एमसीसीबाट सवा २ करोड जनसंख्या लाभान्वित, ७ हजारले रोजगारी पाउने

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) परियोजनाबाट नेपालका २ करोड ३० लाख जनसंख्या लाभान्वित हुने र ७ हजार जनाले रोजगारी पाउने भएका छन् । लामो विवादपछि संसदले अस्ति आइतबार अनुमोदन गरेको एमसीसी परियोजनाअन्तर्गतको विद्युत प्रशारण लाइनबाट नेपालका दुई तिहाइभन्दा बढी जनसंख्या लाभान्वित हुने देखिएको हो ।

उक्त परियोजना कार्यान्वयनमा गएपछि सञ्चालन अवधिभर ७ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने छन् भने ३ सय जनाले आजीवन रोजगारी पाउने मिलेनियम च्यालेन्च एकाउण्ट नेपाल विकास समितिका प्रवक्ता राजिव दाहालले बताए ।
एमसीसी सम्पन्न भएपछि नेपालमा लोडसेटिङ घट्ने, पूर्व क्षेत्रमा मात्रै रहेको प्रशारण लाइन पश्चिम नेपालमा पनि विस्तार हुने, विद्युत आयात निर्यात गर्न सजिलो हुने, उद्योगहरूको उत्पादन बढ्ने र सडक खण्डबाट इकोनोमिक रेट अफ रिटर्न १२ प्रतिशत माथि पुग्ने दाहालले जानकारी दिए ।

एमसीसी अन्तर्गत विद्युत् प्रसारण तीन आयोजना वटा नयाँ ४०० केभी क्षमताको इण्डोर ग्यास इन्सुलेटेड सब–स्टेशन (जीआईएस) निर्माण गरिनेछ । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा रातमाटे सब–स्टेशन, तनहुँ जिल्लामा नयाँ दमौली सब–स्टेशन र नवलपरासी पश्चिम जिल्लाको भुमहीमा नयाँ बुटवल सब–स्टेशन निर्माण गर्ने योजना रहेको छ ।
निर्माणाधीन प्रसारण लाइन काठमाडौँ जिल्लाको लप्सीफेदी र मकवानपुर जिल्लाको नयाँ हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणका विद्यमान सब–स्टेशनहरूमा पनि जोडिने छ ।

प्रसारण लाइनसम्बन्धी अंश करिब ३१५ किमि लामो डबल सर्किटयुक्त ४०० केभी प्रसारण लाइन (केही क्वाड–सर्किट टावरहरूसहित) डिजाइन गर्न तथा निर्माण गर्नमा केन्द्रित हुनेछ ।

प्रसारण लाइन १० जिल्लाका ३० नगरपालिका भएर जानेछ । प्रसारण लाइन मार्गसम्बन्धी अध्ययन जारी नै रहेको छ भने यससम्बन्धी पछिल्लो अध्ययनका अनुसार प्रसारण लाइन करिब ३१५ किमि लामो हुनेछ र ८५६ वटा टावर निर्माण गर्नुपर्नेछ ।

प्रसारण लाइन काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासी जिल्ला भएर जानेछ । घना जनघनत्व भएका क्षेत्रहरू, ऐतिहासिक वनहरू, सांस्कृतिक स्मारकहरू तथा वातावरणीय रूपमा क्षति पुिगनसकेका क्षेत्रलाई प्रसारण लाइनले नछुने गरी यसको डिजाइन गरिएको छ ।

महेन्द्र हाइवेयको ५ जिल्लाका सय किलोमिटर सडकको स्तरोन्नति गरिने छ । आयोजना अन्तर्गत लुम्बिनी प्रदेशको धानखोलादेखि दाङको लमहीसम्म ४० किलोमिटर सडक मर्मतसम्भार हुनेछ । यसका साथै परीक्षण कार्यक्रमका रुपमा लमहीदेखि शिवखोलासम्मको ३७ किलोमिटर सडक मर्मत सम्भार गरिने छ ।

पूर्वपश्चिम राजमार्गको अर्घाखाची र दाङ जिल्लामा पर्ने यो सडक एशियन राजमार्गको एउटा खण्ड हो । अहिले एशियालाी विकास बैंकको ऋणमा नारयाणघाटदेखि बुटवलसम्म सडक विस्तार तथा स्तरोन्नतीको काम हुँदै आएको छ । बुटवलदेखि भालुवाङको सडक ठेक्का लागिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स