‘वस्तु तथा सेवा खरिद बिक्री गर्दा बिल लिनेदिने बानी बसाल्न सकियो भने राजस्वको आकार अझ बढ्छ’

नेपाल राजस्व परामर्श समितिको मुख्य काम भनेको राजस्व नीतिका बारेमा अर्थ मन्त्रालयलाई सुझाव दिने हो । त्यस्तो सुझाव प्रत्येक वर्ष वैशाखमसान्तभित्रै अर्थ मन्त्री समक्ष प्रस्तुत गर्ने गरिएको छ । हाल आगामी आवको राजस्व नीति र कर सुधार सम्वन्धमा निजीक्षेत्रसँग सल्लाह तथा सुझाव लिने र फिडब्याक संकलन गर्ने काम शुरु भएको छ । अहिले हामी प्रदेशको राजधानी र प्रमुख व्यापारिक नाकाहरूमा अन्तरक्रियाको क्रममा छौ ।

सरकारी क्षेत्रसँग समितिले आवश्यकता अनुसार छलफल गरिनै रहेको हुन्छ । खासगरी आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभागसँग तथा अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखासँग समय समयमा आन्तरिक छलफल चलिरहेकै छ । यी निकायसँग प्रतिवेदन तर्जुमा गर्ने क्रममा थप छलफल र सम्वाद गर्ने छौं ।

यो बाहेक स्थानीय तहसँग पनि समितिले छलफल गर्ने गर्दछ । गत वर्ष समितिले गरेको एक अध्ययनले स्थानीय तह र संघीय सरकार बीचमा र कतिपय अवस्थामा प्रदेश सरकारसँग पनि करका सम्बन्धमा दोहोरोपना रहेको देखियो । राजस्व बाँडफाँटमा पनि समस्या छ ।

स्थानीयकरलाई व्यवस्थित रुपमा र प्रणालीमा ढाल्न सकिएको छैन । कर प्रणाली कसरी सुधार गर्ने, करमा दोहोरोपना देखिएकोलाई कसरी सुधार गर्ने तथा नीतिगत र कानुनी रुपमा गर्नुपर्ने सुधार र कार्यान्वयनगत रुपमा गर्नुपर्ने सुधार के हुन्त्यो वारेमा समितिले स्थानीय तहका संघ महासंघसँग छलफल शुरु गरेको छ ।

हामीले केहीदिन पहिले गाउँपालिका राष्ट्रिय महासंघसँग छलफल गर्यौ । चैतमा नगरपालिका संघसँग छलफल हुँदैछ । स्थानीय सरकार र संघीय सरकारबीच करमा देखिएको दोहोरोपनालाई न्यूनीकरण गर्ने सम्बन्धी आगामी आवको प्रतिवेदनमा सुझाव दिन्छौं ।

प्रदेश स्तरीयराय सुझाब संकलन गर्ने क्रममा प्रदेशमा रहेका निजी उद्यमी व्यवसायीहरूको छातासंस्थाहरू–नेपालउद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्श तथा साना तथा घरेलु उद्योग सम्बद्ध संघ संस्थासँग छलफल हुन्छ । त्यस्तो अन्तरक्रिया छलफलमा प्रदेशिक अर्थ मन्त्रालय, कर प्रशासन र स्थानीय प्रशासनको समेत सहभागिता रहन्छ ।

यस प्रकारको अन्तरक्रिया छलफलमा दुईवटा पाटामा केन्द्रित भई छलफल हुन्छ । एउटा पाटो भनेको निजी क्षेत्रसँग कर प्रशासन सुधारका लागि कानुनी तथा नीतिगत सुझाव लिने हो भने अर्को पाटो सरकारकोसमग्र राजस्वको नीति निर्माणमा सरोकारवालाहरूको सहभागितामा सुझाव संकलन गर्ने हो ।

यसका लागि हामीले सात वटै प्रदेशको राजधानीमा कार्यक्रम गर्छौ । त्यसकोअलवा ठूला र महत्वपूर्ण औद्योगिक नगरी र सीमा नाकामा रहेका व्यापारिक केन्द्रहरू विरगञ्ज र नेपालगञ्जमा पनि कार्यक्रम गर्ने गरिएको छ । हामीले यो वर्ष देखि उत्पादन विशेष लक्षित अन्तरक्रिया पनि थालेका छौ । झापामा चिया र अलैंची व्यवसायीसँग अन्तरक्रिया गरी नीतिगत पृष्ठपोषण लिएका छौं । यी दुबै निर्यात हुने नगदेबाली हुन् ।

त्यसरी नै हिमाली जिल्लालाई लक्षित गरी विशेषतः ट्रेकिङ र माउन्टेनियरिङको क्षेत्रमा के कस्त कर सम्बद्ध मुद्दाहरू र गुनासा छन् । बुझ्ने क्रममा सोलुखुम्बु जिल्लाको नाम्चे बजारमा अन्तरक्रिया कार्यक्रम गरिसकेका छौं । प्राप्त सुझावहरूले समितिको प्रतिवेदन लेखनमा सहयोग पुग्ने छ ।

यसै वर्ष समितिले जडीबुटी र उच्च पहाडका फलफूल व्यवसायीका कर र राजस्व सम्बन्धी समस्या के रहेछ भनेर पनि विचार परामर्श गर्न खोजेको छ । यसका लागि जुम्लामा एक अन्तरक्रिया कार्यक्रम गर्नेगरी प्रस्ताव गरिएको छ । यस्तो छलफलबाट आएका राय, सुझाव र विषय वस्तुलाई समेटेर प्रतिवेदन तयारीका लागि ‘इन्पुट’को रुपमा उपयोग गर्नेछौं ।
यो वर्ष करको दर भन्दा दायरा बढाउन ेविषयमा नेपाल राजस्व परामर्श समिति केन्द्रीत हुनेछ ।

चैत–वैशाखमा निजीक्षेत्रका व्यापारी एवं व्यवसायीहरू सुझाव दिने उद्देश्यले समितिमा डेलिगेशन आउने गर्दछन् । गत आवमा पनि विभिन्न संघ संस्थाहरूबाट पर्याप्त सुझावहरू प्राप्त भएको थियो र यो वर्ष पनि त्यो क्रम चल्नेछ । गतवर्ष ५० भन्दा बढी नीजि क्षेत्रका संघसंस्थाहरूको डेलिगेशनसँग हामीले छलफल गरेका थियौ । फिडब्याक लिएका थियौ ।

चालु वर्ष पनि यसले निरन्तरता पाउने अपेक्षा लिएका छौं । समितिको राजस्व नीति र कर सुधार प्रतिवेदनको लागि संघीय र प्रदेश सरकार, नागरिक समाज तथा अन्य सरकारी निकायहरुसँग भएको छलफल र अत्यावश्यक क्षेत्रको अध्ययन र अनुसन्धानलाई पनि प्रमुख आधारको रुपमा लिइन्छ ।

चालु वर्ष अध्ययन गर्न लागिएको क्षेत्रमा करको दरलाई स्थिर राख्दै राजस्व दायरा विस्तार गर्ने विषय पनि छ । वस्तु तथा सेवा खरीद विक्री गर्दा बिल लिनेदिने बानी बसाल्न सकियो भने राजस्वको आकार अझ बढ्छ । अहिले बिल लिनेदिने अभ्यास त्यत्ति प्रभावकारी छैन ।

त्यसको अतिरिक्त मूल्य अभिवृद्धिकर (भ्याट) छुटका विषयमा पनि अध्ययन गर्नुपर्ने देखिएको छ । भ्याट छुट सुविधामा नेपाल भित्रिएका माल वस्तु कहाँ र कसरी प्रयोग भइरहेका छन् । छुटको आवश्यकता, औचित्यता र दिगोपना सम्बन्धमा अध्ययन हुन आवश्यक देखिएको छ ।

त्यसैगरी द्विपक्षीय एवम् बहुपक्षीय संन्धी सम्झौताले हाम्रो राजस्वमा प्रभाव पारेको छ । मुलतः डव्ल्युटीओ र साफ्टाको असर र प्रभाव हेर्ने गरी एउटा अध्ययन पनि हुँदैछ । निजी क्षेत्रद्वारा सञ्चालित शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि राजस्वको सम्भावनाको खोजी गर्ने बेला भएको छ । हाम्रो प्रयास यथा सभ्भव वैज्ञानिक कर प्रणाली अवलम्वन गर्ने दिशामा सुझावहरू केन्द्रीत गरी सरकार समक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने हो ।

यसरी नेपाल राजस्व परामर्श समितिले छलफल अन्तरक्रिया, गठित उपसमितिका प्रतिवेदनहरू, अध्ययन अनुसन्धानको निचोड र संस्थागत एवम् व्यक्तिगत राय सुझावमा आधारित भई आफ्नो राजस्व नीति र कर सुधारको प्रतिवेदन तयार गरी वैशाख मसान्तमा अर्थमन्त्री समक्ष प्रस्तुत गर्ने गरी समिति अघि बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स