मन्त्री अथकद्वारा बाँकेका १ सय ३७ जनाको ब्याज अनुदान फिर्ता

काठमाडौं । यूवा तथा साना व्यवसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको
छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गरे ।

बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगन्जको गृहिणी बहुउद्देश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था तथा कोहलपुरका सृजना कृषि सहकारी संस्था र गंगा जमुना कृषि सहकारी संस्थामार्फत कर्जा लिएका १ सय ३७ जनालाई १८ लाख रुपैयाँ ब्याज अनुदान वितरण गरीएको हो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारी मार्फत युवाहरूलाई आयआर्जन र स्वरोजगार गराउने उद्देश्यले प्रवाह गरेको ऋणको ब्याजमा ६० प्रतिसत स्वरोजगार कोषले फिर्ता गर्ने नीति अनुरुप ब्याज रकम फिर्ता गरिएको हो । कोषको अध्यक्ष समेत रहेका मन्त्री अथकले गृहजिल्ला (बाँके) बाट ब्याज रकम फिर्ता अभियान सुरु गरे ।

कार्यक्रममा बोल्दै मन्त्री अथकले युवा तथा महिलाहरुलाई स्वरोजगार बन्न आग्रह गरे । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत देशभरीका करीव ८१ हजार युवाहरु स्वरोजगार भएको उल्लेख गर्दै मन्त्री अथकले रोजगारसँगसँगै स्वरोजगारको उपाय अवलम्वन गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै उद्यमीहरूले स्वरोजगार कोषले कर्जामा समेत ब्याज अनुदान दिएको भन्दै खुसी ब्यक्त गरेका थिए । उनीहरुले यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइ युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना गर्न समेत अपिल गरेका थिए ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले बाँकेमा रहेका ७२ वटा सहकारी र २६ वटा बैक तथा बित्तिय संस्थाहरुसँगको सहकार्यमा ३६ करोड ५१ लाख बढी रकम लगानी गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए । कोषले बाँकेका ३ हजार व्यक्तिलाई स्वरोजगार हुन मद्दत गरीरहेको अधिकारीले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स