काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.प्रकासशरण महतले आफूले गरेको कामको विज्ञापन गर्न नजान्नु कमजोरी भएको बताएका छन् । काठमाडौ महानगरपालिका वडा नम्बर –५ को चुनावी आमसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका प्रवक्ता समेत रहेका डा.महतले आफूहरूले काममात्रै गर्न जानेको बताएका हुन् । ‘गरेको कामको प्रचार गर्न नजान्नु हाम्रो कमजोरी हो,’ उनले भने ‘हामी झुठो प्रचार गर्दैनौ, हाम्रा लागि काम नै काफी छ ।’
हामी काम गर्ने र काममा विश्वास गर्ने भएकाले नै हाम्रो स्लोगान नै ‘अरु कुरा गर्छन, नेपाली काङ्ग्रेस काम गर्छ ’ भनेर राखिएको हो । ‘ओली सरकारको पालामा देश ऋणमय भयो,’ उनले भने ‘हामीले करिब ६० अर्बको एमसीसी सहित अमेरिकाबाट थप ८० अर्ब अनुदान ल्याएका छौं । अमेरिकाको यो सहयोग कहिले नभएको सहयोग हो ।’
केही दिन अघि नेपाल र अमेरिकबीच भएको अनुदान सम्झौता अनुसार नेपालले उक्त सहयोग नेपालको बजेटरी सिष्टममा समावेश गरेर आफूले चाहेको शीर्षकमा खर्च गर्न सक्ने उल्लेख गरिएको छ ।
अमेरिकाको यो अनुदान सहयोग देखेर पछिल्लो समय भारत र चीन सरकारले पनि आफ्नो सहयोगको मोडालिटी परिवर्तन गर्न लागेको डा.महतले बताए । ‘नेपाली काङ्ग्रेस आर्थिक विकासको आधारतय गर्ने पार्टी हो,’ उनले भने ‘२०४६ सालपछि २ प्रतिशतको आर्थिक वृद्धिलाई ७ प्रतिशतसम्म पुर्याएको पनि हाम्रै पार्टीले उदारीकरण अर्थ नीतिको कारणले हो ।’
जस्तो कि भ्याट लागू गरेर करको दायरा विस्तारित गरी प्रशस्त राजस्व सिर्जना गर्ने पार्टी नेपाली काङ्ग्रेस हो । आर्थिक नीतिको आधारमा उद्योग व्यवसाय कलकारखाना र पर्यटन विकासको आधारशिला नेपाली काङ्ग्रेसले हो । काङ्ग्रेसले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सामाजिक सुरक्षाको लगायतका हरको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्याे । काङ्ग्रेस पार्टी कै नेतृत्वमा यो सम्भव भएको हो । साना किसानहरूलाई १० हजार रुपैयाँको क्रेडिट कार्ड सहित २ प्रतिशत व्याज दरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाएका छौं ।
विभिन्न कर कानुनदेखि राष्ट्रलाई समृद्ध बनाउन नेपाली काङ्ग्रेसले खेलेको भुमिका अत्यन्त महत्वपूर्ण भएको बताउँदै अघिल्लो निर्वाचनमा चुनिएका १० वटा उत्कृष्ठ नगरपालिका तथा गाउँपालिकामध्ये ६ वटा नेपाली काङ्ग्रेसले विजय हासिल गरेको नगरपालिका रहेको पनि सो अवसरमा उनले अवगत गराए ।
चुनावी सभालाई सम्बोधन गर्ने क्रममा काङ्ग्रेस प्रवक्ता डा. महतले सुस्केरी र ६५ वर्ष पुगेका वृद्ध÷वृद्धालाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने पनि बताए । यसका साथै स्पाइनिङ, हाडजोर्नीलगायतका रोगीलाई पनि मासिक रुपमा सोही अनुसारको भत्ता उपलब्ध गराउने प्रतिवद्धता उनले गरे ।
कोरोना कहरको बेलामा पनि देशलाई कमिशनको दलदलमा फसाएर ओली सरकारले कमिशनतन्त्रको राज गरेको उनले भनाइ राखे । ‘अब कमिशनको जोड घटाउ नभइ विशुद्ध देश विकासमा लाग्ने र देश, जनताको लागि काम गर्ने नेपाली काङ्ग्रेसलाई अत्यधिक भोट दिएर विजय गराउन उनले आग्रह गरे ।
मेयरकी उम्मेदवार सिर्जना सिंहका वारेमा यसो भने डा. महतले
यहि बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा केशव स्थापितलाई विस्थापित गरेर सिर्जना सिंहलाई स्थापित गर्न पनि उनले आव्हान गरे । महानगरको कार्य सम्पादन गर्न सहज नभएको बताउँदै उनले स्थापितबाट महानगरको कार्य सम्पादन हुन नसक्ने बताए ।