९ वटा टावर रहनेछन् । चौथो नयाँ दमौली–बुटवल ९० किमीमा २४८ वटा टावर प्रस्ताव गरिएको छ । नयाँ बुटवल –भारतीय सीमा ५२ किमीको अन्तिम खण्ड १८ किमीको हुनेछ । सो प्रशासरण लाइनमा ५२ टावर रहेनछन् ।

१० जिल्लामा विस्तार हुने प्रसारण लाइन जडान गर्दा दायाँ बायाँ २३÷२३ किलोमिटर कित्ता काट गर्नुपर्छ । प्रसारणलाइन कुल ८५४ टावर निर्माण हुनेछ । प्रसारणलाईन निर्माण गर्न २ लाख वटा रुखहरु काट्नुपर्ने हुन्छ । प्रसारणलाइन काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर, पारासी हुदै जानेछ । निर्माणपछि ढल्केबर –मुजफ्फरपुर पछिको दोस्रो अन्तरदेशीय प्रसारणलाई हुने बताइएको छ ।

अहिले पुनर्वास कार्ययोजना, प्रसारणलाइन रेखाङकनमा आएका गुनासोको सम्बोधन, जग्गा अधिग्रहण, रेखाङकनमा पर्ने वनको रुख कटानका लागि अनुमति,सडक मर्मत सम्वन्धी पूर्व तयारीका कामहरू, निर्माण कार्यलाई ठेक्कामा दिन आवश्यक कागजातको तयारी जस्ता कार्यहरू भइरहेका छन् ।

एमसीसी र नेपाल सरकारबीच २०७४ भदौ २९ गते सम्झौता भएको थियो । एमसीए नेपालले आगामी वर्षसम्म पूर्व तयारीका काम गरेर निर्माण जाने योजना रहेको जानकारी दिएको हो । निर्माण सुरु गरेको ५ वर्ष अर्थात २०२८ अगष्टमा काम पुरा गर्नुपर्ने छ । ५ वर्षमा उक्त रकम खर्च हुन नसके फिर्ता हुने प्रावधान छ । २०७८ फागुन ११ गते प्रतिनिधिसभाले एमसीसी स्वीकार गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स