काठमाडौं । चालू आर्थिक वर्षको ९ महिना सकिँदा सरकारको खर्च शुन्य देखिएको छ । चालु आवमा सरकारको चालु, पुँजीगत र वित्तीय व्यवस्थापन खर्च हुँदै नभएको अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयको प्रणालीमा देखिएको हो ।
महालेखा नियन्त्रक कार्यालयले आफ्नो वेबसाइटमा दैनिक बजेट खर्च र आम्दानीको विवरण उपलब्ध गराउँदै आइरहेको छ । तर, शुक्रबार भने कार्यालयको वेबसाइटमा खर्चको हिसाब भने देखिएको छैन । राजस्व संकलनको तथ्यांक भने देखिएको छ ।
चालु आवमा सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । जसअन्तर्गत चालु खर्च १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख, पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ र वित्तीय खर्च १ खर्ब ८९ अर्ब र ४३ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
सरकारले चालु आवमा ११ खर्ब ८० अर्ब ६० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । जसमा कर १० खर्ब ६७ अर्ब ९६ करोड, गैर कर १ खर्ब १२ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । बैशाख १ गतेसम्म सरकारले कुल लक्ष्यको ६६.८५ प्रतिशत आर्थत् ७ खर्ब ८९ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
जसमा कर ६८.१५ प्रतिशत अर्थात् ७ खर्ब २७ अर्ब ८० करोड र गैर कर ५४.५८ प्रतिशत अर्थात् ६ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।