अर्थतन्त्रमा संरचनागत समस्या छः बैकर पर्शुराम कुवँर क्षेत्री

काठमाडौं । पूर्व बैकर्स पर्शुराम कुवँर क्षेत्रीले अर्थतन्त्र उत्थानको लागि हालको संरचनालाई नै परिवर्तन गर्नुपर्ने बताए । जबसम्म हामी स्वदेशमै उत्पादन बढाएर आयातलाई निरुत्साहित गर्दैनौ तबसम्म अर्थतन्त्रमा समस्या आइरहने उनले बताए
‘नेपालको अर्थतन्त्रको संरचनामा नै समस्या छ । नेपालको अर्थतन्त्र आयातमा आधारित छ, यो संरचनालाई परिवर्तन गर्न राजनीतिकदेखि आम सर्वसाधारणसम्मले नेपाली वस्तुको प्रयोग गर्ने बानी बसाल्नु पर्नेछ ।’ यसका लागि उत्पादन बढाउन आ–आफ्नो तह र तप्काबाट सबै लाग्नु पर्छ । अहिले भएको उत्पादनले यति ठूलो आयातलाई धान्न नसक्ने पनि उनले बताए ।

‘विदेशी वस्तुको तुलनामा नेपाली वस्तु केहि महँगो र कम गुणस्तरको भएपनि अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था लागू गर्न सकेमात्र हालको अर्थतन्त्रको संरचनामा परिवर्तन आउँछ,’ उनले भने ‘आयातलाई केहि घटाउन सकियो भने हामीलाई ठूलो राहत मिल्छ ।’

व्यापार घाटा दिनप्रतिदिन बढ्दो छ । खासमा व्यापार घाटा बढ्नु एउटा विषय हो । यो भन्दा चर्को विषय भनेको अन्य तमाम विषयहरूलाई सतही रुपमा विश्लेषण गर्ने र हेर्ने तथा बुझ्ने प्रवृत्ति हो । यहि कमजोर बुझाइका आधारमा हाम्रो सोच निर्माण हुन्छ । जुन खालको सोच निर्माण हुन्छ त्यही सोचका आधारमा देशको योजना, नीति तथा कार्यक्रम बनाइन्छ । यसरी बनेका नीति तथा कार्यक्रमहरूको प्रतिफल पनि आशातित नहुनु वास्तविक नै हो । यही नै नेपाली अर्थतन्त्रको मूल समस्या हो ।

‘विशेषगरी आन्तरिक उत्पादनलाई वृद्धि नगरीकन अन्य क्षेत्रहरूबाट व्यवस्थापन गर्ने भनेको तत्कालको गर्जो टार्ने उपाय मात्र हो । आन्तरिक रुपमा उत्पादन बृद्धि नभएपनि विश्व परिवेश र समय चक्रका आधारमा मानिसको उपभोग्य प्रवृत्ति जसरी बढ्छ, त्यसरी नै उत्पादन गर्न सकियो भने अर्थतन्त्रमा समस्या आउँदैन । जुन हामीले गर्न सकिरहेका छैनौ,’ बैकर कुँवरले भने ।

अर्कोतर्फ लक्षित राजस्व उठन नसक्दा आम्दानी र खर्चबीचको ग्याप बढ्दै गएको छ । देशको राजस्वले चालु खर्च समेत धान्न नसक्ने अवस्था आउनु भनेको संरचना मै खोट देखिनु हो । खर्चका शीर्षकहरू बढेसँगै राजस्वका क्षेत्रपनि बढ्दै जानु पर्ने हो । तर, यहाँ राजस्वका स्रोतहरू बाँडिएका छन् भने खर्च गर्ने क्षेत्र दिनप्रतिदिन बढ्दै गएको छ ।

बजेटको आकारअनुसार त्यसै पनि पुँजीगत खर्चको अंश थोरै छ । यसमा समयमा खर्च नहुँदा त्यसबाट आउने प्रतिफल सन्तोषजनक नभएको पनि उनले बताए । त्यतिमात्रै होइन अर्कोतर्फ पुँजी निर्माणमा सहयोग पुर्याउने पुँजीगत खर्च जम्मा १६ प्रतिशतमात्रै भएको छ ।

सरकारले यहि अप्ठ्यारो परिस्थितिमा कर्मचारीलगायतकाको तलव बढाएको छ । खर्च कटौती गर्ने रणनीतिमा रहेको सरकारले अहिले तलव भत्ता बढाउनेभन्दा वित्तीय स्थायित्व कायम हुने गरी काम गर्न आवश्यक भएको बैकर्स क्षेत्रीले बताए ।
हाम्रो अर्थतन्त्र कहिले एकदम टाइट हुने र कहिले एकदम लुज हुने गर्छ । यस्तो किन हुन्छ त भन्दा हाम्रो अर्थतन्त्र आत्मनिर्भर छैन, परनिर्भर छ । परनिर्भर भएको कारणले नै हाम्रो अर्थतन्त्रमा वित्तीय स्थायित्व हुन नसकेको हो ।

पछिल्लो समय वित्तीय बजारमा तरलता केहि सहज भएपनि महँगो ब्याजदरका कारणले कर्जा लगानी हुन सकेको छैन । ‘महँगो दरमा लिएको कर्जा लगानीमा समस्या आयो भने ‘यसको जोखिम अझ गहिरो हुन्छ ।’ कर्जाको माग नबढ्नु भनेको एउटै कारण हो महँगो ब्याज,’ उनले भने ‘कर्जाको माग नहुँदा अर्थतन्त्र नै खुम्चिएको छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स