काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनको मिति तोकिएको छ । आगामी मंसिर २५ गतेलाई विशेष साधारणसभा बस्ने र त्यसले विधान संशोधन गर्ने भएको हो ।
संशोधनका लागि बुधबार बसेको कार्यकारिणी सदस्यहरुको बैंठकले विशेष साधारणसभाको मिति तय गरेको हो ।
विशेष साधारणसभाको प्रमुख एजेण्डा नै विधान संशोधन हुनेछ ।
हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ पछिको एक कार्यकाल पनि हालकै व्यवस्थालाई कायम गर्ने भएको हो ।
विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । तर केहि समय अघि निर्वाचन प्रणालीबाटै कायम गर्ने व्यवस्था गरिएको थियो ।
त्यसमा एक कार्यकालको छुट दिइएको थियो । अब अन्जन श्रेष्ठ अध्यक्ष चयन हुँदै छन् ।
अब विधान मस्यौदा पुनः संशोधन गरेर अझ एक कार्यकालको लागि अध्यक्षको प्रत्यक्ष निर्वाचन नगरि वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष कायम गर्ने व्यवस्था गर्न लागिएको हो ।
अब दुई कार्यकाल पछि मात्रै अध्यक्षमा प्रत्यक्ष निर्वाचन गर्ने गरि विधान संशोधन गर्न लागिएको हो ।
महासंघले दुई कार्यकाल पछि वरिष्ठ उपाध्यक्ष समेत दुई जना राख्ने गरि विधान संशोधनको छलफल अघि बढाएको छ । त्यस्तै महिला उपाध्यक्ष समेत राख्ने मस्यौदा बनेको छ ।
निजी क्षेत्रको छाता संगठन रहेको नेपाल उद्योग वाणिज्य महासंघ निकै चर्चामा रहन्छ । अन्य दुई संगठन रहेपनि यसको निर्वाचन र यसमा रहने पदाधिकारीको चर्चा बढि रहदै आएको छ ।
त्यसले महासंघको नेतृत्वमा तिव्र प्रतिस्पर्धा रहने गरेको छ ।