डावर नेपालको क्षमता अभिवृद्धि तथा उत्पादन विविधिकरणको लागि ९ अर्ब ६८ करोड स्वीकृत

काठमाडौं । लगानी बोर्डले ३५० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । लगानी बोर्डले सुदूरपश्चिम प्रदेश डोटीको सिलगढी नगरपालिमा १२५ मेगावाट तथा डडेल्धुराको अमरगढी नगरपालिकामा २२५ मेगावाट गरी ३५० मेगावाट सौर्य उर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययन गर्ने भएको हो ।

प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा आज (मंगलबार) बसेको लगानी बोर्डको ४९ औं बैठक उक्त निर्णय गरेको हो ।

उक्त सौर्य उर्जा उत्पादनका लागि २३ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने पूर्व अनुमान छ । परियोजना विकासका आवश्यक पर्ने सम्भाव्यता अध्ययनको लागि एम÷एस सेन्ट्रल इलेक्ट्रोनिक्सल प्रदान बोर्डले निर्णय गरेको हो ।

साथै बोर्ड बैठकले डावर नेपाल प्रालि उद्योगको क्षमता अभिवृद्धि तथा उत्पादन विविधिकरणको लागि ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार रुपैयाँको लगानी स्वीकृत गरेको छ ।

त्यसैगरी, बैठकले तल्लो अरुण जलविद्युत परियोजनाको निर्माण, स्वमित्वकरण, संचालन तथा हस्तान्तरण तरिकाबाट विकास गर्न छनौट भएको प्रस्तावक कम्पनी एसजेभीएल लिमिटेड भारतले पेश गरेको प्रारम्भिक प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकले लगानी प्रवर्द्धनका सम्बन्धमा विभिन्न संघ संस्थासँग समझदारीपत्र गर्न कार्यालयलाई अख्तियारी दिएको छ । यसैगरी जेनेभास्थित वल्र्ड एशोसिएसन अफ (पीपीपी) यूनिट एण्ड प्रोफेस्नल (डब्ल्यूपीपीपी) संस्थाको सदस्यता ग्रहण गर्न समेत स्वीकृति प्रदान गरेको छ । बैठकले लगानी बोर्डको कार्यालयबाट तयार गरिएको नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा प्रधानमन्त्रीले लगानीकर्ताहरुलाई आकर्षित गर्न आवश्यक नीतिगत तथा कानूनी सुधार गरी लगानीमैत्री वातावरण तयार गर्न सरकार प्रतिवद्ध रहेको विचार व्यक्त गरे । साथै आर्थिक विकासका लागि लगानी बोर्डको कार्यालय तथा नेपाल सरकारका सम्बन्धित निकायले पूर्वाधार संरचनामा विविधिकरण गरी सम्भाव्यता अध्ययन सम्बन्धी कार्यहरुलाई तीव्र रुपमा अगाडि बढाउँदै परियोजना निर्माणमा जोड दिनका लागि निर्देशन समेत दिएका थिए ।

बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना कार्यान्वयन, सहजीकरण तथा विकास एवं संस्थागत सुधारका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।

उक्त अवसरमा माननीय अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष जनार्दन शर्मा ‘प्रभाकर’, माननीय ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल, माननीय वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, मुख्य सचिव शंकरदास बैरागी, बोर्डका विज्ञ सदस्यहरु हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स