आज अर्थमन्त्रीको छानबिन गर्ने समितिको सभापतिको चयन हुँदै

काठमाडौं । सिंहदरबारस्थित संसदको अर्थ समितिको कक्षमा अर्थमन्त्रीलाई छानबिन गर्नका लागि बनेको विशेष समितिको दोस्रो बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्दैछ । मैले कुनै गल्ति गरेको छैन म निद्रोष छु, उचित छानबिन र छानबिन कार्यमा अप्ठ्यारो नपरोस् भन्दै राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मालाई छानबिन गर्न ११ सदस्य समिति गठन भएको छ ।

बजेट निर्माण क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको र करको दर सीमित मान्छेलाई फाइदा हुनेगरी हेरफेर गरेको भनेर संसदमा प्रश्न उठेपछि शर्माले राजीनामा दिएका थिए ।

जेठ सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा बसेको पहिलो बैठकले कार्यविधि पारित गरे पनि सभापति चयन भने हुन सकेको थिएन । आज बैठकको कार्यसूची अनुसार उक्त समितिको सभापति चयन गर्ने कार्यतालिका रहेको छ ।

प्रतिनिधि सभा नियमावली २०७५ मा आवश्यकता अनुसार विशेष समिति गठन गर्नसक्ने व्यवस्था छ । संसदमा शर्मालाई राजीनामा गराएर छानबिन समिति गठन गर्न माग उठेपछि सोही व्यवस्था अनुसार शर्मामाथि छानबिन गर्न ११ सदस्यीय समिति गठन भएको छ । विशेष समितिले काम सुरु गरेको १० दिनभित्र प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्नु पर्नेछ ।

समितिमा एमालेबाट ४ जना खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, नेपाली कांग्रेस २ जना पुष्पा भुसाल र सीताराम महतो, नेकपा माओवादीका २ जना देव गुरुङ र शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीकी सरला यादव, जनता समाजवादी पार्टीका सुरेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण सदस्य छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स