६.८ प्रतिशतले घट्यो रेमिट्यान्स, ५ महिनामा ३ खर्ब ८८ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो ५ महिनामा रेमिट्यान्स (विप्रेषण) आप्रवाह घटेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी आई ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति देखिन्छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३१,०८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९,५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ४ खर्ब ३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स