मूल्य वृद्धि ६ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्य वृद्धि) ५.९७ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार मूल्य वृद्धि ५.९७ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ ।

२०७७ माघ महिनाको तुलनामा २०७८ माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत रहेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र फर्निसिङ्ग तथा घरायसी सामग्री उपसमूहको मुद्रास्फीति क्रमशः १५.८७ प्रतिशत, ७.८६ प्रतिशत र ५.९२ प्रतिशत रहेको छ । घ। समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ५.३२ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ माघमा यी क्षेत्रहरुमा क्रमशः २.१२ प्रतिशत, २.७८ प्रतिशत, ३.३० प्रतिशत र २.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

थोक मुद्रास्फीति

२०७८ माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १०.३४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१२ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १२.०९ प्रतिशत, ९.९२ प्रतिशत र ७.०० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १६.६१ प्रतिशत रहेको छ ।

तलब तथा ज्यालादर सूचकाङ्क

२०७८ माघ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.७२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.७७ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ४.६७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स