काठमाडौं । लामो समयमो प्रतिक्षापछि नेपालले अन्तत कन्ट्री रेटिङ पाएको छ । नेपालले पहिलो पटक ‘डब्बल बी माइनस’ रेटिङ प्राप्त गरेको हो ।
यो रेटिङलाई सरकारी अधिकारीहरूले अपेक्षा गरेभन्दा राम्रो मानेका छन् । नेपालले पाएको रेटिङ लगानीको वातावरणका हिसाबले ऐतिहासिक नभए पनि यसलाई हाम्रो आन्तरिक अवस्थासँग तुलना गर्दा असाध्यै राम्रो भएको अर्थ मन्त्रालयले बताएको छ ।
विश्वका तीन ठूला रेटिङ कम्पनीमध्यको फिच रेटिङ्सले नेपाललाई बीबी माइनस रेटिङ प्रदान गरेको हो ।
नेपालले प्राप्त गरेको रेटिङ भारतको भन्दा तीन स्थान तलको रेटिङ हो । यद्यपि अन्य दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालले पाएको रेटिङ राम्रो नै मान्नु पर्ने हुन्छ । नेपालले पाएको कन्ट्री रेटिङले ‘मध्यम खालको जोखिम’ भएको संकेत गर्ने ईक्रा नेपालका रेटिङ डिभिजन प्रमुख शैलेस सुवेदीले बताए ।
‘नेपालले पाएको डब्बल बी माइनस रेटिङ लगानीको लागि उ्रच्च जोखिम नभइ अहिलेको अवस्थामा मध्यम खालको जोखिम हो,’ उनले भने ‘ ट्रिपल बी माइनस भएको भए लगानी योग्य मानिन्थ्यो । भारतले ट्रिपल बी रेटिङ पाएको हो । नेपालमा भन्दा भारतमा लगानीको वातावरण राम्रो भएको मान्न सकिन्छ ।’
नेपालमा राजनीतिक स्थिरता भयो, आम्दानी बढ्यो, खर्च घट्यो अर्थात बजेट घाटा भएन भने यसमा सुधार हुने फिचले रिपोर्टमा उल्लेख गरेको सुवेदीले बताए । खर्च नियन्त्रण गर्न सकियो र आम्दानी बढ्यो भने अझ राम्रो हुन्छ । यदि त्यो नभएमा अझ तल झर्न सक्ने संकेत पनि रिपोर्टमा उल्लेख गरिएको छ ।
‘नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋण कम छ,’ उनले थपे ‘नेपाल अति कम विकशित मुलुकमा रहुँन्जेलसम्म यो ऋणको भार कम भएपनि स्तरोन्नति हुने वित्तिकै लोनको रेट बढ्छ, यसले पनि असर पार्न सक्छ ।’ स्तरोन्नति भएपछि अहिलेकै रेटमा लोन नपाइन पनि सकिन्छ ।
नेपालमा विदेशी मुद्रा सञ्चिति उत्कृष्ट भएको तथा बलियो आर्थिक वृद्धिको प्रक्षेपणका आधारमा फिचले नेपाललाई उस्तै अन्य देशको तुलनामा निकै उत्कृष्ट रेटिङ प्रदान गरेको हो । फिच रेटिङले नेपाललाई प्रदान गरेको रेटिङ नेपालले सोचेको भन्दा राम्रो भएको सरोकारवालाहरूले बताएका छन् ।
नेपालको उक्त रिपार्टमा स्टेबल आउटलुक उल्लेख गरिएको छ । यद्यपि बीबी माइनस रेटिङ लगानीका लागि जोखिमयुक्त ‘नन्–इन्भेस्टमेन्ट स्पेकुलेटिभ’ (गैरलगानी सट्टा) मानिन्छ । सुशासन विधि र पद्दतीमा विश्वास गर्ने लगानीकर्ताहरु बीबी माइनस रेटिङ प्राप्त देशमा लगानी गर्न त्यति उत्साहित हुँदैनन् ।
रेटिङमा ‘ट्रिपल ए’ अत्यन्त राम्रो मानिन्छ भने डब्बल ए प्लसलाई त्यो भन्दा कम र एएलाई त्यो भन्दा अझ कम, ए प्लसलाई माथिको भन्दा कम र ए लाई ए प्लसभन्दा कम राम्रो मानिन्छ । नेपालले पाएको रेटिङ १० औ स्थानमा परेपनि दक्षिण एशियामा भारतभन्दा कम भएपनि बंगलदेश, श्रीलंकाको तुलनामा राम्रो भएको उनले जानकारी दिए । सापेक्षित रुपमा नेपालले पाएको रेटिङलाई राम्रै मान्नु पर्ने उनको सुझाव छ ।