काठमाडौं । सरकारले असार २४ गतेसम्म १२ खर्ब १२ अर्ब ११ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले गरेको कुल खर्च विनियोजित बजेटको करिब ७५ प्रतिशतमात्रै हो । खर्च गरेको रकममध्य ९ खर्ब ३८ अर्ब चालु खर्च हो भने १ खर्ब ७४ अर्ब ७५ करोड पुँजीगत खर्च र ९९ अर्ब ३५ करोड वित्तीय व्यवस्था खर्च हो ।
सरकारले चालु आवमा चालु खर्चको ८८.०५ प्रतिशत खर्च गरेको छ । यो शीर्षकमा सरकारले १० खर्ब ६५ अर्ब २९ करोड रुपैयाँ खर्च गरेको थियो । सरकारले चालु आवको लागि कुल ३ खर्ब ७८ अर्ब रुपैयाँ पुँजीगत खर्च छुट्याएकोमा यो अवधिसम्म ४६.२२ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ ।
सरकारले जति गर्दा पनि पुँजीगत खर्च बढाउन सकेको छैन । सो कारणले सरकारले यो वर्ष पनि सदाको वर्ष झै पुँजीगत खर्च बढाउन सकेको छैन । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्छु भनेर प्रतिवद्धता जनाएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले वर्ष वित्दा त्यसको आधा पनि खर्च गर्न सकेनन् ।
अझ भन्ने हो भने यो खर्च पनि पछिल्लो महिना बढेर करिब ४६ प्रतिशत पुगेको हो । सरकारले यस वर्ष वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरेको थियो । सो शीर्षकबाट ५२.४५ प्रतिशतमात्रे खर्च भएको छ ।
कति उठ्यो राजस्व ?
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार असार २४ गतेसम्म १० खर्ब राजस्व संकलन भएको छ । असार २३ गतेसम्म यस्तो संकलन ९ खर्ब ८७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षमा कुल ९ खर्ब ३५ रुपैयाँ राजस्व संकलन भएको थियो । सरकारले चालु आवमा ११ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।