डिजिटल कारोबारमा अर्थमन्त्रीको चासो, बेटिङका विषयमा प्रश्न उठाउँदै अर्थमन्त्री शर्माले भने यो समस्याको अध्ययन कसले गर्छ ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल कारोबारमा भएको वैधानिकता वारे चासो देखाउँदै यो समस्याको अध्ययन कसले गर्ने भनेर प्रश्न गरेका छन् । शुक्रबार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरूले गर्नुपर्ने बताएका हुन् ।

अर्थतन्त्रमा समस्याहरु धेरै छन्, अहिले नयाँ नयाँ डिजिटल प्रविधिहरूबाट कारोबारहरू भइरहेका छन्, यस्ता कारोबारको अध्ययन गर्ने कसले हो, यहाँहरू नै विज्ञ हुनुहुन्छ, यहाँहरूले नै अध्ययन गर्नुपर्छ भनेर लेखापरीक्षणलाई अर्थमन्त्री शर्माले हौसाए । ‘अहिले युग नै डिजिटल हो, क्रिप्टोकरेन्सीलगायतका तमाम कारोबारहरू भइरहेका छन्,’ उनले भने ।

नेपालमा अनलाइन बेटिङ प्रतिबन्धित भएपनि ‘वान एक्स बेट’ मा पैसाको कारोबार भई नेपालबाट पुँजी बाहिरिरहेको छ । यस विषयमा अध्ययन गर्न राष्ट्र बैंकले सीआईबी, सम्पति सुद्धीकरण र दूरसञ्चारको सहयोगमा अध्ययन सुरु गरेको हो ।

उनले अडिटरहरु नै डिजिटल कारोबारको विज्ञ भएको पनि बताए । मन्त्री शर्माले नेपालमा डिजिटल कारोबार क्रिप्टोकरेन्सी लगायत अन्य धेरै कारोबार भइरहेको बताए ।

उनले डिजिटल रुपमा कारोबार हुने सबै कारोबारको अध्ययन गर्न आवश्यक रहेको पनि स्पष्ट पारे । मन्त्री शर्माले लेखा परीक्षणमा नै समस्या रहेकाले सरकारको ठूलो रकममा बेरुजु बढ्दै गएको पनि उक्त कार्यक्रममा बताए । उनले लेखा परीक्षणमा समस्या हुँदा एकपछि अर्को बेरुजु थुप्रिँदै गएको दाबी गरे ।

‘आर्थिक सुशासन र जवाफदेहिता कसरी निर्वाह गर्ने विषय नै अहिलेको मुख्य प्रश्न र राष्ट्रिय चुनौती पनि हो, त्यस कारणले जवाफदेहिता र पारदर्शितालाई आफ्ना स्वार्थ अनुरुप व्याख्या तथा परिभाषा नगर्न पनि आग्रह गरे । ‘कुनै पनि निर्णय लिनु अघि वा बोल्नु अघि यो देशको हितको लागि छ की छैन ?

त्यसले मुलुकको अर्थतन्त्रमा के कस्तो असर पार्छ ? त्यस्तो खालको व्यवहारले देश चल्छ वा चल्दैन ? भन्ने कुराको हेक्का राख्नु पर्ने बताए । उनले गभर्नर प्रति इकित गर्दै भने ‘व्यक्तिगत, समूहगत, गुटगत स्वार्थको आधारमा मूल्यांकन, विश्लेषण गरेर भ्रम सिर्जना गर्ने कामहरु र अभिव्यक्तिहरु आइरहेका छन् ।’

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा गभर्नर अधिकारीले देश यहि अवस्थामा अगाडि बढे श्रीलंकाको जस्तो हालत हुने धारणा राखेका थिए भने उनले बैंकको ब्याजदर बढ्ने अभिव्यक्ति पनि दिएका थिए ।

कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले अनलाइन प्रविधिबाट अडिटमा समस्या रहेको औल्याए । उनले यो वर्षदेखि सरकारका सबै अडिटहरु अनलाइन प्रणालीबाट नै गरिएकाले कर्मचारीमा नयाँ प्रविधिको ज्ञान अभावको कारण समस्या देखिएको जानकारी गराए ।

उनको बुझाइमा अनलाइन प्रणालीबाट लेखा परीक्षणको काम गर्दा सजिलो र छिटो हुने तर कर्मचारीहरु सबैमा प्रविधिको जानकारी नहुँदा ठूलो समस्या हुने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स