स्याङ्जा । घना जंगलको बीचमा रहेको ठाडो उकालो ग्राबल बाटोको कष्टकर यात्रापछि पुगिन्छ निलवहादुरको च्याउ फर्म । हरियाली पहाडको खोजमा रहेको ‘अर्जुन अमृत एकीकृत कृषि फर्म’ मा पुग्दा निलवहादुर घर्ती क्षेत्री हाम्रो बाटो हेरिरहेका थिए । त्यसो त जति उक्लदा पनि उनको फर्म नपुगपछि बाटो मै मोटरसाइकल रोकेर तीन पटक हामीले नै फोन गरिसकेका थियौं उनलाई ।

निलवहादुर बाटो सुझाउँदै गए, हामी जंगललाई छिचोल्दै मोटरसाइकलमा सकिनसकी तानिरहका थियौ । पहाडी ‘अफरोड’ बाटो त्यसमाथि पनि ग्राबेल ओछ्याएको । बाइक त कति ठाउँमा घिस्रियो त कति ठाउँमा उक्लन नै सकेन । तै पनि नब्यबाट हामी च्याल फर्म हेर्न लालाहित हुँदै माझपाटातिर तानिरहेका थियौ ।

एक्लै हिड्दा अत्यास र डर लाग्दो सुनशान बाटो गुडेपछि पुगिने निलवहादुरको च्याउ फर्ममा जान मेरो माइक्रोफाइनान्स स्याङ्जा शाखाका कनिष्ठ सहायक ईश्वर लामिछाने सर र म (लेखक) हिडेका थियौं । राइडर जस्तै बाइक हाक्ने उनको त्यो क्षमताले मात्र हामी अपराह्न ३ बजे माझटार पुग्न सकेका हौं ।

काठका मुढाभरी च्याउ फलेको आँखा भरि धोको बोकेर अर्जुन चौपारी–१ माझपाटास्थित निलवहादुरको सिताके च्याउ फर्म पुग्दा फर्मलाई पुरै प्लाष्टिकले बारेर राखिएको थियो ।

प्लाष्टिकमा बाधेको डोरी खोलेर निलवहादुर धर्ती क्षेत्रीले काठको मुढामा चैतमा च्याउ रोपेको प्वाल देखाउँदै भने यति दुःख गरेर आउनु भयो तर, च्याउ फलेको देख्न पाउनु भएन । यो सिजन नै अफ हो । दशैं तिहारतिर च्याउ फल्छ,’ उनले भने ‘२०७६ सालमा बुटा काटेर मैले च्याउ खेती सुरु गरेको हुँ ।’

सिताके च्याउबाट गुणस्तरीय उत्पादन लिन ओखरको मुढा राम्रो मानिए पनि घर्तीले कटुसको मुढामा च्याउ उमारेका छन् । ओखरको मुढा स्याङ्जामा नपाउँदा उनले कटुसको मुढाबाट काम चलाएका हुन् । त्यसो त उतिस, लाकुरी तथा मौवामा समेत सिताके च्याउ रोप्न सकिने उनले बताए ।

उनको च्याउ फर्ममा एक हजारवटा काठका मुढा तखता झै मिलाएर राखिएको छ । त्यहि काठको मुढामा चैतमा रोपेको बिउले ७ महिनामा उत्पादन दिन्छ । बजार खोज्न टाढा जानु पर्दैन । स्याङजाको पुतली बजार र घर वरपर नै प्रति केजी ५ सय रुपैयाँको दरले च्याउ बिक्री हुन्छ ।

यस वर्ष उनी ३ हजार केजी च्याउ फलाउने योजनाका साथ काम गरिरहेका छन् । स्याङ्जा कै नब्यमा बस्दै आएका निलवहादुर दिनभरि च्याउ फर्ममा बस्छन्, त्यसको रेखदेख गर्छन र साँझ परेपछि भैंसीलाई घास बोकेर पहाडको फेदिमा रहेको घरमा झर्छन् ।

घर र वस्तुभाउ उनकी श्रीमती सावित्री घर्तीले हेछिन् । जेठो छोरो टिका वहादुर मिश्रीको काम गर्छन् अन्य दुई छोरी एक छोरा पढ्दै छन् । घरको आर्थिक अवस्था कमजोर भएका कारणले उनका जेठा छोरा टिका १० कक्षा मै पढाइ छाडेर काठ चिर्ने तथा मिश्री काम गर्न थालेका हुन् । अहिले काठ काट्ने तथा चिर्ने मेशिन पनि राखेको छन् ।

‘भैसीको दुध, छोराको कमाइले परिवार धान्न गाह्रो छैन । बचत भएको छ,’ निलवहादुरले भने ‘कान्छी छोरी शोभा पोखरामा बस्छिन् । घरमा सावित्रीलाई सघाउने जेठी छोरी ईश्वरी छिन् । कान्छो छोरा पूर्णवहादुर भने अहिले ९ कक्षामा पढ्दै छन् ।

५४ वर्षीय निलवहादुर कतारबाट २०७२ सालमा घर फर्किएपछि फेरि विदेश गएनन् । बुबाको मृत्यु भएपछि घर सम्हाल्ने नभएका कारण स्वदेशमै केहि गर्ने इच्छा उनले बनाएका हुन् । ‘नेपाल मै केहि उद्यम गरौ भन्ने लाग्यो र च्याउ खेती गर्न मेरो लघुवित्त वित्तीय संस्थाबाट ७० हजार ऋण लिएर यो व्यवसाय सुरु गरेको हुँ,’ उनले भने ‘अहिले नै करिब ३ सय वटा सुन्तलाको बोट छ । धरैमा फल्न थालिसकेको छ ।’उनले एभोकाडो पनि लगाएका छन् । अन्तर्राष्ट्रिय बजारमा ड्रागन फूट्सको माग बढ्दै गएपछि उनले लगाउने ताँजोपाँजो मिलाउँदै छन् उनी ।

चितवनमा गएर यो फूट्स लगाउने तालिम लिने तयारी गरिरहेका घर्ती च्याउ फर्म मै भैसी पालेर बस्ने अवसर खोज्दैछन् । हुन त उनी जन्मेको घर पनि त्यहि हो । बारीहरू सबै त्यहि छन् । कमलटारीमा खेत छ । खेतबारीको उत्पादनबाट खान पुग्छ । घरमा भएको अन्य कमाइ ऋण तिर्ने केही मरमसला जुटाउने मात्रै हो । खासै खर्च छैन । चामल किन्न पर्दैन । छोराछोरी सरकारी स्कूलमा पढ्छन् । मासिक नभएपनि ५० हजार आम्दानी हुन्छ ।

यसलाई जोह गर्दै थप लगानी बढाउन चाहन्छन् उनी ता कि आफूले सक्दा नै छोरोछोरीको लागि बन्दोबस्ती होस् र आफूले जस्तो परदेशमा गएर काम गर्न नपरोस् । ५ कक्षा पढेर घरखेतको काममा लागेका उनी करिब २० वर्षजति कतारमा बसे । सायद भूकम्पका कारण घर नआएको भए अझै केहि समय उनी उतै बस्थे । यसैबीचमा बुबाको मृत्यु भयो । घर चटक्क छाडेर जान सकेनन् ।

अहिले परिवारको कमाइ राम्रै भएकोले लघुवित्तबाट लिएको कर्जा तिर्न कुनै अप्ठ्यारो छैन । समय मै बुझाउने गरेकाले उनलाई फेरि संस्थाले ५ लाख ऋण पत्याएको छ । सो कर्जाबाट उनले भैंसी थपेका छन् ।

वालिङदेखि माझपाटासम्मको यात्रा

वालिङ बजार नजिकै बगेको आधीे खोलाबाट करिब साढे ८ किलोमिटर दुरी पार गरेपछि पहाडको कन्दरामा रहेको निलवहादुरको च्याउ फर्ममा पुगिन्छ । त्यहाँको रमणीय वातावरणले बाटोको कष्ट सबै भुलियो । माझटार पुग्न जति गाह्रो छ पुगेपछि सबै बिर्सने प्राकृतिक सौन्दर्यताले भरिएको छ ।

अर्जुन चौपारी–१ नव्य भन्ने स्थानबाट मोटरसाइकलमा उकालो लागेको करिब आधा घण्टा पुगिने दुईतिर पहाडको खोजमा रहेको पाखो तर रसिलो जमिनमा छाप्रो बनाएर उनले २०७६ माघबाट च्याउ उत्पादन सुरु गरेका हुन् । यो निलवहादुरको पौरख, जोशले भरिएको गर्विलो सोचाइले भरिएको त्यो क्षणलाई ओझेल पार्ने सोच बनायौं ।

हामी उनको फर्ममा पुग्दा मौसमले भने त्यति साथ दिएको थिएन । पहाडको चिप्लो बाटो आकाशबाट झर्नै लागेको पानीले पनि हामीलाई काउकुती लगाइरहेको थियो । बिजुली चम्कदै थियो । आकाश धुम्व थियो । पानी झर्ला जस्तै भएकोले हामीलाई काम सकेर हिड्ने चटारो भयोे । त्यसैले फाटफट काम सकेर हामी ओरालो ओर्लियौ र वालिङ बजार तिर लाग्यौ ।

हेडलाइन्स