चुनावको मुखमा निजी क्षेत्रसहित प्रधानमन्त्री देउवाको जम्बो टोली भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा निजी क्षेत्रका प्रतिनिधि सहित प्रधानमन्त्री शेरवहादुर देउवाको जम्बो टोली भारत भ्रमणमा जाने भएको छ । छिमेकी राष्ट्र भारतको भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, निजी क्षेत्रका प्रतिनिधिहरु पनि भ्रमणमा सहभागी हुने भएका छन् ।

शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवाको भ्रमण दलमा अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्र मन्त्री डा. नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्रराय यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा र निजी क्षेत्रका प्रतिनिधिहरु छन् ।

भ्रमणमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसहित निजी क्षेत्रका विभिन्न प्रतिनिधि र संघका पूर्व अध्यक्षहरु भ्रमण दलमा सहभागी हुनेछन् ।

भ्रमणका क्रममा नेपालको निजी क्षेत्रले भारतको निजी क्षेत्रसँग छलफल गर्ने कार्यक्रम छ । शनिबार भारतको निजी क्षेत्रसँग छलफल गर्ने कार्यतालिका रहेको तय भएको छ ।

भ्रमण तालिका अनुसार प्रधानमन्त्री देउवाको भारत भ्रमण ‘हतारो’ मै टुंगिने देखिएको छ । शुक्रबार दिउँसो ३ बजे दिल्ली पुगेपछि प्रधानमन्त्री देउवा भेटघाट र औपचारिक समारोहमा व्यस्त रहनेछन् ।

प्रधानमन्त्री देउवाको शनिबार नै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । सो भेटलगत्तै दुबै देशका प्रधानमन्त्री संयुक्त पत्रकार सम्मेलनमा सरिक हुने कार्यक्रम रहेको छ । नेपाल–भारत रेलसेवाको संयुक्त उद्घाटन गर्नेछन् ।

रेलसेवाको उद्घाटनसहित नेपालले प्रधानमन्त्रीले अन्य विषयहरूको उठान गर्नेछ । वर्षायाममा नेपाललाई बढी हुने बिजुली खरिदका लागि नेपालले भारत सरकारलाई आग्रह गर्ने तयारी गरेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि भारतीय अकाशको रुट प्रदान गर्न पनि नेपालले भारतसँग आग्रह गर्नेछ ।

देउवाले आफैं प्रधानमन्त्री हुँदा भारतसँग महाकाली सम्झौतामार्फत तयार गरेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउने विषयलाई पनि प्राथमिकतामा राखेका छन् । त्यसबाहेक दुवै देशका प्रबुद्ध व्यक्तिहरू सम्मिलित कार्यदल (ईपीजी) ले दिएको प्रतिवेदनबारे पनि नेपाल पक्षले चासो राख्नेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतमा रहेका नेपाली समुदायसँग नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममार्फत र भारतीय उद्योगी व्यवसायीसँग भारतीय उद्योगीहरूको संस्थाले आयोजना गर्ने कार्यक्रममार्फत अन्तरक्रिया गर्नेछ ।

प्रधानमन्त्री देउवा भारत भ्रमणको दौरान ‘धर्मकर्म’ मा पनि व्यस्त रहनेछन् । धार्मिक सहरका रूपमा प्रसिद्ध बनारसमा प्रधानमन्त्री देउवालाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन् । बनारसमा विशुद्ध धार्मिक गतिविधिमा प्रधानमन्त्री देउवा व्यस्त रहनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स