मुसिकोट नगरपालिकाको सोलावाङमा ३० करोडको लागतमा डेरी उद्योग बन्दै

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले रुकुमबाट समाजवादको आधार तयार हुने उद्घोष गरेका छन् ।
शुक्रवार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाँउपालिका, सानीभेरी गाँउपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनहरु उद्घाटन गर्दै मन्त्री शर्माले यसअघि जनयुद्धको आधार इलाका बनेको रुकुम अब समाजवादको आधार क्षेत्र बन्ने बताएका हुन् ।

‘रुकुम जिल्ला पहिले जनयुद्धको आधार इलाका थियो, अब यहाँबाट समाजवादको आधार तयार हुन्छ,’ उनले भने ।
उनले संविधानमा लेखिएको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने र समाजवादको आधार तयार पार्ने कार्यमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । अबको पाँचदेखि सात वर्षभित्र रुकुमलाई गरिबी र बेरोजगारमुक्त जिल्ला बनाउने गरी अघि बढ्न उनले आग्रह गरे । मन्त्री शर्माले युवाहरुलाई विदेश जान छोडेर जिल्लाभित्रै उत्पादन र रोजगारीको अभियानमा जोडिन आग्रह गरे । जिल्लामा चलिरहेको आर्थिक समृद्धि तथा सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानमा जोडिएर स्वरोजगार हुन उनको आग्रह छ ।

यसैबीच मुसिकोट नगरपालिकाको सोलावाङमा ३० करोडको लागतमा बन्न लागेको डेरी उद्योगको शिलान्याश गर्दै मन्त्री शर्माले यसबाट पालिकाका किसानहरु आत्मनिर्भर बन्ने क्रमको सुरुवात हुने बताए । दैनिक एक लाख लिटर दुध संकलन गरेर प्रशोधन गर्ने लक्षसहित निर्माण हुन लागेको डेरी उद्योगमा आवश्यक पर्ने दुध उत्त्पादन गर्नको लागि किसानहरुलाई उन्नत जातको दुधालु भैंसी र उन्नत जातको दुधालु गाइहरु लागत सहभागितामा वितरण गरिने जानकारी दिए ।

‘यसबाट हरेक दिन किसानको घरमा पैंसा भित्रिन्छ, प्रशोधित दुधबाट बन्ने पदार्थबाट प्राप्त आम्दानीमा समेत किसानहरुको हिस्सा लाग्छ,’ उनले भने ‘जनतालाई गरिबीबाट माथि उठाउने र हरेक युवालाई स्वरोजगार बनाउने अभियान यसैबाट शुरु हुनेछ । आगामी ६ महिनाभित्र निर्माण सम्पन्न हुने लक्ष रहेको डेरी उद्योग सरकारी स्वामित्वको स्यार्पु कृषि कम्पनीको नाममा बन्न लागेको हो ।’

‘समृद्धिको अभियान भनेको सवभन्दा कमजोर अवस्थामा रहेको जनतालाई आत्मनिर्भर बनाउने अभियान हो, समृद्धिको अभियान भनेको आर्थिक कुरा मात्र होइन, शिक्षामा सुधार, स्वास्थ्य सेवामा स्तरोन्नती, उत्पादनमा बृद्धि हो । यो कामलाई तीव्रताका साथ अघि बडाउनुस्,’ उनले थपे, ‘उपलब्ध प्राकृतिक स्रोत साधन र श्रम शक्तिलाई जोडेर उत्पादनमा लगाउने कामको सुरुवात गर्दैछौं ।’

यस्तै आफूले प्राथमिक शिक्षा ग्रहण गरेको मुसिकोट-५ सेरिगाँउस्थित यमुनानन्द नमूना माध्यामिक विद्यालयमा निर्मित कम्प्युटर ल्याबको उद्घाटन गर्दै मन्त्री शर्माले अबदेखि हरेक विद्यालयहरु उद्यमशील हुनुपर्ने बताए ।

‘विद्यालयहरु किताव पढाउने, पाठ घोकाउने कार्यमा मात्र सीमित हुनु हुँदैन, पढेको कुरा व्यवहारमा लागू गर्ने र सँगसँगै आय आर्जन गर्ने प्रयोगशालासहितको हुनुपर्छ,’ उनले भने ।

यसैलाई मध्येनजर गर्दै सरकारले ‘पढ्दै कमाउदै’ कार्यक्रम ल्याएको भन्दै उनले यो कार्यक्रम चालु शैक्षिक सत्रबाटै लागू हुने जानकारी दिए । यस्तै आगामी शैक्षिक सत्रदेखि डिजिटल लर्निङ्ग सेन्टरहरु स्थापना गरी नयाँ शैलीमा अध्ययन अध्यापन समेत गराईने मन्त्री शर्माले बताए ।

सरकारले पहिलो पटक गरिब र विपन्नलाई सम्झेर देशका पाँच लाख विपन्न परिवारलाई १० हजारका दरले आर्थिक राहत, दीर्घ रोगीहरुलाई मासिक पाँच हजारका दरले उपचार खर्च, घाइते अपाङ्गता भएकाहरुलाई उपचार र जीवन निर्वाह भत्ता, शहीद परिवारहरुलाई मासिक तीन हजारका दरले जिवनवृत्ति, दलित आवास, महिला पहिला जस्ता जनपक्षीय कार्यक्रमहरु ल्याएकोले त्यसबाट लाभ लिन उनले लक्षित समुदायलाई आग्रह गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स